राजविराज, २७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीमा अढाई करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको बाँध र स्पर अढाई महिनामै भत्किएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय राजविराज, सप्तरीका कर्मचारी र निर्माण कम्पनीको मिलोमतोमा मच्चाएको ब्रह्मलूटबारे समाचार सार्वजनिक भएको थियो । सो योजनामा मंसिर २० गते नै मुद्दा दर्ता गरी छानबिन प्रक्रिया अघि बढाइ सकिएको आयोगका एक कर्मचारीले जानकारी दिए । ‘मुद्दा दर्ता भइ सम्बन्धित कार्यालयसँग आवश्यक कागजपत्र झिकाउने प्रक्रियामा छौं, त्यसपछि थप प्रक्रियाका लागि अघि बढ्नेछौं’, उनले भने ।
डिभिजन कार्यालयले दुई करोड ७६ लाख २२ हजार ६ सय ७३ रुपैयाँ ७८ पैसा (करसहित) नदीमा बाँध र स्पर निर्माण गर्नका लागि ०७९ जेठ १८ गते सर्वशक्ति महामाया निर्माण सेवा प्रा.लि गोंगबु, काठमाडौंसँग सम्झौता भएको थियो । सम्झौताअनुसार ०७९ पुस २५ गतेसम्म बाँध र स्पर निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । तर, सो अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि पुनः ६ महिनाको म्याद थप गरियो ।
यद्यपी, बाँध र स्पर निर्माण कार्य भने गुणस्तरीय गर्न नसकेको स्थानीय श्रोतले बतायो । ‘एकातिर बाढी आउने तनाव र अर्कोतिर थपिएको म्याद पनि सकिन लागेको थियो, हतार–हतारमा अधुरै काम भयो र निर्माण कम्पनीले डिभिजन प्रमुख रमणकुमार साहसँगको मिलोमतोमा असार ७ गते अन्तिम भुक्तानी वापतको ६१ लाख ८८ हजार ८ सय ५३ रुपैयाँ निकासा भयो’ श्रोतले भन्यो, ‘सम्झौता भने अघिल्लै डिभिजन प्रमुख रामकुमार खंगले गरेकाले वर्तमान डिभिजन प्रमुख साहले पनि अनुगमन विना नै अन्तिम भुक्तानी दियो ।’
बाढी आएर बाँध वा स्परमा क्षति पुगे पनि डिएलपी (डिफेक्ट लायविलिटी पिरियड) भित्रै रहने हुनाले इन्स्योरेन्स कम्पनीमाथि थुपार्ने निर्माण कम्पनी र डिभिजन प्रमुख साहको योजना रहेको उनको कथन छ ।
योजनाअनुसार नै गत भदौ ८ गते शुक्रवार विहान नदीमा आएको बाढीले बाँध भत्किएर सयौं घर डुवान भएर लाखौंको क्षति समेत भएको थियो । कुल ८ सय ५० मिटर बाँधिएको बाँध करिब ५ सय मिटर जति कटान भइसकेको छ भने स्परमा पनि क्षति पुगेको छ । तर, बाँध भत्किएको चार महिनाभन्दा बढी भइसक्दा समेत निर्माण कम्पनी वा डिभिजन कार्यालयले क्षतिबारे यकिनसम्म गर्न सकेको छैन् ।
डिभिजन प्रमुख साहले सो कार्य डिएलपीभित्र रहेकोले बाँध र स्पर मर्मतका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको बताउँदै आएका छन् । उता, निर्माण कम्पनीका प्रतिनिधि रेबति श्रेष्ठसँग सम्पर्क गर्दा कुरा गर्न चाहेन ।