राजविराज–१६ मंसिर–सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा तस्करी गर्ने स्कार्पियोको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ ।
भारतसँग सीमा जोडिएको कचनारीमा ड्युटीमा खटिएका सई यादवलाई नम्बर नखुलेको स्कार्पियोले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।
नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।
उनका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको छ ।
बीओपी बरहरीमा कार्यरत रहेका मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
उता, मृतक सईका दाइ नाता पर्ने पाण्डव यादवले प्रहरी प्रशासनकै कमजोरीले घटना घटेको आरोप लगाए ।