सिरहामा प्रहरीसँग मिलेमतोमा गाईगोरु तस्करी, किसानले समाते तस्कर

रामशंकर भण्डारी
राजविराज, ४ साउन–सिरहामा प्रहरीसँग मिलेमतो गरी गाईगोरु तस्करी भइरहेको खुलेको छ । बुधवार मध्येराति सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका किसानहरुले गाईगोरु तस्करी गरिरहेकै बेला एक युवकलाई समातेपछि सो विषय खुल्न आएको हो ।

दैनिकजसो रातिको बेला नेपालबाट बलान नदीको पश्चिम किनार हुँदै भारततर्फ हुँदै आएको गाईगोरु तस्करीका कारण किसानहरुले खेतबारीमा लगाएको धानबाली क्षति हुँदै आएको थियो । दर्जनका दर्जन गोईगोरु धानबाली लगाएको खेतबाटै भारततर्फ लग्ने गरेका कारण किसानहरु चिन्तित थिए ।

सो विषयमा पटक–पटक प्रहरीलाई जानकारी गराउँदा पनि सुनुवाई नगरेपछि बुधवार रातिदेखि नै धानबाली जोगाउन किसानहरुले निगरानी थालेका थिए । मध्ये राति गाईगोरु लिएर भारततर्फ गइरहेका जिल्लाको खडक नगरपालिका–४ पन्सेरा अमहाका ३० वर्षीय मो.अन्सोदिनलाई किसानहरुले समातेका हुन् ।

१२ वटा गाईगोरुसहित समातिएका मो.अन्सोदिनलाई बिहिवार विहान प्रहरीको जिम्मा लगाएका छन् भने धानबालीको क्षतिपूर्ति माग गरिरहेका छन् ।

तस्करका नाइके मो.सदाम 

बलान नदीको पारी (सिरहातर्फ)बाट सोमबार, बुधवार र शुक्रबार गरी साताको तीन दिन गाईगोरु तस्करी गरेर भारत पठाउँदै आएको छ । सप्तरीको सुरुङ्गा नगरपालिकास्थित टिकुलियागदीसम्म गाडीमा लोड गरेर ल्याइएको गाईगोरु बलान नदीको पश्चिमी किनार सिरहाको ईटहर्वासम्म पुर्याउँछ ।

ईटहर्वाबाट पश्चिमी किनार हुँदै कल्याणपुर, सिनुरिया, वेल्हीस्थित नदीको पश्चिमी किनार भएर गाईगोरु बिहारको लौकहासम्म पठाउँदै आएको छ । वर्षौदेखि हुँदै तस्करी सिरहाको लहानका मो.सदाम मियाले प्रहरीसँगको मिलेमतोमा गर्दै आएको श्रोतले बताए । ‘गाईगोरु तस्करी भइरहेको विषय यहाँका लागि ओपन सेक्रेट हो, प्रहरीलाई मासिक रुपमै रकम बुझाएर सदामले यताबाट गाईगोरु र उताबाट बाख्रा ल्याउने गरेका छन् ।’ उनले भन्यो, ‘समातिएको गाईगोरु पनि सदामकै हो ।’

मो.सदामले आफु तस्करीमा संलग्न नरहेको बताए । ‘त्यो माल मेरो हुँदैन होइन’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितलाई सम्पर्क गर्दा मिटिङ्ग रहेको बताए । पछि पुनः फोन गर्दा उठेन ।

Author:



क्याटोगरी छान्‍नुहोस