कञ्चन यादव

गत कार्तिक २ गते सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्निया ३५ वर्षिय दिलिप मण्डल खेतबारीमा विद्युतीय मोटर चलाउन गएका थिए । मोटर चलाउने क्रममा करेन्ट लागेर उनको तत्काल मृत्यु हुन गयो ।
असोज १६ सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित खेतमा मोटर चलाउने क्रममा ६० वर्षिया रुवा देवी यादवलाई करेन्ट लाग्न गयो । उनको तत्काल घटनास्थलमै मृत्यु भयो ।
असोज ४ गते विहान लहान नगरपालिका–२३ गाढा गाउँका ३८ वर्षिय विजेन्द्रकुमार सहनी विद्युतीय मोटरबाट धानखेतमा पानी पटाउन गएका थिए । मोटर जडान गरिरहँदा उनलाई अचानक करेन्ट लागेर अकालमै तत्कालै संसार छाड्न बाध्य भए ।
अर्को घटना पनि यसरी नै भयो । गत भदौ २० गते सप्तरीको खडक नगरपालिका ११, बनौलीका ३८ वर्षिय अजय कुमार साहले पनि यसरी नै अकालमा ज्यान गुमाउन पुगे । एउटा अङ्कुशे विद्युतीय तारमा अडिए भने अर्को फेज अड्किन नपाई जिउमै झर्न पुगेर उनको घटनास्थलमै मृत्यु भयो । ।
भदौ १६ गते रौतहटको बौधीमाई नगरपालिका–४, इनरबारीका ५२ वर्षीय किसान अजयनारायण मिश्रको समेत असावधानीले गर्दा खेतमै ज्यान गयो । उपचारका लागि अस्पताल भर्ना गरिए पनि उनलाई बचाउन सकिएन । यसैगरी साउन २३ गते सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, कटैयाका ४२ वर्षिय किसान शम्भु ईशरको समेत विद्युत मोटर झिक्ने क्रममा असावधानीले गर्दा ज्यान गयो ।
यी त भए मात्र प्रतिनिधिमूलक घटना । अहिले मधेश प्रदेशमा करेन्ट लागेर किसानको अकालमै मृत्यु हुने क्रम बढ्दो छ । केही दिनको फरकमा मोटर जडान गर्ने, छुटाउने, तारमा हुकिङ्ग गर्ने क्रममा तथा खेतमा बिछ्याइएको विद्युती तारमा करेन्ट लागेर अकालमा ज्यान गुमाउने किसानको सङ्ख्या बढ्दो छ ।
विद्युतबारे सामान्य जानकारी नभएका किसानहरु जोखिम मोलेर पनि धान खेती जोगाउने क्रममा आफ्नै ज्यान गुमाउनुपर्ने बाध्यता छ । आफ्नो ज्यान गुमाएर पनि झुपडीदेखि ठूला महलमा बस्नेसम्मका व्यक्तिहरुको मुखमा गाँस पुर्याउने मधेशका किसानले यसरी ज्यान गुमाउनुपर्ने बाध्यता सामान्य जस्तो लाग्ला । तर, होइन, ज्यान गुमाएका किसान जो घरको एक्लो सहारा थियो । जसको मेहनत पसिनाले जेनतेन परिवारजनको छाक टार्ने जोहो हुन्थ्यो ।
यस्ताे छ तथ्याङ्क
धेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्क अनुसार विगत तीन वर्षमा प्रदेशमा करेन्ट लागेर ३२४ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक वर्ष २०७९/०८० मा ११०, २०८०/०८१ मा ८४ र २०८१/०८२ मा १३८ जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् तर पुरुषको संख्या सर्वाधिक छ । (हेर्नुहोस् तथ्याङ्क) अन्य असावधानीले मृत्यु हुने गरेको भए पनि खेतमा मोटर जडान गर्ने, झिक्ने, हुकिङ्ग तथा असावधानीका कारण करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या यो प्रदेशमा अत्यधिक रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापा बनाउँछन् ।

ज्यान गुमाउनुको मुख्य कारण
सञ्चारमाध्यमहरुममा प्रकाशित/ प्रशारित समाचार अनुसार चालु आ.व.को साउन र भदौमा करेन्ट लागेर किसान मारिनेको सङ्ख्या अत्यधिक छ । किनभने साउन भदौ खेती गर्ने मुख्य समय हो । करेन्ट लागेर ज्यान गुमाउनुको मुख्य हो कारण विद्युतबारे जानकारी अभाव र असावधानी । खेती गर्न किसानहरुले आआफ्ना खेतमा प्रायः बोरिङ्ग जडान गरेका छन् । प्रायः किसानले कृषि मिटर लिएको भए पनि ती मिटरहरु स्थायी रुपमा जडान गरेर राखिएको हुँदैन । थोरैमात्रले काठको फल्याकमा ठड्याएर राखेका हुन्छन् । धेरैले खेतमा पानी आवश्यक रहेको बेला अस्थायी रुपमा मीटर ठड्याए विद्युतीको मुख्य तारमा अङ्कुशे लगाउँछन् । त्यस क्रममा दुई फेजको अङ्कुशेमध्ये एउटा तारमा अडिने र अर्को झरेर जिउमा छुन गई कतिपय किसान ज्यान गुमाउन बाध्य हुन्छन् ।
तारमा अङ्कुशे लगाउन सफल भए पनि कृषि मिटरबाट दुईओटा नाङ्गो तार निकालिएको हुन्छ । उक्त नाङ्गो तारमा मोटरमा प्रवाह गर्न नाङ्गो तारमा सटाउने गरिन्छ । खेतमा पानी पुगिसकेपछि पुनः हातले मोटरको नाङ्गो तारबाट छुटाइने गरिन्छ । जबकि बोरिङ्ग भएको ठाउँमा सकेट बोर्ड तथा मोटरमा विद्युत प्रवाह गर्न गुणस्तरीय पावर प्लग अनिवार्य रुपमा आवश्यक हुन्छ । नाङ्गो तारहरुका जोखिम बीच किसानहरु खेतमा पानी पटाउने गर्छन् । सामान्य रुपमा अड्याई नाङ्गा तारहरुमा मोटर जडान गर्ने र छुटाउने क्रममा प्रायः करेन्ट लाग्ने गरेको पाइएको सप्तरीका सामाजिक अभियन्ता एवम् अगुवा किसान धर्मनाथ यादव बताउँछन् ।


धान खेतको आलीहरुमा अहिले यसरी एक प्रकारको विद्युतीय धराप ओछ्याएका हुन्छन् । प्रायः किसानको खुट्टामा जुत्ता वा चप्पल हुँदैन । दिनमा त तार ओछ्याइएको सहज देखिन्छ तर रातीको अँध्यारो भने तार ओछ्याइएको राम्ररी देखिदैन । खुट्टा नाङ्गो तार छुन गई करेन्ट लाग्ने गर्दछ । कतिपय अवस्थामा करेन्टको झट्का लागेर ज्यान जोगिएको अनुभव अधिकांश ग्रामिण किसानहरुले गरेका छन् । खेत जाने क्रममा पनि करेन्टको शिकार हुने गरेका छन् ।
रुपनी गाउँपालिका–४ किसान सिंहेश्वर साहका अनुसार खडेरीको अवस्थामा पनि ग्रामिण भेगमा प्रायः दिनमा पटक–पटक विद्युत लाइन कट्ने समस्या छ । त्यसैले प्रायः रातीको समयमा विद्युतीय मोटर जडान गर्नुपर्ने बाध्यता छ । केही समयको फरकमा पटक–पटक लाइन काटिने समस्याले गर्दा मोटर पानी दिन बन्द हुँदा खाली मोटर चलिरहन्छ । बिना पानीको खाली मोटर चल्दा जल्ने समस्या अत्यधिक हुन्छ । त्यसैले किसानहरु दिउँसो भन्दा रातीको समयमा टाढाटाढाको खेतहरुमा हुन्छन् । कतिपय त खेतमै मचान बनाएर बस्ने गरेका छन् ।

सावधानीबारे अनभिज्ञ किसान
करेन्ट लाग्नबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीबारे धेरै किसान अनभिज्ञ छन् । कतियले यस्तो जोखिमलाई सामान्य रुपमा लिने गरेका छन् । सङ्घीय सरकार पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवका अनुसार अकालमा ज्यान गुमाउनबाट जोगिन सचेतना जगाउनु आवश्यक छ । उनको विचारमा नेपाल विद्युत प्राधिकरणले किसानलाई कृषि मिटर उपलब्ध गराएपछि मात्र दायित्व पुरा हुँदैन । प्राधिकरण किसानको खेतमा गई सुरक्षित स्थानमा स्थायी रुपमा मिटर जडान गरिदिनुपर्दछ । किसानले पटक–पटक लगाउने र छुटाउने गरेकाले स्थायी रुपमा पोलबाट स्थायी कनेक्सन गरिदिनु आवश्यक छ । यो समस्या समाधान भएपछि किसानलाई अङ्कुशे लगाउने र छुटाउने क्रममा हुने गरेको अकाल मृत्युको घटनामा कमी ल्याउन सकिन्छ ।

आफ्ना नागरिकलाई करेन्ट लाग्नबाट जोगाउन समुचित व्यवस्थापनतर्फ पालिका तथा वडाका जनप्रतिनिधिहरुले पहलकदमी लिनु जरुरी छ । विद्युतीय जोखिम कम गर्न सचेतना जगाउने कार्यमा विद्युत प्राधिकरणका साथै तीनै तहका सरकारले सचेतना जगाउन सञ्चारमाध्यमहरुको समेत सहयोग लिन सकिने पूर्वमन्त्री यादवको भनाइ छ ।
बेखबर विद्युत प्राधिकरण
पछिल्लो समय करेन्ट लागेर किसानको मृत्यु हुने क्रम बढेकोमा नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालयका जनकपुरधामका प्रमुख मनोज यादव चिन्ता व्यक्त गर्छन् । कृषि मीटर स्थायी रुपमा गरिदिनुपर्ने दायित्व प्राधिकरणको भए पनि स्थायी रुपमा कनेक्सन गराउन किसानहरुले नै नमानेको उनको भनाइ छ । उनी थप्छन् ‘किनभने उनीहरुको पनि आफ्नै बाध्यता छ, ५ कठा यता १० कठा उता तीन कठा त्यता हुन्छ, यस्तो अवस्थामा मिटर फिक्स गरिएपछि किसानलाई झन समस्या हुन्छ, त्यसैले काम परेको बेला प्रयोग गर्ने र फेरी घरमै लगेर मीटर राख्ने गर्छन् ।’

हामीतिर अत्यधिक प्रयोगमा रहेको खुद्रे मोटरबाट सिंचाइ गर्ने तरिका वैज्ञानिक नरहेकोले सानो व्यवस्थित घर बनाई प्यानल राखेर मोटरमा स्वीच अन–अफ गर्ने व्यवस्था गरियो भने सिंचाई पनि राम्रो हुने र करेन्ट लाग्ने जोखिम पनि कम हुने प्राधिकरणका प्रमुख यादवको भनाइ छ । अधिकांश घटनाहरु असावधानीकै कारण हुने गरेको स्वीकार्दै उनी भन्छन् ‘करेन्ट लाग्नबाट जोगिने उपायबारे नै किसान अनभिज्ञ छन्, अर्कोतर्फ खेतमा पानी हाल्नुपर्ने बाध्यता हुन्छ, कुन फेजमा हुकिङ्ग गर्नेसम्मको पनि जानकारी हुँदैन, तार पनि गुणस्तहिन हुन्छन् ।’
आवश्यक छ सुरक्षा सतर्कता
उनका अनुसार अङ्कुशे लगाउने कार्य नगर्ने, स्थायी रुपमा कृषि मिटर जडान गर्ने, तार जडान गरिएको जोडहरुमा गुणस्तरीय टेप लगाउने, पानी परेको बेला तथा रातीको समयमा खेत जानुपर्दा अनिवार्य रुपमा पैताला छोपिने जुत्ता वा चप्पल लगाउने, रातीको समयमा खेत जाँदा टर्च लाइट बालेर राम्ररी बाटो हेरेर हिँड्ने, पानी परिरहेको बेलामा मोटर तथा ट्युवेल नछुने, छुनै पर्ने अवस्था भए विद्युत अवरोधक गुणस्तरीय पञ्जा लगाउने, कसैलाई कारणवश करेन्ट लाग्न गएमा मेन स्वीच काट्नुपर्दछ ।

करेन्ट लागेको अवस्थामा हात वा जीउले नछुने, बाँस फट्ठा, लट्ठी, काठ वा विद्युत प्रवाह नहुने वस्तुले छुटाउने, विद्युत कटेको भनी हातले तार जडान वा मरम्मत नगर्ने, बोर्ड, पावर सकेट तथा पावर प्लग अनिवार्य रुपमा प्रयोग गर्ने, कथम कदाचित कसैलाई करेन्ट लागेमा सावधानीपूर्वक छुटाएर स्वास नचलेको अवस्थामा मुखमा मुख जोडेर स्वास दिने, छाती थिच्ने, होसमा नआए तत्काल अस्पताल वा स्वास्थ्य संस्थामा लग्ने, करेन्ट लागेको स्थानमा तत्काल पानी वा मल्हम नलगाउन जस्ता उपायहरु अपनाउन सकिने प्राधिकरण प्रमुख यादवको भनाइ छ ।
किसानलाई सहयाेग र सचेतना
करेन्ट लागेर मृत्यु हुनबाट जोगाउनका लागि सामान्य प्रशिक्षण दिएर किसानलाई विद्युत जोखिमबाट जोगिन हाते पञ्जा, गम बुट, पिलास, टेस्टर, टेप, टर्चलाइट सहितका सामग्री सहितको किट स्थानीय तहहरुले उपलब्ध गराउनुपर्ने अभियन्ता सरोज कुमार रायको तर्क छ । विजुलीको डायरेक्ट तारलाई मोटरमा जडान गरिएको हुनाले बोरिंगबाट पानी निकाल्ने क्रममा अत्यधिक घटना हुने गरेको उनको भनाइ छ । किसानलाई विद्युतबारे जानकारी नभएको अवस्थामा सुरक्षाका उपायहरुबारे तालिम दिई स्थानीय सरकारले आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने नागरिक अगुवा रायको तर्क छ ।
करेन्टबाट जोगिनका लागि सुरक्षित तार र उपकरण प्रयोग गर्नु, घरमा अनिवार्य रूपमा अर्थिङ र आरएसबी/एमसीबी जडान गर्नु, पानी नजिक करेन्ट चलाउँदा विशेष सतर्कता अपनाउनु, भिजेको हातले स्विच नछुनु, बालबालिकालाई सचेत गराउनु र मर्मत गर्दा मुख्य स्विच बन्द गरी रबरको पञ्जा–चप्पल प्रयोग गर्नुपर्ने विद्युतीय सुरक्षा विशेषज्ञहरूको सुझाव छ । सिँचाइ र घरेलु विद्युतीय उपकरण प्रयोग गर्दा सुरक्षित अभ्यास अपनाउन समुदाय स्तरमै सचेतना जगाउनुपर्ने तथा किसानको खेतखेतसम्म विद्युत सुविधा पु्याउनुपर्ने सामाजिक अभियन्ता रायको भनाइ छ ।
स्थानीय सरकारकाे भूमिका
ग्रामिण भेगका खेतमा पानी हाल्नका लागि गरिने हुकिङ्ग, तार जडान तथा नाङ्गो तारमा छुन गई करेन्ट मृत्यु हुने क्रम बढ्दो क्रममा रहेको लहान नगरपालिकाका मेयर महेश चौधरी स्वीकार्छन् । समाजमा जनचेताको कमीकै कारण अकालमा मारिनेको सङ्ख्या अत्यधिक रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनी भन्छन् ‘करेन्ट लागेर मान्छेको अकालमै मृत्यु हुनु दुःखद् हो, स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम चलाउनुपर्ने आवश्यकता महशुस गरेको छु, प्रशिक्षण दिएर आवश्यक उपकरणहरु उपलब्ध गराउनु आवश्यक छ ।’ करेन्ट लागेर मृत्यु हुने क्रम बढ्दो क्रममा रहेकोले आफ्ना जनतालाई सुरक्षित राख्न सम्पूर्ण स्थानीय तहले प्राथमिकताका साथ पहलकदमी लिनुपर्ने मेयर चौधरीको स्वीकारोक्ति छ ।सम्पादन तथा तस्विर :श्यामसुन्दर यादव/मधेशलाइभ