राजविराजका पहिलो कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.साहकै ‘ल्याब रिपोर्ट’मा लापरबाही

राजविराज, १८ वैशाख । सप्तरी सदरमुकाम राजविराजका पहिलो कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विकासकुमार साहको ‘ल्याब रिपोर्ट’ मै लापरबाही हुने गरेको पाइएको छ ।

डा.साहले राजविराज नगरपालिका–६ स्थित सञ्चालन गर्दै आएका ‘भारती इमेजिंग सेन्टर’ मा स्वास्थ्य परीक्षण गरी दिइने गरेको रिपोर्टमा चरम लापरबाही हुने गरेको पाइएको हो । जिल्लाको राजविराज नगरपालिका–१० मैटगढीका २६ वर्षीय रमेशकुमार शर्मालाई पेट दुख्न थालेपछि वैशाख ८ गते शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगेका थिए ।

अस्पताल पुगेसँगै चिकित्सकले चेकजाँचपछि २–३ वटा सुई लगाएपछि शर्मालाई दुखाइ समान्य हुन पुग्यो । त्यसपछि चिकित्सकले भिडिओ एक्सरे गराउन सुझाव दिए । हाललाई अस्पालमा भिडिओ एक्सरे सेवा ठप्प गरेका कारण शर्मालाई भारती इमेजिंग सेन्टरमै राम्रो जाँच हुने गरेको चिकित्सकले सुझाएपछि शर्मा त्यहाँ पुगेर आधा घण्टा लाइनमा बसेर पनि भिडिओ एक्सरे गराए ।

‘रिपोर्टअनुसार राइट (दायाँ) किड्नीमा ० दशमलव २७ सीएमको समान्य स्टोन रहेकोले तत्कालै खासै समस्या नहुने र केही औषधी खाएपछि पेट दुखाई पनि निको भइहाल्ने अस्पतालका चिकित्सकले बताएपछि म ९ सय जतिको औषधी किनेर घर फर्किए’ शर्माले भने, ‘अर्को दिनदेखि फेरी पेट दुख्न थाल्यो, शायद भर्खर दवाइ खान सुरु गरेकोले होला सोचेर २/३ दिन दुखाइ सहेरै बसे तर चौथो दिनको दुखाइ भने सहन नसकेपछि थप उपचारको लागि विराटनगर जाने सोच बनाए तर दुखाइ असह्य थियो ।’

त्यसपछि गाउँकै एक जनाबाट डाइलोना सुई लगाएर विराटनगरस्थित गोलडेन अस्पताल पुगे तर त्यो दिन ढिलो भएर जाँच गराउन नसकेको शर्माको भनाई छ । ‘अर्को दिन विराटनगरस्थित अनन्दा अल्ट्रासाउण्ड डाक्नोष्टिक एण्ड इमेजिंग सेन्टर पुगेर जाँच गराए त्यहाँ बल्ल थाहा पाए की दायाँ किड्नीमा ४ दशमलव ६ एमएमको स्टोन मात्रै छैन, पिसाब नलीमा पनि ६ दशमलव २ एमएम र बायाँ किड्नीमा पनि ४ दशमलव ३ एमएमको स्टोन रैंछ’ शर्माले भने, ‘त्यहाँ मैले राजविराजको रिपोर्ट पनि देखाए तर उहाँहरुले आश्चर्य व्यक्त गर्दै भन्नुहुन्थ्यो राजविराजमा विरामीलाई मार्ने खालको रिपोर्ट दिँदो रैंछ त ।’

त्यहीँ रिपोर्टको आधारमा औषधी लिई घर आइसकेपछि फेरी डा. साहको भारती इमेजिंग सेन्टर पुगेर सोध्दा उल्टै हप्काएर पठाएको शर्माले गुनासो गरे । ‘हैन यो कस्तो खालको रिपोर्ट दिनुहुन्छ ? यस्तो रिपोर्टले त विरामी निको हुनुभन्दा पनि झन विरामी हुन्छ भनेर डा.साहलाई सोध्दा हामीलाई उल्टै हप्काएर पठाउनुभयो’ शर्माले भने, ‘मैले पिसाब नलीमा देखिन भनेर डाक्टरले जवाफ फर्काउनुभयो, अनि साइज पनि मिलेन त ? भनेर डाक्टरलाई सोध्दा तपाईहरु बुझ्नुहुन्न भन्नुभयो ।’

शर्माले दुःख बोकेर आएका विरामीसँग पैसा ठगेर थप विरामी पार्ने कार्य गर्दै आएका यस्ता ल्याब सञ्चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सम्बन्धित पक्षसँग माग गरे । ‘एक त सप्तरी त्यसै बदनाम छ, त्यसमाथि स्वास्थ्य जस्तो संवेदनशिल विषयमा पनि चरम लापरवाही हुनु अत्यन्तै दुःखद् विषय हो’ उनले भने, ‘यसतर्फ सरोकारबालालाई गम्भिर भएर लाग्न मेरो आग्रह छ ।’

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले रिपोर्टमा त्यतिको फरक नपर्नुपर्ने बताएका छन् । ‘रिपोर्ट नै गलत भएपछि विरामीले सही उपचार पाउने कुरै भएन, त्यसमा अन्य सरोकारबालाले पनि गम्भीरता देखाउनु जरुरी छ ।’, उनले भने ।

सो विषयमा डा.साहले बोल्न चाह्नुभएन । तपाईको ल्याबमा गराइएको ‘यूएसजी एब्टोमेन’ रिपोर्ट र पाँच दिनकै अन्तरालमा अन्य ल्याबमा गराइएको ‘यूएसजी एब्टोमेन’ रिपोर्टमा यतिका फरक कसरी पर्न जान्छ डाक्टर साब? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘तपाई मेडिकल जोर्नालिस्ट हो?, होइन भन्ने म बुझाउन सक्दिनँ ।’ भन्दै फोन काटिदिए ।

Author:



क्याटोगरी छान्‍नुहोस