धीरेन्द्र प्रेमर्षि

गएको जेठमा “कर्णालीमा सिस्नुपानी” कार्यक्रमको कर्णाली प्रदेशका ६ ठाउँमा प्रस्तुतिहरू दिएर फर्कने क्रममा हामीले विचार गर्यौँ– कर्णालीको प्रत्यक्ष स्पर्शबाट प्राप्त भावलाई एउटा ठोस आकार दिन हामीले सङ्घीय राजधानीमा एउटा विशेष आयोजना गर्नुपर्छ। फलस्वरूप फर्कंदा बाटैमा कार्यक्रमको नाम जुर्यो– ‘जुरुक्क कर्नाली’। र, काठमाडौँ आइपुग्नासाथ हामी कार्यक्रमको तयारीमा डुब्यौँ।
जुरुक्क कर्णाली कार्यक्रमको सम्पूर्ण तयारी भइसक्दा पनि केही नपुगेजस्तो लागिरहेको थियो। त्यो नपुग पाटो थियो महिला सहभागिताको। अनि एउटा यस्तो नृत्य समावेश गर्ने निर्क्यौलमा हामी पुग्यौँ, जसमा महिला कलाकारहरूको सहभागिता होस्। दुई वर्षअघि अचानक भेटिनुभएका Madhav Chaulagain सँग साढे तीन दशकअघि मेरो कर्णालीसँग गाँसिएको आत्मीयताका कारण नैकट्य बढ्यो।
यस कार्यक्रमका विभिन्न चरणमा उहाँलाई जोड्दै जाँदा उहाँको पुस्तक सपादलक्ष कर्णालीकै थिममा लेखिएको गीतको सम्झना भयो। साथीहरूले यसलाई ताण्डव शैलीमा लाने विचार दिए। गीतको स्वभाव वीर रसको भएकोले अरूतिर जाने गुञ्जायस पनि थिएन। अनि गायनमा जे-जसो गरे पनि नृत्यमा चाहिँ दर्शनालगायतका नानीहरूको कला उपयोग गर्ने कुरा आयो।
मलाई भने विशेषगरी कर्णालीका सन्दर्भमा कुनै नारी कण्ठबाट आफूलाई ‘माण्ठ हुँ’ (मानिस हुँ) भन्ने उद्घोष भए शब्दले सार्थकता पाउलाजस्तो लागिरहेको थियो। त्यसैले ओजिलो नारीस्वरतर्फ नजर डुलाउन थालेँ। एक्कैचोटि हाम्रो स्मृतिपटलमा Aastha Raut को नाम आयो। तर विगतमा हाम्रो केही सेलिब्रिटी कलाकारसँगको सहकार्य त्यति सहज र उपलब्धिपूर्ण नरहेकोले बाटो मोड्ने निष्कर्षमा पुग्यौँ। त्यसपछि केही समयअघि मात्र Deepak Rauniyar भाइको बहुचर्चित फिल्म ‘राजागंज’का लागि चर्चित सङ्गीतकार भाइ Pravesh Mallickको सङ्गीतमा मेरा शब्दहरूले स्मारिका फुयाँलको स्वर पाएको गीत ‘इन्द्रेणी’ साथीहरूलाई सुनाएँ।
सबैले एकस्वरमा सहमति जनाए। तर गायनमा जे-जसो भए पनि सङ्गीत गर्ने जिम्मा भने साथीहरूले कोही सेलिब्रिटी सङ्गीतकारलाई नै देलान् भन्ने मलाई आशङ्का थियो। तर यस गीतसँग मैले नै यथोचित न्याय गर्न सक्छु भन्ने मेरो विश्वास थियो। त्यसैले हतार-हतार आफ्नै शैलीमा धुन बनाएँ। वाद्यवादन र अन्य प्रस्तुतिहरूमा समेत साथ दिन हामीसँग जोडिएको “जदौ हजुर” ब्याण्डका सङ्गीत संयोजक Romi Basnet र गायक Ratan Devkota ले यसलाई राम्रो भन्दै सुन्दर वाद्य-संयोजनसमेत गरिदिएपछि गीतले आकार लियो र साथीहरूले मेरै सङ्गीतलाई डन गरे। पछि कुरैकुरामा आस्थालाई पनि अनुरोध गरिहेरौँ भनेर हाम्रा महासचिव तथा कार्यक्रम-संयोजक टङ्क आचार्यले फोन गरिहाल्नुभएछ।
आस्था केहीबेरमै आइपुगिन्। शुरूमा सेलिब्रिटी भनिनेहरूप्रतिको पूर्वाग्रहभावमा खुम्चेका हामी उनको केही बेरकै बोली, वचन, व्यवहारले सहज हुन पुग्यौँ। त्यसपछि लगभग एक हप्तासम्म हामी सबै एउटै परिवारको सदस्यझैँ भएर जुरुक्क कर्नालीसहित चारवटा गीतको अभ्यास गरिरह्यौँ। हामी भाव र समर्पणका थोपा-थोपा बन्दै कर्णाली बग्न थाल्यौँ। गीतमा माधवजीलाई जहाँ-जहाँ जे-जसो सुधार गर्न भन्यौँ वा हामीले सुधार्यौँ त्यसलाई सहर्ष आत्मसात गर्न उहाँ सतत तयार रहनुभयो।
हाम्रा मित्र Shishir Yogi जस्ता सङ्गीत मनीषीले खास-खास ठाउँमा आफ्नो सुझाव र इनपुट दिएर गीतलाई अझ जीवन्त बनाइदिनुभयो। आस्थाले हाम्रो हृदयमा बनाएको आत्मीयताको स्थानले हामीलाई थप हौस्यायो। र हामीले यसमा नृत्यका लागि जीवन्त अभिनय र नृत्यकी प्रतिमूर्ति प्राज्ञ मिथिला शर्मालाई आग्रह गर्ने आँट गर्यौँ। उहाँले हाम्रो आग्रहलाई सहर्ष स्वीकार गरी अझ सहज र विनम्रतापूर्वक हाम्रो सहकार्यलाई विशिष्टता प्रदान गर्नुभयो।
यस यात्रामा हामी सबै कर्णालीका लागि नभएर स्वयं कर्णाली भएर कार्यक्रममा संलिप्त भयौँ। जुरुक्क कर्नालीका सम्पूर्ण प्रस्तुतिमा हामी सबै कवि-कलाकारको त्यही भाव यहाँहरूले पाउनुभएको होला। यसको परिणामस्वरूप सपादलक्ष कर्नाली गीत, जो रेकर्ड नभइकनै पहिलो पटक यसै कार्यक्रममा प्रस्तुत भयो, त्यसलाई भावकहरूबाट प्राप्त अपार मायाले हामी सबै अभिभूत भएका छौँ। व्यक्तिगत रूपमा मैले यसलाई मेरो जन्मदिन भाद्र १८ गतेको पूर्वसन्ध्यामा प्राप्त अमूल्य उपहार मानेको छु। यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दै यहाँहरूसमक्ष एकपटक मै पनि पस्कँदै छु– थोरै फरक भिजुअलका साथ “जुरुक्क कर्णाली”। Dhirendra Premarshi/facebook post
हेर्नुहोस् भिडियोः
Full Video:https://youtu.be/AOGSJMXSzgM?si=RNay9K4lJPdO3Fdh