पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप

विराटनगर–ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार झडप हुँदा दुवैतर्फका गरी कम्तीमा १८ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच दिउँसो र साँझ झडप भएको हो । झडपमा सुरक्षाकर्मी १३ र आन्दोलनरत पक्षका ५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि नै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गरिरहेका छन् ।

कम्पनीले मंगलबार केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका थिए । शनिबार उनीहरू र प्रहरीबीच झडप भएको हो । दिउँसो ४ बजेतिर भएको झडपमा तीन सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका एक जना घाइते भएका थिए । साँझ फेरि झडप हुँदा थप घाइते भएका हुन् । दुवै पटक प्रहरीले गोली चलाएको आन्दोलनकारीको भनाइ छ ।

साँझ ५ बजेको झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ–९, तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लावती र मंगल लावती (मिक्लाजुङ–५, पाँचथर) घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनरत पक्षका अगुवा श्री लिंखिमले अरू पनि घाइते भएको तर रातको समय भएकाले यकिन हुन नसकेको बताए । प्रहरीतर्फ भने जवानदेखि इन्स्पेक्टरसम्मका १३ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए ।

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना पाएपछि दिउँसो ४ बजेतिर खोजीमा गएको प्रहरीलाई माथिबाट ढुंगा र गुलेली हानिएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ । आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायतका सामान बरामद गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस