राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा प्रत्येक बर्ष सरस्वती पुजाको अवसरमा स्थानीयवासीहरूद्वारा नाटक मंचन गर्ने गरिन्छ । विगत आठ दशकभन्दा बढीदेखि त्यहाँ वसन्त पञ्चमीको अवसरमा हुने मेला आयोजनमा नाटक मंचन हुने गरेको हो ।
१९९०को दशकमा तिलाठीमा भिषण आगलागी हुन थालेपछि षटशास्त्री काशीनाथ ठाकुरको सल्लाह अनुसार यहाँ श्री सरस्वती पुजा सुरू गरिएको स्थानीय अवकाशप्राप्त शिक्षक दयाकान्त झाले बताए । झाका अनुसार सोही समयदेखि स्थानीय विद्यार्थीहरूले कलाकी देवी मानिएकी सरस्वतीसमक्ष मेलाको चार रात्रि नाट्यकला प्रदर्शन गर्न सुरू गरेका थिए ।
स्थानीयहरूको सहभागितामा विक्रम सम्वात २००१ सालमा सरस्वती साँस्कृतिक नाट्यकला परिषद नै स्थापना भइ त्यसलाई निरन्तरता दिँदै आएको उनले बताए । स्थानीय कलाकारको संख्यामा वृद्धि हुन थालेपछि २०३६ सालमा अर्को श्री हरगौरी नाट्यकला परिषद गठन भएपछि दुवै परिषदले दुई/दुई रात्रि नाटक मंचन गर्ने गरेका छन् ।
चार दीवसीय मेलामा रात्रिकालिन समयमा नाटक मंचन हुने गरेको सरस्वती साँस्कृतिक नाट्यकला परिषदका निर्देशक अखिलेश्वर झाले बताए । उनका अनुसार नाटकको माध्यमबाट समाजमा सकारात्मक संदेश दिनु नाटक मञ्चनको मुख्य उदेश्य हो ।’ धार्मिक, समाजिक, ऐतिहासिक सबै खाले नाटक प्रदर्शन गर्छौँ, एउटा संदेश बोकेर त्यसलाई दर्शक माझ पुर्याउनु नै उदेश्य हो,’उनले भने ।
नाटक मंचनले यसमा सहभागीको पनि झमता अभिवृद्धि हुने गरेको झा बताउँछन् ।’ खासगरि बालबालिका र युवाको सहभागिताको नाटक तयार गरिन्छ, नाटक प्रस्तुती भन्दा एक डेढ महिना पुर्वदेखी नै त्यसको तयारी अभ्यास सुरु गर्छौँ,’ उनले भने, ’नाटक किताबमा भएका धेरै नौलौ शब्दअर्थको जानकारी हुन्छ, शब्द ज्ञान बढ्छ, वक्तृत्वकलामा वृद्धि हुन्छ, अभ्यास अभ्यासमै इतिहासको जानकारी हुन्छ ।’ नाटक खासगरि स्थानीय भाषा मैथिलीमै मञ्चन गर्ने गरेको छ ।
झाले यस बर्षको नाटकको तयारी पुष २७ गतेदेखी नै सुरू गरिसकेको बताए । दशैं, दिपावली, होली, विद्यापति समारोह पर्वमा पनि गर्ने गरिएको नाटक मंचन पछिल्लो एक दशकदेखी सरस्वती पुजाको अवसरमा मात्र हुने गरेको परिषदका कलाकार जितेन्द्र झाले बताए । केही समयअघिसम्म सप्तरीको बिभिन्न गाउँ तथा भारतको बिहारको गाउँमा समेत गएर तिलाठीको कलाकारहरूले नाटक मंचन गरेको उनी समझन्छन् ।
माघ २१ गते सुरू हुने यसबर्षको मेलाको तयारी तिलाठीमा सुरू भइसकेको छ । यसबर्ष पनि मेलामा नाटक मंचनको कार्यक्रम राखिएको सरस्वती पुजनोतसव तथा मेला व्यवस्थापन समितिका अध्यक्ष अजित कुमार मिश्रले बताए । यद्यपी यसबर्ष चार दिनको मेलामा दुई रात्रि मात्र नाटक मंचन हुने कार्यक्रम तय गरिएको उनले बताए ।
उनले मेलाको तेस्रो र चौथौ राति दुवै परिषदले एक/एक दिन नाटक मंचन गर्ने कार्यक्रम राखिएको बताए । मेलाको आकर्षण बढाउन प्रथम र दोस्रो राति बाहिरि सुप्रसिद्ध चर्चित कलाकारको साँस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष मिश्रले बताए ।
दिनको समयमा मेला आकर्षण बढाउन दोस्रो दिनदेखि तीन दिवसीय नेपाल–भारत मैत्री कुस्ती प्रतियोगिता आयोजना हुने समितिका बरिष्ठ उपाध्यक्ष बाबुनारायण मिश्रले बताए । नेपाल र भारतका चर्चित पहलवाहरूबिच कुस्ती प्रदर्शनी हुनेछ ।
स्थानीय गाउँवासीले आफै आर्थिक सहयोग जम्मा गरेर मेला लगाउने गरेकोले यहाँ मेला हेर्न कुनै किसिमको शुल्क नलाग्ने गरेको मेला व्यवस्थापन समितिका कोषाध्यक्ष सम्बोध झाले बताए । झाका अनुसार यसबर्ष मेलामा १७ लाख रुपैयाँ खर्च हुने आकंलन रहेको छ ।
मेलामा दैनिकी २० हजार बढी मान्छेको भीड हुने गरेको स्थानीवासी बताउँछन् । मेलामा नेपालको बिभिन्न जिल्लाबाट पसल थाप्न व्यवसायीहरू आउने गरेको मेला व्यवस्थापन समितिका सहसचिव राजकुमार यादवले बताए।उनले मेलामा बिभिन्न किसिमको झुल्ला समेत रहने बताए ।
तिलाठीको नाट्य संस्कृतिको संरक्षण गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीयवासी अवकाश प्राप्त प्रधानध्यापक भोगानन्द मिश्र बताउँछन् । स्थानीय सरकार र प्रदेश सरकारले यसमा बिशेष चासो लिइ यसलाई उत्थानको निति ल्याउनुपर्ने उनको भनाई छ ।