काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक सुशीला कार्की महिला प्रधानमन्त्री बनेकी छिन्।
यसअघि पहिलो महिला प्रधानन्यायाधीशको रुपमा इतिहास रचिसकेकी कार्की अब पहिलो महिला प्रधानमन्त्री बनेर पनि अर्को महत्त्वपूर्ण अध्याय जोड्न सफल भएकी हुन्। जेन–जी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि कार्की प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरिन्। ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे भएको छलफलमा संसद् विघटन र जेन–जी पुस्ताका माग सम्बोधन गर्ने गरी कार्कीको नेतृत्वमा सरकार बनाउने सहमति जुटाइएको हो।
गत भदौ २३ गते जेन–जी युवाहरूको आन्दोलनमा प्रहरीको गोली लागी कम्तीमा १९ जनाको मृत्यू भएपछि देशभर आक्रोशपूर्ण प्रदर्शन, आगजनी र तोडफोड चलेको थियो। आन्दोलनकै चापबीच २४ गतेदेखि राजनीतिक स्थिरता संकटग्रस्त बनेको र अन्ततः प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपरेको थियो।
सुशीला कार्की यसअघि २०७३ सालमा पहिलो महिला प्रधानन्यायाधीश बनेर न्यायपालिकाको नेतृत्व गरिसकेकी थिइन्।