
नन्दलाल आचार्य
“खरानीले कहिल्यै फूल फुलाएको छ ?” बिहानको कुहिरो काट्दै आएको स्वर काँप्यो, तर भित्रै कतै गर्जन लुकेको थियो ।
सडक छेउमा बाक्लो भीड थियो । जलेको प्रहरी चौकी, चकनाचुर बैंकको सिसा, रुँदै गरेको आकाश, यी सबै दृश्यमा देश निलिएको पीडा पोखिएको थियो ।
“हामीलाई बचाउने हात नै बाँधियो भने, अब कसले जोगाउँछ ?” भीडभित्र अर्को स्वर भुट्भुटियो ।
“जनताकै पसिनाले बनेको सम्पत्ति, फेरि जनताकै हातले जलाउन पाइन्छ ?” कसैले प्रश्नको झटारो हान्यो ।
“यो त भविष्यका लागि बलिदान हो रे !”
“भविष्य ? कि खरानीमा पुरिएको आशा ?”
कलिलो उमेरका युवाहरू, अनुहार ढाकिएका, हातमा ढुङ्गा बोकेका, गर्जँदै थिए- “देश उठाउन यस्तै आगो चाहिन्छ !” तर भीडभित्रै उभिएको वृद्धले हाँसेजस्तो गरी रोएको स्वरमा भने- “आगोले देश उठाउँछ ? कि खरानीमात्र बाँकी छोड्छ ?”
त्यतिबेला, धुवाँभित्रैबाट नसम्झिने स्वर गुञ्जियो- बालकको रुवाइ ।
भीड स्थिर भयो । आँखा एकछिन जलेको घरतर्फ फर्किए ।
“त्यो स्वर… त्यो हाम्रो भोलि हो !” कसैले थरथराएको स्वरमा भन्यो ।
क्षणभर मौनता छायो । धुवाँमाथि फिक्का सूर्य टल्कँदै थियो । अनि, गहिरो स्वर फेरि प्रतिध्वनित भयो- “देशलाई खरानीले होइन, विश्वासले मात्र नयाँ फूल फुलाउँछ ।”
२०८२/०५/२६