राजविराज , २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलस्थित चन्द्र नहरको डिलबाट झन्डै चार क्विन्टल (३९६.९ किलोग्राम) लागुऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।
गाँजा बेवारिसे अवस्थामा राखिएको सूचना पाएपछि बिहान ७:३० बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीको सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा, इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय पातोबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले नहरको छेउमा प्लास्टिकमा बेरेर राखिएको ६ पोका र सो स्थानबाट करिब ३०० मिटर पश्चिम खेतमा लुकाइएको थप ११ पोका फेला पारेको हो। ती १७ वटा पोकामा गरी कुल ३९६ केजी ९०० ग्राम गाँजा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उक्त गाँजा भारततर्फ तस्करी गर्न राखिएको अनुमान गरिएको छ। बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ।
यसअघि पनि साउन ४ गते राजगढ गाउँपालिका–३ नर्घो पछवारी टोलकी रेखाकुमारी मण्डलको घरबाट प्रहरीले ३८८.७३ केजी गाँजा बरामद गरेको थियो।