पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर उर्फ हनुमानी  (फलोअप)

राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामामा पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानी रहेको खुलेको छ ।

ती गिरोहबारे समाचार सार्वजनिक भएसँगै पीडितहरु ‘मधेशलाईभ’को सम्पर्कमा आएपछि थप खुल्न आएको हो । उनीहरुकाअनुसार पैसा डब्बल पार्नेदेखि विभिन्न मुद्दामा पक्राउ परेकालाई हिरासत र कारागारबाट छुटाउने नाममा हनुमानीका गिरोहबाट ठगिएका हुन् ।

‘पैसा दुई गुणा गरिदिन्छु भनि हामी जस्ता सोझासाझालाई प्रलोभनमा पारेर सुरुमा ५० हजार लियो र १ लाख फिर्ता गरिदियो पनि, अनि ५ लाख माग्यो’ तिलाठी कोइलाडी गाउँपालिका–४ डलवाका कासिम मन्सुरीले भने, ‘हामी नै मुर्ख हो, बुझ्नै सकिन । यताउत्ताबाट पैचो सापटी गरेर ५ लाख दिए तर त्यसपछि सम्पर्कविहीन नै हुन पुग्यो ।’

कति पटक हनुमानीको घरसम्म पुगे तर पैसा फिर्ता गर्न अनाकानी गर्दै आएको उनले दुखेसो गरे । ‘साइकल लिएर उसको टोल पुग्ने वितिकै पुरै टोलकी महिलाहरु झगडा र गाली गर्न थाल्छन्’ उनले भने, ‘त्यति मान्छेसँग झगडा पनि गर्न सकिदैन, लोभमा परेभन्दा पनि प्रलोभनमा पारेर हामी ठगिए ।’

उनकाअनुसार चिनजानका अन्य पाँच जना पनि हनुमानीको गिरोहबाट ठगिएका छन् । ‘तर, डरका कारण उनीहरुले कत्तै गुनासो वा प्रहरीमा उजुरी गर्न सकेको छैन्’ उनले भने, ‘१० वर्षभन्दा बढी भइसकेको उनीहरुले यो धन्दा चलाएको र धेरै सर्वसाधारण ठगिएका छन् ।’

वडा नम्वर ४ बरियारी टोलका हरिलाल मुखियाले पैसा छाप्ने धन्दा गरिरहेका हनुमानी गिरोहले आफ्नो १२ लाख रुपैयाँ ठगेको बताएका छन् । ‘हनुमानीले अहिलेसम्म अर्बभन्दा बढी रुपैयाँ ठगी गरिसकेको छ, ठगीमा परेका कतिपय व्यक्ति शोक र टेन्सनले मरिसके, उनीहरुको गिरोहका सदस्यहरुको सूची लामै छ, अरुण जादव, रुपेश जादव, कान्ता जादव र अन्य ठुल–ठुला मान्छे पनि छन्’ उनले भने, ‘म अर्कै विषयमा ठगिए, मेरो दुई जना छोरा लागुऔषधमा पक्राउ परे र रिहा गराइदिनु भन्दै ६/६ लाखका दर हनुमानीले लिए तर दुवै छोरालाई २०–२० वर्ष जेल नै भइहाल्यो ।’

आफुले दिएको पैसाबाट हनुमानीले जमिन खरिद गरिसकेको र ती जमिनमा नै घर बनाएको मुखियाको दावी छ । ‘सम्पतिया मुखियाले आफुलाई हनुमानीकोमा जान सुझाएको थियो, सम्पतियाले मेरो २ लाख ऋण लिएको छ र माग्न जाँदा कुराकानी भइरहेको बेला उसैले सुझाव दिएको थियो’ उनले भने, ‘पैसा फिर्ता माग्न जाँदा अरुण जादव लगायकाले झगडा गर्छन् किनकी उनीहरुले ठगिएको रकमबाट बराबरी बाँडफाँड पाउँछन् ।’

सो विषयमा प्रहरीमा पनि उजुरी गरेको मुखियाले बताए । ‘गत असारमै मेले उजुरी दिएका थिए, यसअघिका एसपी सा’बले दुई पटक बोलायो पनि तर प्रहरीसहित पुग्दा हनुमानी घरमा भेट्दैनन्, इण्डिया गएको छ भन्छन् ।’, मुखियाले भने, ‘पछि प्रहरीले पनि चासो दिन छाड्यो, न्यायका लागि पहल गरिदिन सबैमा आग्रह छ ।’

हनुमानी गिरोहबाट तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका सम्पत मुखिया पनि पीडित छन् । तर, डरले उनी बोल्नै चाहिरहेका छैन् । ‘म बर्वाद भइसके, बोलेर उसको केही हुँदैन, उल्टै हामी नै समस्या परिहाल्छौं, त्यसैले अब बोल्न छाडे, बोल्यो भने मैमाथि आक्रमण हुनसक्छ’ उनले भने ।

प्रहरीमा रेकर्ड गायब  

गत बुधवार पूर्वमन्त्री उमेशकुमार यादवले पनि सामाजिक सञ्जालमा बभनगामाका ती गिरोहबारे लेखेका थिए । दुई दशकदेखि सक्रिय रहेका ती गिरोहबाट ठगिएका व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज नेउपानेलाई गुनासो गर्दा गिरोहसँग मिलेर उल्टै पीडितलाई हप्काएर फर्काएको पूर्वमन्त्री यादवले आरोप समेत लगाएका थिए ।

डिएसपी नेउपाने भने असोज ७ मा नै सरुवा भइसकेका छन् । उनले ती गिरोहबारे अनुसन्धान गर्नका लागि केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएका थिए तर जिल्ला प्रहरी कार्यालयमा रेकर्ड भने नरहेको प्रहरी श्रोतले बतायो ।

‘हिरासत कक्षको रजिष्टरसम्मै उनीहरुको विवरण देखिदैन’, श्रोतले भन्यो ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पनि रेकर्ड नपाएको बताए । ‘पुराना उजुरीबारे बुझ्ने कार्य भइरहेको छ, ठगीमा परेकाहरु प्रहरीको सम्पर्कमा आयो भने हामी कानूनअनुसार अघि बढ्छौं’ उनले भने ।

उता, रामबहादुरसँग ती विषयमा बुझ्न खोज्दा …७६० नम्बरमा सम्पर्क हुन सकेन ।

यो पनिः

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780