योगमाया : एक नारी विद्रोह

सुष्मा दाहाल

प्रस्तावना : नेपालको इतिहासमा धार्मिक, सामाजिक र लैंगिक असमानताको अँध्यारो छायाँलाई चुनौती दिने विरलाहरूको नाम लिंदाखेरि योगमाया न्यौपाने अग्रपंक्तिमा आउँछिन्। ‘स्त्री’ नामको पहिचानलाई अपमान र बन्धनको पर्यायजस्तो बनाइएको समयको अन्धकारमा उनले आफ्ना विचार, चेतना र आत्मबलका माध्यमबाट एउटा विद्रोही स्वरको स्थापना गरिन्। “योगमाया : एक नारी विद्रोह” भन्ने शीर्षक यथार्थमै त्यस ऐतिहासिक प्रतिरोध र आत्मसम्मानको उद्घोष हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ।

ऐतिहासिक पृष्ठभूमि र योगमायाको उदय:

याेगमाया जन्मिएको वि.सं. १९२५ तिरको नेपाली समाज गहिरो धार्मिक कट्टरता, जातीय विभेद, लैंगिक उत्पीडन, र निरंकुश राणा शासनको कठोर नियमनमा थियो। स्त्रीको अस्तित्व मात्र घर, भान्सा र सन्तान उत्पादनमा सीमित थियो। यही कठोर परिवेशमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने बालविवाह, बलात् विधवा जीवन, अपमान र बहिष्करणको चपेटामा परिन्। तर उनले यो पीडालाई आत्मदया वा मौनतामा परिणत गरिनन्, बरु यहीँबाट उनको विद्रोहको बिउ उम्रियो।

विद्रोहको स्वर: कविता, साधना र संगठन:

योगमायाले आफ्नो प्रतिरोधको भाषा कविता बनाइन्। उनका पदहरू (भाखा) सामाजिक न्यायका आह्वान थिए
“ज्योतिर्मयी धर्मकी छोरी, अधर्म बोक्नेहरूसँग युद्धमा होमिएकी स्त्री”
उनले विद्या अध्ययन गरिन्, साधना गरिन्, र समाजमा नारी चेतना फैलाइन्। उनले आफूजस्ता उत्पीडित महिलाहरूलाई सङ्गठित गरिन्। त्यो समूह “योगमाया पन्थ” मात्र आध्यात्मिक साधना केन्द्र थिएन, त्यो एउटै संगठित महिला प्रतिरोध आन्दोलन थियो, जसले राज्यशक्तिसँग प्रत्यक्ष टक्कर लिन हिम्मत गर्यो।
योगमायाको माग र राज्यसँगको टक्कर:

योगमायाको प्रमुख माग :

• विधवा पुनर्विवाहको अधिकार
• बलात्कारीलाई दण्ड
• जातीय छुवाछुतको अन्त्य
• धर्मको नाममा हुने पाखण्ड र लुटखसोटको अन्त्य
• स्त्री शिक्षाको हक

उनले यी सबै माग राणाशासनलाई औपचारिक रूपमा पत्र पठाएर राखिन्। यो कदम राज्यसत्ता विरुद्ध एक ऐतिहासिक विद्रोह थियो। तर जब राज्यले उनको मागहरू अस्वीकार मात्र गरेन, बरु उनलाई ‘पागल’, ‘धार्मिक अन्धविश्वासी’ भन्न थाले, तब योगमायाले अन्तिम प्रतिरोधको बाटो रोजिन् । वि.सं. १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसहित अरुण नदीमा सामूहिक जलसमाधि लिइन् ।

योगमायाको विद्रोहको विशेषता:

१. सैद्धान्तिक प्रतिरोध : उनका विद्रोहमा गहिरो वैचारिकता छ। उनले धर्मको प्रयोग धर्मविरुद्ध गरिन्, तर यसको प्रयोग अन्यायविरुद्ध थियो।
२. नारी चेतनाको उदय : योगमाया स्त्री उत्पीडनको वास्तविक कारणको जरोमा पुगिन्। उनले स्त्रीको शोषणलाई दैवी नियम होइन, मानवनिर्मित संरचना ठहर गरिन्।
३. शासनसँग प्रत्यक्ष टक्कर : राणाशासनको कठोर भूमिकाको बाबजुद, उनले आफ्ना माग सार्वजनिक रुपमा राखिन्, जुन साहसिक कार्य थियो।
४. कवितामार्फत विद्रोह : उनका कविताहरू नेपाली नारी इतिहासमा पहिलो सशक्त रचना थिए, जुन प्रतिरोध र पुनरुत्थानको भाषा हो।

समसामयिक सन्दर्भमा योगमाया:

आज संविधानले महिला अधिकारको प्रत्याभूति गरेजस्तो देखिए पनि अझै पनि जातीय, धार्मिक र लैंगिक विभेद व्याप्त छ। “योगमाया : एक नारी विद्रोह” सन्देश आज पनि हाम्रा चेतना र आन्दोलनको साँचो प्रेरणा हुन सक्छ। उनका पदहरूलाई अहिलेको शिक्षाको मूलधारमा समावेश गर्नु आवश्यक छ। योगमायाले उठाएका सवालहरू अझै पूर्ण रूपमा सम्बोधन भएका छैनन्।त्यसैले उनी केवल इतिहासको पात्र होइनन्, वर्तमान र भविष्यको मार्गदर्शक पनि हुन्।

निष्कर्ष:

योगमाया न्यौपानेले आफ्ना आँसुलाई आँधी बनाइन्, आफ्नो मौनता कविता बनाइन्, र आफ्ना दुखलाई विद्रोहको रूप दिइन्। उनी केवल एक साधिका होइनन्, एक चिन्तक, एक साहित्यकार, र एक क्रान्तिकारी नारी थिइन्। “योगमाया : एक नारी विद्रोह” भन्ने शीर्षक उनको जीवनको सार हो ।नारी मुक्ति र सामाजिक न्यायको झण्डा उठाउने क्रान्तिकारी विरासत।
उनको मृत्यु आत्महत्या थिएन, त्यो थियो एउटा सांकेतिक बलिदान । जो आजसम्म पनि हाम्रो सामाजिक विवेकलाई झकझक्याइरहेको छ।
(हिजाे हरिशयनी एकादशीका दिन याेगमायाले ६७ जना महिला सहित अरुण नदीमा जलसमाधि लिएकी थिइन् ….त्यो साहस र विद्रोहकाे सम्मानस्वरुप उनलाई यसरी सम्झिएँ । )

Author:



क्याटोगरी छान्‍नुहोस