नयनाभिराम मेरो गामः यसरी छिर्यो यहाँ चेतना

जयप्रकाश गुप्ता (जेपी)

कहाँ हो घर? मैले कंचनपुर, सप्तरीको कंचनपुर भनें। डाक्टरी पढने बिचार हो? मैले, होईन भन्दा उहाँ हाँस्नु भयो। मेरो गाउँको नाम भन्दा धेरैको यस्तो जिज्ञासा हुने गरेकोले मलाई अस्वभाविक लागेन। भर्ना निम्ति म पहिलो पटक मोरंग कलेज टेक्दा डि.एन. लाल दास सरले सोध्नु भएको थियो। वास्तवमा धेरै पढेलेखेका, तेसमा पनि बढी डाक्डरी गर्ने, इंजीनियरहरू कयौ, नेपालका ठुल्ठुला कलेजहरूमा बिशेषतः बिज्ञान पढाउनेहरूको गाँउ भनी परिचित थियो मेरो कंचनपुर। यहीका बच्चु, उ मेरो बाल सखा हो-आज भेंट भयो। दशैं तिहारका बेला यस्तो भेंट हुने गर्छ। गाँउमा उमेरले २/३ बर्ष तलमाथी हुनुले साथी बन्नमा फरक पार्दैन । बच्चु कर्णसंग मेरो दोस्ती यस्तै हो।

कत्रो रह्यो होला र मेरो गाउँ त्यस बखत? मेरा पूर्वजहरूका जन्म थलो “चेंगहा” गाँउले मदमत्त कोशीको जल प्रपातमा समाधि लिएपछि त्यहाँबाट बसाई सरी आएका खोभारी साहले कंचनपुरको बजार बसाए। मेरो हजूर बा उनै खोभारी साहका भाईका ज्वाई हुन्। तर, मेरो ठूलो हजूर बा खलकमा महादेव साह बडो नाम चलेका ब्यापारी थिए। मैले बालकाल मै उहाँको पसलमा महँगो स्वीस मेड घडीहरू बिक्रिका लागि राखेको देखेको थिए। मेरा बुबा भने हुर्कदै गर्दाको बखतमा “ओमेगा” घडी लाउन पाउनु भयो। मेरो बुबा उनै महादेव साहका भाईको नाती भएकोले त्यस पहिरनको हकदार हो। सम्पन्न थियो गाँउ, उ बेलाको बजार पनि गुलजार हुन्थ्यो।

आज भन्दा ७०-८० बर्ष अघि पनि चन्द्रनहरको फोन सेवा थियो। राजबिराजको एक मात्र आकाशवाणी बाहेक। आज धेरैलाई बिश्वास न लाग्ला, कुनै समय बोरा का बोरा काजु-मनक्का पाईन्थ्यो यहाँ। जाडोको महिना ठुलो भोटे बजार लाग्द्थ्यो, जहाँ हिमाली क्षेत्रबाट ल्याईने जडिबुटी खरीद गर्न भारत, बिहारका दरभंगा-पटनासम्मका व्यापारी आउथे। सोलु, ओखलढुंगासम्म चाहिने ढिके नुन आपुर्तिको केन्द्र थियो यो। यहाँ दुईटा ठुलो जुट प्रेसको उद्योग थियो-बिराटनगरको गोलामा कंचनपुरीया जुटको छुट्टै स्थान हुन्थ्यो।

कंचनपुरमा धेरैका पूर्वजहरू सम्पन्न थिए तर, छोरा नातीहरूले राम्रो पढन पाएका थिएनन्। नेपाल भनिने काठमांडूमा राणाहरू बेलायत र पेरिसको भ्रमणबाट देखेर सिकेर ठूल्ठूला दरबारहरू बनाउन थाल्दाको बखतमा मेरो गाउँमा स्कूलसम्म थिएन। स्कूल, कल्पना र चाहनाको एक बिषय मात्र थियो। बि.स. ०७ साल ताका मात्र यहाँ महाबीर मिडील स्कूल हुदै खडा भएको हाई स्कूल जिल्ला कै पुराना मध्येका एक हुन-यहीबाट अध्ययन गर्नेहरू बढी डाक्डर आदि भए।

मेरो पिता जीलाई कखरा सिकाउने उदित नारायण लाल दास ९० सालको भूईचालो मेरै गाउँमा भोगेका थिए । उनलाई भारत, बिहारको मधुवनीबाट शिक्षकको रूपमा गाउँ ल्याईएको थियो। स्कूल त छदै थिएन, गाउँका ठूलो गोलाको ब्यापारिक बरण्डामा सबै बालकहरूलाई जम्मा गरी ट्युसन पढाउने काम थियो उदित नारायण लाल दासको। उनको अर्को महत्वपूर्ण अभिभारा थियो; ट्युसन पढाएर तयार गरिएको हुर्कदै गरेका केटाहरूलाई हरेक बर्ष मधुबनी वा दरभंगा लगी त्यहाँको स्कूलका मार्फत बिहार बोर्डको परीक्षा दिलाउनु। आज पनि मेरा गाउँका ७५/८० बर्ष उमेर नाघ्दै गरेका बयोवृद्धहरू तिनताकको शिक्षाको त्यस दुरूह अभ्यासलाई संझिरहेका हुन्छन्। नब्बे बर्षका हाराहारीमा बित्नु भएका मेरो पिता जी पनि यही अनुभव राख्नु हुन्थ्यो। उनै उदित नारायण लाल दासका साखै भतिज हुन् मेरा साथी बच्चु कर्ण। यस पोष्टका तस्वीरमा म संग गफिदै घुम्दै गरेको।

दाजु उदित नारायणले बच्चुका बुबा लक्ष्मी नारायण लाल दासलाई बिहारको आफ्नो गाँउबाट लिई आएका थिए। लक्ष्मी नारायण लाल दासलाई हामी धेरैले पहडिया माष्टर भन्थ्यौं। अचम्भ थियो, उदित नारायण बजारमा बस्थे; जहाँ बढी बनिया ब्यापारीका बच्चाहरूलाई पढाउथे। उनको साख्यै भाई लक्ष्मी नारायण लाल दास भगवतपुर अर्थात रूपनगर गई पर्वते समुदायका धनीमानीका बच्चाहरूलाई पढाउथें। एउटै परिवारका दाजु भाईले छुट्टा छुट्टै समुदायका बच्चाहरूलाई पृथक पृथक स्थानमा रही पढाउने गरेकै कारणले हामी पछिसम्म लक्ष्मी नारायण गुरूलाई “पहडिया माष्टर साहेब” भन्थ्यौं। आजको जस्तो विभेदको शिक्षा पाएर “खसवादी” भनिने चेतले कदापि पनि हामी उहाँलाई पहडिया माष्टर साहेब भनेका थिएनौं।

आज जस्तो कंचनपुर र रूपनगर जोडिएको थिएन। रूपनगर, जो पुरातात्विक महत्वको चन्द्रभागा क्षेत्रको केन्द्र बिन्दु अहिलेको कठमहाल हो, अर्थात काष्ठमहाल-जहाँ राणा शासन काल मै बन बिभागका लप्टेन दर्जाका हाकिम बस्थे। यो रूपनगर र कठमहालको एक-डेढ किमीको उ बेलाको दूरी पार गर्न सबैलाई कठिन थियो। दुई गाँउका बीच मानिस हराउने झारीहरूको जंगल थियो। मानिसहरू हत्तपत्ति यताउता जानआउन डराउथे। रूपनगरमा शुरू देखि नै पर्वतेहरूको घना बसोबास थियो।

सरकारी जागिरमा रहेका बस्नेतहरू, पोखरेल, नेवारहरू, गजुरेल र ढकाल आदिको उल्लेख्य बसोबास थियो। तिनताकमा सबै भन्दा ठूलो सरकारी अड्डा भनेकै वन अड्डा हुन्थ्यो। वन अफिसका लप्टन, जस्को नियुक्ति सोझै काठमांडूबाट तीन सरकारले गर्थ्यो। स्वभावत: वन त्यस बेला सरकारको लागि राजस्वको सबभन्दा ठूलो स्रोत थियो, यसर्थ त्यस उपर प्रत्यक्ष नियन्त्रणका लागि दर्विलो नियुक्ति हुनु ठिकै थियो। यस प्रकारका प्रभावशाली मानिसहरूको छोराहरूले पढन पाएका थिएनन्। यसै निम्ति रूपनगर तिरबाट उदित नारायणलाई बोलाहट भै तत्काल छुट्टै एकजना देसी माष्टरको व्यवस्था गर्न अर्हाईएको थियो। यसो नगरे स्वयं उदित नारायणको नै उठिबास हुने हुँदा उनले आफ्ना भाई लक्ष्मी नारायणलाई कंचनपुर झिकाएका थिए। केही बर्षअघि लक्ष्मी नारायणको देहावसान भयो । मृत्यूपूर्वसम्म पनि लक्ष्मी नारायण गुरू रूपनगर तर्फ नै बढी बस्दथे। हो मेरो गाँउमा शिक्षाको प्रसारमा यी दाजुभाई र पछि यिनैले झिकाएका यिनका भतिज बंशी बिहारी लाल दासको अद्वितीय योगदान छ। उदित नारायणले मेरो बुबालाई पढाउनु भयो। भतिज बंशी बिहारी लाल दासले मलाई अक्षर ज्ञान दिनु भयो। मैले पढन शुरू गर्दाको बखत गाँउमा स्कूल खुलीसकेको थियो। तर, कुनै पुस्तक पसल भने थिएन। कोर्सका पुस्तकहरू सदैव एउटै खाले हुन्थ्यो।

पुस्तकहरू बुबाबाट छोरासम्ममा, दाजु वा दिदीबाट भाईहरुमा सुरक्षित हस्तान्तरण हुन्थ्यो। हामी किताबको बडो जतन गर्थ्यौ। मोटो मोटो गाता लाउथ्यौं। यस्तो अवस्थामा कोर्स बाहिरका किताब पाउनु नै दुर्लभ थियो। यो खाँचो यिनै लक्ष्मी नारायण लाल दासले पुरा गराउनु भयो। दाजु उदित नारायणको सल्लाहबाट यिनले सरस्वती पुस्तक भण्डार खोल्नु भयो। तर, पसलको रुपमा हैन। गाँउमा आईतवार र बिहीवार हटिया लाग्द्थ्यो। वरिपरिको गाँउहरूमा पनि यसरी नै हटियाको चलन थियो। यस्ता हटियाहरू नै किनमेलको मुख्य स्थल हुन्थ्यो। लक्ष्मी सरले यही हटियामा जुटको चट्टी वा गुन्द्री ओछ्याउन लाएर जेठा छोरा उपेन्द्र नारायण कर्णलाई पुस्तक बेच्ने काममा लगाए। यो घुम्ति पुस्तक पसल नै वास्तवमा हामीलाई थोरबहुत रूपमा ज्ञानको भण्डार र संसारसंग जोड्यो।

मलाई अक्षर ज्ञानका लागि जीवनमा पहिलो पटक मनोहर पोथी र वर्णमाला यहीबाट उपलब्ध भयो। मलाई आज लाग्दछ, ती ससाना मनोहर पोथी र वर्णमाला मात्र थिएनन् अपितु मेरा लागि ती पुस्तकहरू उही बेला “ओरेजिन अफ स्पेशिज”, “वेल्थ अफ नेशन्स”, “दास क्यापिटल”, “ग्रामर अफ पोलिटिक्स”, “गोस्पेल अफ फ्रिडम”, “वन डे इन द लाइफ अफ इभान देनिसोभिच” आदि ईत्यादी सबै थिए।

आठ, नौ कक्षा तिर पुगेपछि हामीले त्यहीं चट्टी पसलबाट हिडेन ट्रेजर ग्रामर, केपी बसुको अलजेब्रा, पिसी रेन कम्पोजिशन, रसायण की परिभाषा, एभरेष्ट रिडर पार्ट १ र २ र यादव चन्द्र चक्रवर्तीको गणितहरू पायौं। हाम्रा बाबु बाजे र समाजका अग्रजहरू यहींबाट आर्युवेद, ऋगवेद, साम वेद, चतुर्वेद, गीता, रामायण, महाभारत तथा हनुमान चालिसाहरू प्राप्त गरे। हामीले कोर्सका पुस्तक बाहेक तोता मैना की कहानी, ईन्द्र जाल, नल दयमन्ति, सिरि फरहाद, बाला बिसहरि, हिर रांझा, अकबर बिरवल, अल्हा रूदल, सलहेस, विद्यापति, महाराणा प्रताप, सिवाजी राव, गांधी, नेहरू र तिलकलाई पढ्यौ, चिन्यौ। वास्तवमा म स्वयं र मेरा पुस्ताको निर्माण भयो लक्ष्मी नारायण गुरूको चट्टीमा चल्ने सरस्वती पुस्तक भण्डारबाट।

पसल के थियो, यौट रबर स्टाम्प थियो-सरस्वती पुस्तक भण्डार, कंचनपुर, सप्तरी नेपाल, भाया:पोष्ट कुनौली, बिहार कुँदिएको। उनले झिकाएको सबै पुस्तक र फोटोहरूमा निलो रंगमा यो स्टाम्प हानिएको हुन्थ्यो । नेपालको हाम्रो भू-भागमा आउने सबै चिठ्ठी पत्रमा मुकाममा हाम्रो गाँउको नाम र पोष्टमा बिहारको कुनौली, जिल्ला सहरसा नै लेखिएको हुन्थ्यो तर, हाम्रो अविचलित राष्ट्रीयता नेपाली नै थियो। अहिले जस्तो बात्तैपिच्छे र बेतुकका सवालहरूमा हाम्रो राष्ट्रियता खतरामा पर्दैन्थ्यो।

वाराणसीका केही प्रकाशकहरू हिन्दीका रोचक र उपयोगी पुस्तकहरूलाई नेपालीमा अनुवाद गरी छाप्ने गरेका थिए। नेपाली भाषामा गरूड पुराण, सत्य नारायण भगवानको कथा, ईन्द्र जाल पुस्तक मोहिनीको नाममा अनुदीत थियो। केही पछि देवकोटाको मुना मदन पनि चट्टी पसलमा आयो । हाम्रो गाँउमा त्यसबेला पनि मुसलमानहरूको घना जनसंख्या थियो। तर, एकाध मदरसा मात्र थिए। मदरसालाई ध्यानमा राखी लक्ष्मी सरको पसलले मुसलमानको आमसी पारा, नियत नामा र अली वे जस्ता पुस्तकहरू झिकाएको हुन्थ्यो। हो, निसन्देह धेरै पुस्तकहरू हिन्दी भाषाको नै थियो।

मलाई आजपनि याद छ, यी मध्येका प्रायस: पुस्तकहरू “बाबू ठाकुर प्रसाद एण्ड सन्स, कचौडी गली, वाराणसी”, “लोकनाथ पुस्तकालय, गाबिन्द मित्रा रोड, कलकत्ता” र “प्रसाद एण्ड को. खजांची रोड, पटना” बाट प्रकाशित एवं मुद्रीत थियो। उ बेला पुलीसहरू आएर राजाको फोटोहरू झिकाएर बेच्न भन्थे। “श्रीहितैषी कंपनी, कर्णघंटा, वाराणसी” राजाका फोटोहरू छापेर पठाउथे। यस प्रकाशनका मालिक वाराणसीमै रहने नेपालीहरू लखन केसी, मखन केसी थिए। यिनै केसीद्वयका दिदी अम्बिका केसी पछि सप्तरी जिल्लाको सिडिओ भएर आई।

भगवानको फोटोमा सरस्वती र महादेवको फोटो हरबखत बिक्री हुन्थ्यो। प्रायस: हरेक विद्यार्थीले अवश्य नै सरस्वतीको फोटो राख्ने गरेका थिए। दिपावलीमा लक्ष्मीको, दुर्गा पूजामा भगवतीको फोटोहरू खुबै बिक्री हुन्थ्यो। यस्ता फोटोका चित्रकार आर. के. शर्मा, राजा रवि रायहरू थिए। भारतका यी सुविख्यात चित्रकारहरूले ढुंगाका मूर्तिको रूपमा ईट र पथ्थरका किल्ला जस्ता राजा महाराजहरूको कडा नियन्त्रणमा रहने मन्दीरहरूबाट देवी देवतालाई सर्व साधारणको घरका भित्ताहरूसम्म पुर्याउन ठूलो भूमिका निभाएका छन्। मेरो विचारमा त यी चित्रकारहरूले हिन्दू धर्मका धर्मांध ठेकेदारहरूको असहिष्णु चंगुलबाट हिन्दू देवी देवतालाई हिन्दू दलितहरूको पनि आँखाको नानीमा प्रवेश गराए, जुन समुदायलाई वेद पढनु त के सुन्नु पनि वर्जित थियो। सुन्नेको कानमा सिसा पघालेर हाल्ने गरिन्थ्यो।

सरस्वती पुस्तक भण्डार धेरै पछि बजारको काठे गुम्टीमा प्रवेश पायो। मधेसका बजारहरूमा काठबाट बनाईने ससाना घर जस्तै गुम्टीहरू हुन्छन्। बहुधा यस्ता गुम्टीमा पानका पसलहरू राख्ने गरिन्छ। यस्तै एक गुम्टीमा मेरो साथी बच्चु कर्णले सरस्वती पुस्तक भण्डारलाई स्थान्तरित गरेर नाम बदले “शारदा पुस्तक भण्डार”। तरपनि मेरो गाँउमा चट्टी पसल चली नै रह्यो। यो बिडों थाम्न आई पुगे रामचन्द्र झा र उनका छोरा राधे झा। यी बाबु छोराले पनि त्यसपछि बर्षौसम्म हाट बजारमा पुस्तकहरू बेची रहे।
उमेरमा शायद २/३ बर्ष जेठो भएर पनि यो बच्चु मेरो साथी भयो । यसको कारण थियो, मलाई पुस्तक मन पर्दथ्यो। बच्चु पुस्तक पसले थिए।

धेरै समयपछि मैले मेरो गाँउको धुलाम्मे बाटोमा मेरो बाल सखा बच्चुलाई भेटें। खुब सम्झे पुराना कुराहरू। नहरको बाटो हिडेर धेरै हाँसे। रमाईलो गरे। यसै गरी बित्ने छन्-दशैं पछिको तिहार।

लेखक जयप्रकाश आनन्द राजनीतिज्ञ हुन् । उनी वौद्धिक नेताका रुपमा परिचित छन् । ‍प्रस्तुत सामग्री फेसबुक बाट साभार गरिएको हो । सं. 

 

Author:



क्याटोगरी छान्‍नुहोस