राजविराज । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आइतबार साँझ विद्युत् सर्ट भएर एलईडी लाइट खसेपछि एक नवजात शिशु घाइते भएका छन्। घटनापछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ।
घटनापछि आक्रोशित आफन्तहरू एनआईसीयूमै प्रवेश गरी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साहमाथि हातपात गरेका छन्। उनीहरूले अस्पताल परिसरमा रहेका डस्टबिनमा आगोसमेत लगाएका छन्।
घाइते नवजात शिशु रुपनी गाउँपालिका–३ की रेखा यादवका हुन्। शिशुलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको अस्पताल स्रोतले जनाएको छ।
हातपातपछिका घटनाक्रमपछि अस्पतालका चिकित्सकहरूले एनआईसीयू र आकस्मिक कक्षको सेवा बन्द गरेका छन्। चिकित्सकहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
एनआईसीयूमा उपचाररत अन्य तीन नवजात शिशुलाई पनि बाहिरी अस्पतालमा सारिएको छ । चिकित्सक नहुँदा आकस्मिक कक्षमा रहेका करिब २५ जना बिरामीकाे उपचारविहीन अवस्था भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।