संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशको मुद्दा 

काठमाडौं, १६ मंसिर–मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राखेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको सत्रौं बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै डा. यादवले संविधानसभाबाट नयाँ संविधान जारी भएर कार्यान्वयन भइसकेको अवस्थामा पनि नेपालका मधेशीलगायतका अल्पसंख्यक समुदायहरुले समुचित न्याय र अधिकार नपाएको भनी गुनासो गरे ।

विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेशी एकता समाजका संस्थापक समेत रहेका डा. यादवले नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएपनि एक तिहाइ जनसंख्या रहेको मधेशी समुदायमाथि राज्यबाट अन्याय र भेदभाव जारी नै रहेको बताए ।

मधेशीहरुलाई आवाजविहीन बनाएर राजनीति, व्यापार, सुरक्षा निकाय र मिडियासहितका क्षेत्रमा खसआर्य समुदायको नियन्त्रण कायम रहेको उनले चर्चा गरे । आधुनिक नेपाल राज्य स्थापना भएदेखि नै मधेशीहरुले कठोर नागरिकता कानुन, अन्यायपूर्ण राजनीतिक प्रतिनिधित्व र आफ्नो सम्पति जफत हुने भूमिसुधार व्यवस्थाको सामना गर्नुपरेको धारणा राख्दै डा.यादवले निजामति सेवाको परीक्षामा मात्र खसआर्यहरुको भाषाको प्रयोगले मधेशीहरु सरकारी सेवाबाट वञ्चित हुनुपरेको जिकिर गरे ।

शिक्षा र प्रशासनमा मधेशी भाषाहरुको बहिष्करणले मधेशका बालबालिकाहरुको विद्यालय छाड्ने दर उच्च रहेको र यसले मधेशीहरुको निरक्षरता दर बढाएको डा. यादवको तर्क थियो । उनले अगाडि भने, ‘राज्यको विभेदपूर्ण नीतिका कारण निजामित सेवा, सेनालगायतका सुरक्षा निकाय र न्यायपालिकामा मधेशीहरुको प्रतिनिधित्व अत्यन्तै न्युन छ ।’

नेपालको कृषि उत्पादनमा ७० प्रतिशत योगदान र विदेशबाट अत्यधिक रेमिट्यान्स भित्र्याउँदा पनि मधेशीहरुले राज्यको बजेट र राजश्वमा न्यायोचित हिस्सेदारी नपाएको उनले गुनासो गरे । नेपालको कुनै पनि संग्रहालय वा राष्ट्रिय संस्थाले मधेशको इतिहास, संस्कृति र योगदानलाई न्यायेचित स्थान र मान्यता नदिएको चर्चा गर्दै डा. यादवले मुलुकका सिनेमा र टीभी कार्यक्रमहरुमा मधेशीहरुलाई नकारात्मक रुपमा चित्रण गरिएको बताए ।

उक्त अवसरमा डा. यादवले राज्यका निकायहरुमा मधेशी समुदायका लागि समानुपातिक प्रतिनिधित्व, समान अवसर, सांस्कृतिक मान्यता र भेदभावपूर्ण कानुनको अन्त्यको माग गरे । त्यसैगरी उनले नेपालमा मधेशीहरुको न्यायोचित अधिकार, पहिचान, न्याय र मर्यादा स्थापनाका लागि सार्थक पहलका साथै दवाव सृजना गरिदिनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान पनि गरे ।

यसअघि गत बिहिबार स्वीट्जरल्याण्डको जेनेभामै अल्पसंख्यक मुद्दासम्बन्धी अर्को साइडलाइन कार्यक्रममा बोल्दै डा. यादवले नेपालमा शताब्दीयौंदेखि सिमान्तकृत र अन्याय परेको मधेशी समुदायका माग, समस्या र मुद्दाहरुबारे आफ्नो धारणा राखे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780