नागरिकता कसुर : डिएनए परीक्षणपछि मुद्दा दायर, २६ जनाविरुद्ध पक्राउ पुर्जी

राजविराज — सप्तरीमा झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा सिफारिस गर्ने जनप्रतिनिधिदेखि नागरिकता जारी गर्ने कर्मचारीसहित २६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सप्तरी जिल्ला अदालतबाट बुधवार राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदीत नारायण यादवसहित २६ जनामाथि पक्राउ पुर्जी जारी भएको हो । राजविराज–११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण पेस गरी नातामा नाति पर्ने सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बनाइ दिएको प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले गत वैशाख ३१ गते दर्ता गरेको नागरिकता सम्बन्धी मुद्दामा सूर्यनारायण र सतिश पक्राउ परि जनही एक–एक लाख रुपैयाँ धरौटी बुझाएर गत जेठ १ गते नै तारेखमा छुटेका हुन् भने सिफारिस गर्ने वडाध्यक्ष यादवसहित वडासचिव हरिनारायण यादव, सर्जमिनमा बस्ने जिल्ला प्रहरी कार्यालय सप्तरमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डलसहितका विरुद्ध पक्राउ पुर्जी जारी भएको श्रेस्तेदार मास्केले बताए ।

त्यस्तै, नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत किसोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि नै छानबिन गरिरहेको जिल्ला प्रशासन कार्यालयले सो मुद्दामा पूर्वाग्रह राखी कर्मचारीलाई प्रतिवादी बनाएको छ भने कर्मचारीहरु संलग्नता भए नभएको विषयमा जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण समेत सोधेको छ ।

डिएनए परीक्षणपछि अघि बढ्यो मुद्दा प्रक्रिया 

जिल्ला प्रशासन कार्यालय सप्तरीमा पेस गरिएको झुटो विवरणअनुसार सतिशले गत फागुन २१ गतेमा १६–०१–७९–११६३१ नम्बरको नागरिकता प्राप्त गरे । १९ साउन ०६१ जन्ममिति राखेर नागरिकता जारी भएको छ । तर, यो हिसाबले सतिशको जन्म हुँदा उनकी आमा भनिएकी सुर्जीदेवी यादवकोे उमेर ५४ वर्षको हुन आउने देखिन्छ ।

सुर्जीदेवी सतिशकी हजुरआमा हुन् । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको डिएनए परीक्षणबाट पनि सतिश सूर्यनारायण र सुर्जीदेवीको जैविक सन्तान नभएको तथा दायर भएको मुद्दामा पनि छोरीको छोरा भनि उल्लेख छ ।

डिएनए परीक्षणपछि नै मुद्दा प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संलग्न भनिएका २६ जना विरुद्ध नेपाली नागरिकता ऐन, २०६३ को कसुरअन्तर्गत मुद्दा चलाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस