कन्चन यादव

काठमाडौंबाट आफ्नो गाउँ खुरहुरिया जानका लागि म अत्यन्तै उत्साहित थिएँ । कैयौं महिनापछि जन्मथलो फर्किदाको खुशी शब्दमा वर्णन गर्न साध्य छैन । लामो काठमाण्डौ बसाइले गर्दा मन उकुस–मुकस भइरहेको थियो । मनमा अनेकौं कुराहरु चल्दै थियोे ।
पहिला यस्तो थियो मेरो गाउँ । अहिले खै कस्तो भयो होला ? शायद निक्कै बदलिएको होला । घरबाट फोन आउँदा बुवाले सुनाउनुभएको थियो कि दशकौंदेखिको अलपत्र हुलाकी सडक कालोपत्रे भयो अरे । सदरमुकाम राजविराजबाट रिक्सा पनि जान नमान्ने अवस्था अब अन्त्य भएको छ । गाउँबाटै थुप्रै ई–रिक्साहरु चल्न थालेका छन् । सुविधासम्पन्न बसहरु समेत मेरो गाउँ हुँदै हुइँकिन थालेको छ ।
लामो समयपछि घरमा हामी भाइबहिनीसँग भेटेर अत्यन्त खुसी हुनेछौं । आदि इत्यादि मनमा खेलिरहेको थियो । विहानैदेखि हामी तयारी थियौं । बस चढ्ने बेला भइसकेको भनी भिनाजुले सम्झाएपछि झिटीगुन्टा बोकेर सातदोबाटोतर्फ लाग्यौं । एकैछिनको पर्खाइपछि बस हामी प्रतिक्षरत ठाउँमै रोकियो ।
खुशी हुँदै हामी सबैजना बसभित्र छिर्यौं । हिमांशी र म एक ठाँउ बसेँ । उनी लगभग तीन वर्षकी थिइन् । दिदी–भिनाजुसँगै थिए १७ महिनाका बाबु कियांश । उनी जिद्दी अनि चकचके स्वाभावका थिए । हाम्रो यात्राको शुभारम्भ मात्र भएको थियो । त्यतिकैमा कियांश सिटबाट ओर्लिन थाले । काखमा बसाउन खोज्दा रुने, अनि समात्न पनि नदिने, घरी एता घरी उता गर्न थाले । केहीबेर अरुको सिटमा बस्ने अनि बिच–बिचमा मेरो सिटमा पनि आएर बस्ने । एकै छिनमा फेरी मिमी… घरी ड्याडी… भन्दै कराउने । बाबुको शैली देखेर अलि–अलि रिस पनि उठ्थ्यो ।
बस आफ्नो रफतारमा गन्तव्यतर्फ लम्किदै थियोे । बाटोमा घरिघरि बस रोकिन्थ्यो पनि । बसमा चना, मकै, पुष्टकारी, आलुचिप्स…भन्दै बेच्न आतुर देखिन्थे । बस अगाडि बढ्न थालेपछि उनी फुत्त ओर्लिन्थे । बसमा बेच्न आएका हरेकको खानेकुरा हिमांशीलाई चाहिने रे । जसरी भए पनि उनी ती खानेकुराहरु किनाएरै छाडथिन् । बसयात्रामा थोरै मात्र संयोग जुरेकाले मलाई आनन्ददायक अनुभूति भइरहेको थियो ।
घुमाउरा बाटोहरु लगभग कट्नै लागेको थियो । बिस्तारै मान्छेको गाइँगुइँ बन्द भएपछि गाडीको इन्जिनको आवाज मात्रै सुनिन्थ्यो । छेउमै बसेकी केटी चुपचाप बसिरहेकी थिइन् । तपाइँको घर कहाँ हो ? भनी कुराको शुरुवात गरेँ । गोलबजार भनी जवाफ फर्काइन् । उनी दुबइबाट रातिको फ्लाइटमा आएकी रहिछे । हाम्रो कुराकानी अगाडि बढेको थियो । त्यतिकैमा बस रोकियो । चिया–नास्ता खानका लागि सबैजना बसबाट धमाधम ओर्लिदै थियो । भिनाजुले के खाने ? भनी मलाई र हिमांशीलाई सोध्नु भो । मोमो खाने अनि जुस पनि खाने भनी तुरुन्तै हिमांशीले जवाफ फर्काइन् । उनको फर्माइस पुरा भयो ।
कञ्चन, ओ कञ्चन, मामा घर कतिबेला पुग्ने ? भनी पटक–पटक जिज्ञासा गरिरहन्थिन् । ‘बिहानको पहिलो किरण बसमा पर्छ अनि हामी मामा घर पुग्छौ । राति बसमा हिमांशी आरामले निदाइन् । कियांश पनि निदाए । बसको बत्ती काटिएका कारण चकमन्न अध्यारो जस्तै थियो । शोरगुल कहीँ कतै थिएन । बिचबिचमा कियांस रुन थालेपछि दिदी–भिनाजुले मोबाइलको लाइट बालेर कियांशलाई खेलाउने गर्दथिन् ।
बसका सबै यात्रु निद्रामा थिएँ । मेरो पनि कुनबेला आँखा लाग्यो थाहै भएन । सहचालक ले ढोकामा जोडले पिट्दै ल ल…सबैजना उठौं । खाना खान जाउँ भन्दै जोडले कराएपछि कोही आँखा मिच्दै त कोही हाइ काढ्दै ओर्लिए । सबैजना होटेलतर्फ लागे । हामी पनि घरमा पकाएको फ्रेन्च फ्राइ र चाउचाउ फ्राइ लिएर होटेलमा बसेका थियौँ । खाना पनि टेबुलमा आइसकेको थियो । हामी खाना खायौँ । कियांश केही खान मानेन तर हिमांशी भने फ्रेन्च फ्राइ खाइन् ।
म बसमा चढ्दा साथीले हिमांशीलाई आफ्नो सिटमा बस्न भन्दै थिईन् । तर, हिमांशी बस्न मानिन । त्यसपछि बसका सहयात्रीसँग विस्तारमा कुराकानी शुरु भयो ।
‘मेरो नाम काब्या हो । मेरो घर सिरहाको गोलबजार हो । म स्टुडेन्ट भिसामा दुबई गएको थिएँ । गएको तीन महिना मात्र भएको थियोे । बिदा दिएकोले घर फर्किदै छु ।’
‘अनि तपाईं काम पनि गर्नु हुन्छ ?’ मैले जिज्ञासावस सोधेँ । ती सहयात्री एकछिन मौन रहिन् । मैले उनको अनुहारतर्फ नजर दौडाएँ । आँखामा आँसु टिलपिलाउन लागेको थियो । बहिनी, भनेजस्तो विदेश कहाँ सहज छ र ?
उनका हरेक वाक्यमा सङ्गघर्ष र पिडा लुकेको थियोे । सहयात्रीले अनुहार अलि हसिलो बनाउदै भनिन् ‘म काम पनि गर्दै छु, बिना कामको कसरी बस्ने ? उता बस्नै गाह्रो हुन्छ ।’ नेपालमा राम्रो कलेजको फी पनि धेरै पर्छ । नेपालमा शिक्षामा सर्वसाधारणको पहुँच भइदिएको भए यही बस्थे नि !
‘बिदेश पैसा अनि रोजगारीकै लागि हो कि ? उनको कुरा सकिन नपाउँदै मैले अर्को जिज्ञासा थपिहालेँ । लामो सास फेर्दै सहयात्रीले जवाफ दिन थालिन् ‘मैले काम खोज्न जाँदा अङ्ग्रेजीमा कुरा गर्नुपथ्र्यो । त्यसपछि देशको नाम सोधेर ‘पछि फोन गर्छु’ भन्थे ।
अर्को ठाँउमा पनि पछि फोन गर्ने भनी टार्ने जवाफ आउँथ्यो । दस भन्दा बढी ठाउँमा गएँ तर काम पाइएन । हुँदाहुँदै सप्ताहको दुई दिन कक्षा हुन्थ्यो । त्यसपछि खाना पकाएर खान्थे फेरि कामको खोजीमा दिनभर प्रमाणपत्र बोकेर घरी एता घरी उता कुदिरहेँ ।
अन्ततः रिसेप्सनमा काम पाएँ । सुरुमा दुबइको २५००० रियाल दिइरहेकाे छ । काम गर्दै गएपछि बढ्ने आश्वासन पाएको छु। महँगाे ठाउँ भएकाेले थाेरै मात्र बचत हुन्छ । एक्लो हुँदाको अनुभव मैले सहेको छु । अप्ठ्यारो पर्दा कोही आफन्त थिएन । शहर बिरानो लागिरहन्छ । रोडमा हिड्दा टोलाएर हिड्दै कतिखेर बाटो काटेको अनि कोठा पुगेको थाहै हुदैन ।
स्टुडेन्ट भिसामा रहेकी काब्याले मनको बह पोख्दै गइन् । बसमा एक प्रकारको सन्नाटा जस्तै थियो । किनभने यात्रुहरु मस्त निद्रामा थिए । बसले बाटो काटे झैं उनको कुरा पनि अगाडि बढिरहेको थियो ।
घरमा पनि छोराछोरी विदेश गएको मनपर्ने हुँदा हुँदै गर्ब पनि गर्छन् । तर विदेशमा हामीले भोग्नुपरेका पिडाबारे चिन्ता न त घरपरिवारलाई छ न त सरकारलाई नै चासो छ । नेपाली हो भन्दै हेप्ने अनि काममा पनि राख्न मान्दैन । त्यहाँ नेपाली कामै लागेन, हिन्दी या त अङ्ग्रेजीमा बोल्नुपर्छ ।
कुरैकुरामा हामी चढेको बस गोलबजार पुग्नै लागेको थियो । ढोकामा हत्केला बजार्दै सहचालकले भने ‘गोलबजार छ भने गेटमा आउनु ।’
‘यहाँ छ’ भन्दै सहयात्री काब्या हतार–हतार हात हल्लाउँदै बसबाट तल झरिन् । डिकीबाट सामान झिकेपछि बस फेरी अगाडि बढ्न लागेको थियो । मैले हातको इसाराले ‘बाइबाइ’ भने । गाडी गन्तब्यतिर लम्किएसँगै सहयात्री पनि हात हल्लाउँदै विहानको झिसमिसेमा आँखाबाट ओझेल भइन् । मोबाइल स्क्रीनमा नजर दौडाउँदा बिहानको ४ बज्दै थियोे ।
साथीसँग अझैं मैले धेरै कुरा सुन्नु थियो । हाम्रो कुराकानी अधुरै रह्यो । खै, अब कहिले भेंट होला ? उनीसँग । म कस्तो बेपरवाह रहेछु, मोबाइल नम्बर पनि लिन सकिनँ । नानाथरिका कुराहरु मनमा खेलाउँदै झ्यालबाट आकाशको तारा हेर्दै गर्दा कतिबेला निदाउन पुगेछु थाहै भएन ।
आँखा खोल्दा गाउँ नजिक आइपुगेको थिएँ । हिमांसीलाई उठाएँ । दिदी–भेनाजु त रातभरी आँखा पनि राम्ररी बन्द गर्न पाएन । छोरो कियांसले हैरान पारेका थिए । ‘खुरहुरिया खुरहुरिया’ भन्दै ढोकामा सहचालकले हात ढोकामा बजारे । ‘म हो खुरहुरिया’ भन्दै जोडले बोलेँ । रफ्तारमा रहेको बस रोकियो । हामी सबैजना पालैपालो झर्यौं ।
हामीलाई लिन मम्मी–पापा आउनु भएको थियोे । चौकमा बसबाट झर्दा मैले चारैतर्फ आँखा दौडाएँ । मेरो प्यारो गाउँ बदलिएको देखेर म अत्यन्त उत्साहित भएँ । टोलतर्फ पाइला अगाडि बढाएँ । अलिअलि पानी परेकोले बाटो हिलाम्मय थियो । डगर छेउमा बाँधिएका गाइभैंसीलाई कोही घाँस दिँदै गरेको त कोही भैंसी दुहदै गरेको देखेँ । घरको छानोमाथि घिरौला, फर्सी र लौका फलेको देखेँ । म अत्यन्त आनन्दित भइरहेको थिएँ । किनभने मेरो गाउँ जहाँ मैले बाल्यकाल बिताएको हुँ । मेरा असङ्ख्य सम्झनाहरु मेरो गाउँ र परिवेशसँग छ ।
घर अगाडि पुग्दा बहिनी कामिनीले हाँस्दै हातबाट झोला बोकिन् । घरमा जन्माष्टमीको मूर्ती बनाएको रहेछ । पहिला हामी देबघरा अगाडि शीर निहुराउँदै ढोग्यौँ । काठमाण्डौको लामो बसाइपछि घर जान पाएकोले परिवारका सदस्यहरुसँग भेट्न पाउँदा म अत्यन्तै हर्षित भएँ । मभन्दा बढी खुशी त हिमांशी र कियांश थिए । किनभने भर्खर ब्याएको भैंसी अनि बाख्राका बच्चा देखेर उनीहरु पनि दङ्ग थिए । परिवारका सदस्यहरुसँग म भेंटघाटमा व्यस्त भएँ । किनभने मिडिया एक्सन नेपालले आयोजना गरेको पत्रकारिता तालिमका लागि मात्र तीन दिनपछि मलाई काठमाण्डौ फर्किनु थियो ।
Cover Pic. AI Generated