जनकपुरधामका दुई युवकको अपहरणपछि हत्या, पाँच जना पक्राउ

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका दुई जना युवकको भारतमा अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका–२ ईटहर्वाका २४ वर्षीय किसन कुमार पंडित र मुकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, अन्य तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक गरिएको छैन् । गत पुस २७ गते सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको थियो ।

रोहितले विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको थियो । अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरूले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । घटनाका बारेमा विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस