राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले सदस्यता शुद्धीकरणको निर्धारित मापदण्डलाई लत्याउँदै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले राजनीतिक आस्थाका आधारमा मनपरी र षड्यन्त्र गरेको भन्दै भन्दै संघर्ष जाने चेतावनी दिएको छ ।
प्रेस मञ्चका अध्यक्ष भूषणकुमार सिंहले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘मिति २०८१ साल मंसिर १७ गते सोमबारका दिन राजविराजमा प्रेस मञ्च नेपाल शाखा सप्तरी कार्यसमितिको बृहत्त बैठक शाखा अध्यक्ष श्री भुषणकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको जानकारी गराउन चाहन्छौं । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि १५ बुँदे मापदण्ड निर्धारण गरेर अभियान नै चलाएको र त्यस अभियानमा प्रेस मञ्च नेपाल, सप्तरी सधैं समर्थनमा रहेको तथ्य जगजाहेर नै छ । तर, पछिल्लो पटक सार्वजनिक भएको सदस्यताको सूचीले महासंघ शाखा सप्तरीमा प्रेस युनियनबाट प्रतिनिधित्व गरिरहेका शाखा अध्यक्ष श्रवणकुमार देवले सप्तरीमा शुद्धीकरणको निर्धारित मापदण्डलाई लत्याउँदै मनपरीतन्त्र, राजनीतिक द्वेष र षड्यन्त्र गरेर राजनीतिक आस्थाका आधारमा आफ्ना निकट बाहेककालाई मात्रै शुद्धीकरणमा पार्ने काम गरेको प्रेस मञ्च नेपाल, सप्तरीको ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित मापदण्ड बमोजिम देशैभर पारर्दशिताका साथ सदस्यता शुद्धिकरण कार्यान्वयन भयो भने प्रेस मञ्चले सिरोहार्य गर्दै स्वीकार गर्ने भनि यसअघि पनि विज्ञप्तिमार्फत अवगत गराएकै थियौं । तर, मधेश प्रदेशमा मात्रै बहुसंख्यक रुपमा सदस्यता शुद्धीकरणको मापदण्ड अगाडि बढाएपनि काठमाडौंसहित अधिकांश जिल्लामा दलगत नै गरिएको अवस्था छ । जसकारण यसअघि नै महासंघका केन्द्रीय अध्यक्ष र त्यसपछिका काबा अध्यक्षले राजीनामा दिएको पनि छर्लङ्ग छ ।’
महिनौं लगाएर मापदण्डअनुसार सदस्यता शुद्धीकरण गर्न नसक्नु र पटक–पटक सार्वजनिक गरिएका सदस्यता सूचीमा समेत कुनै शुद्धीकरण मापदण्ड कार्यान्वयन नभएको भन्दै मञ्चले ती कारणले तोकिएको निर्वाचन पनि प्रभावित हुने बताएको छ ।
‘तसर्थ, महासंघ शाखा सप्तरीले पछिल्लो अधिवेशनमा सहभागी गराइएका सदस्यहरुलाई नै सहभागी गराएर तोकिएको मितिमा निर्वाचनमा जाँदा प्रेस मञ्चलाई स्वीकार्य हुन्छ । अन्थया, हैकम प्रवृत्तिबाट गरिएको सदस्यता शुद्धीकरण बमोजिम केन्द्रबाट सप्तरी शाखामा १६ मंसिरमा आएको सदस्यता सूची बमोजिम निर्वाचन गराउन खोजिए प्रेस मञ्चले त्यसको विरोधमा संघर्षमा जान बाध्य हुने चेतावनीसमेत यही विज्ञप्ती माफर्त सम्बद्ध पक्षलाई जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।