सिरहा–सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । उनले पक्राउ परेकाको पहिचान तत्काल खुलाउन चाहेनन् । तर ठक्कर दिने गाडी र व्यक्तिको पहिचान भइसकेको उनले बताए ।
आइतबार बिहान करिब ३ बजे ड्युटीमै रहेका सई ४८ वर्षीय यादवलाई नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिएर भारततर्फ भागेको थियो ।
प्रादेशिक अस्पतालमा यादवको शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका–४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो ।