जनकपुरधाम, ५ वैशाख।
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–३, दोनवारी टोलकी २२ वर्षीया आनन्दीदेवी सदायको रहस्यमय मृत्युपछि मधेश प्रदेश प्रहरीले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको छ। यौन दुर्व्यवहारपछि मृत अवस्थामा फेला परेकी आनन्दीको घटनालाई लिएर तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति बनाइएको छ। समितिमा प्रहरी निरीक्षक विक्रम साह र एक जना हबल्दार पनि सदस्य रहेका छन्। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार बुधबारदेखि नै छानबिन समिति सक्रिय रूपमा अनुसन्धानमा जुटेको छ।
डीआईजी आचार्यले मेडिकल रिपोर्ट प्राप्त भएपछि छानबिन कार्यलाई थप तीव्रता दिइने बताए। साथै समितिलाई यथासक्य चाँडो अनुसन्धान सम्पन्न गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी उनले दिए।
गत पुस ९ गते आनन्दीमाथि गाउँकै सञ्जीवकुमार यादव (२२) र श्यामसुन्दर यादव (३२)ले यौन दुर्व्यवहार गरेको आरोप छ। त्यही यौन हिंसाको पीडा बीच उनी गत मंगलबार दिउँसो आफ्नै माइती घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
स्थानीय स्तरमा पीडित पक्षले न्यायको माग गर्दै आवाज उठाउँदै आएका छन् भने प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिबद्धता जनाएको छ।