काठमाडौं,२३ भदौ । काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा १४ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
आन्दोलनका क्रममा घाइते १०० भन्दा बढी प्रदर्शनकारी विभिन्न अस्पतालमा उपचाररत छन्। ट्रमा सेन्टरमा उपचाररत ६ जना प्रदर्शनकारीमध्ये एकजनाको मृत्यु भएको छ भने २५ जनाको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीनजनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। एभरेष्ट अस्पतालमा ३४ जना उपचाररत छन् भने तीनजनाको मृत्यु भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजनाको मृत्यु भएको छ भने १६ जना घाइतेको उपचार भइरहेको छ।
उपचाररत घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ। जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्। Pic. Social Media