राजविराज, ८ चैत । नेपाली कांग्रेसका युवा नेता एवम् मधेश प्रदेशसभा सदस्य मोहम्मद समिमले दलित, किसान, अल्पसंख्यक लगायतको पक्षमा निर्णय ठोक्न नभए प्लेटफर्म छोड्न मुख्यमन्त्रीलाई चेतावनी दिएका छन् ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री समेत रहेका उनले मुख्यमन्त्री तथा मन्त्रीहरुको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
शीतलहरमा कसरी समय बिताएको होला ? भनी प्रश्न गर्दै उनले भने ‘अब त हावाहुरीको समय आयो कसरी बस्ने होला, दलित समुदायप्रति तपाईहरुले विभेद गर्न खोज्नु भएको हो ?’ प्रश्न गर्दै उनले थपे ‘मधेश प्रदेशका सम्पूर्ण दलित जातिको घर बनाउनुपर्यो, कि त निर्णय ठोक्नुस्, तपाइँ डराउनुहुन्छ भने छोड्नुस् प्लेटफर्म ।’
डेढ वर्ष अघि जनता आवास र महेन्द्रनारायण निधि आवास योजना सञ्चालन भएको चर्चा गर्दै सदाहरुको घर बनाउन शुरु गरिएको भए पनि हालसम्म निर्माण काम पुरा हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरे ।
आफ्नै पार्टी सहभागी प्रदेश सरकारका मन्त्रीहरुको क्रियाकलापको भन्न पनि लागेको भन्दै प्रदेश सांसद समिमले आक्रोश व्यक्त गर्दै उनले भने ‘आफ्नै पार्टी सहभागी सरकारको भ्रष्टाचार र कमिशनको आलोचना चिया पसल, पान पसलहरुमा हुने गरेको छ, भनुँ भने कसरी भनुँ ? नभनुँ भने कसरी जनताले बुझ्ला ? आफैलाई लाज लाग्छ, तै पनि भन्नै पर्छ, बिना कमिशनको कुनै पनि योजना वितरण भइरहेको छैन ।’
‘म आफै निर्वाचित सप्तरी जिल्लाको ३ (क) मा खुरहुरिया, जमुनी र शम्भुनाथको योजना राखेकोमा चिठी लिन जाँदा मन्त्रीलाई भन्नुस्, मन्त्रीलाई भन्दा सचिवालयमा सम्पर्क गर्नु भन्छन्, दुःखेसो सुनाउँदै उनले भने ‘हामी माननीय हौं, तपाईको पियन होइन, तपाई पनि जितेर आउनुभएको छ, हामी पनि जितेर आएको हौं, तपाईको व्यवहारप्रति खेद प्रकट गर्दछु, मन्त्रीको स्तर हेर्दा भन्न पनि लाज लाग्छ ।’ माननीयहरुको बजेट निर्वाचन क्षेत्रमा नरहेको भन्दै उनले बिचोलियाहरुको भन्दै मन्त्री र मुख्यमन्त्रीलाई मसियौत भाइको संज्ञा दिएका छन् ।
मुख्यमन्त्रीलाई लक्षित गर्दै उनले कसको ईसारामा योजनाको चिठी वितरण भईरहेको छ ? प्रश्न गर्दै प्रदेश प्रदेश सांसद समिमले भने ‘मुख्यमन्त्रीज्यू, तपाइँ अन्धो हो ? तपाइँ बहिरो हो ? होइन भने तपाइँ टुलुटुलु हेर्ने, केही नबोल्ने ? हाम्रो पार्टीको गम्भीर आपत्ति छ, हाम्रो पार्टी दोष लिदैन । लोकतन्त्र जनताको मन्दिर भएकोले सभामुख मार्फत आफुले सरकारको ध्यानाकर्षण गराउन कुरा राखेको पूर्व गृह, सञ्चार तथा कानुनमन्त्रीले बताए ।