
रामरिझन यादव
कुनै पनि मधेशीले राप्रपाको यो आन्दोलनलाई समर्थन, सहयोग वा सहभागी हुनुभन्दा पहिले आफ्नो गर्विलो इतिहास पढौं। बुझौं र आत्मसात गरौं ।
वर्तमानमा केही नेताहरूले सिद्धान्तसँग व्यापार गरेर पुर्खालाई बदनाम गरेको कुराको लहैलहैमा लागेर पश्चगमनकारीलाई समर्थन नगरौं । त्यसैले वि.सं. २००८ सालदेखि हाम्रा महान पुर्खाहरूले हाँकेको अनवरत आन्दोलनलाई सन्ततिहरूले आधा शताब्दि पश्चात प्राप्त गरेको सफलतामाथि कसैले प्रश्नवाचक चिन्ह खडा गर्न दुस्साहस गर्छ भने त्यसलाई मुहतोड जवाफ दिऔ । किनभने त्यो कुनै पनि मधेशीको लागि कुनै पनि अवस्थामा सहनीय हुन सक्दैन ।
अढाई सय वर्षदेखि लादेको एकात्मक केन्द्रीकृत राजतन्त्रात्मक निरन्कुश शासन प्रणालीले मुलुकमा सबैभन्दा अहित कुनै समुदायलाई गर्यो भने त्यो तराईवासी मधेशी हो । तसर्थ यसबाट छुटकारा पाउन पुर्खाहरूले मधेशको मूल माग स्वायतता राख्यो , जो सघीयताको रूपमा अहिले प्राप्त भएको छ । यसलाई सरक्षण सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो ।
पुर्खाको नासोलाई धरोहरको रूपमा गर्व गर्नु र त्यसलाई सुरक्षित बाटोतर्फ डोर्याउनु हाम्रो दायित्व हो । तर, राप्रपा जो नेपालको इतिहासमा गोर्खा परिषदका अर्को संस्करण हो । त्यसले हाम्रो सघीयतालाई वर्खास्तगीको मुद्दा बनाएका छन् ।
के त्यो मधेश र मधेशीको हितमा छन ? यदि छैनन् भने राप्रपा हाम्रो दुश्मन हो भन्ने कुरा बुझ्नुपर्छ । त्यस्तै गणतन्त्रको मूल माग पनि सबैभन्दा पहिले मधेशको धर्तीबाट उठेका थिए, जसको प्रणेता महामना रामराजा प्रसाद सिह हुनुहुन्थ्यो। त्यसैले सघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो पुर्खाले गरेको सङ्घर्षको देन हो । यसप्रति विश्वासघात गर्नेहरू मधेश र मधेशीको लागि कलङ्क हुन्।
लेखक यादव राजनीतिज्ञ, विश्लेषक एवम् सामाजिक अभियन्ता हुन् । सं.