सिडियो कार्यालय अगाडि आज पनि जसपा नेपालको धर्ना

राजविराज । संविधान संशोधन लगायत २८ बुँदे माग साहित जनता समाजवादी पार्टी (जसपा) नेपालको पूर्व घोषित कार्यक्रम अनुसार आइतबार पनि नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

पार्टीले यस अघि चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गर्ने निर्णय अनुसार देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना कार्यक्रम राखिएको पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् । कार्यक्रममा जिल्लामा उपलब्ध पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति, समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश लगायतका संवैधानिक मुद्दामा तत्काल संशोधन लगायत २८ बुँदे माग अघि सारेका छन् ।

पार्टीले सार्वजनिक गरेको कार्यक्रम अनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान सम्पन्न भइसकेको नेता साहले जानकारी दिएका छन् ।

मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना कार्यक्रम रहेको साहले जानकारी दिएका छन् । पार्टीका केन्द्रीय सचिव साहका अनुसार मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला–स्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिनेछ ।

प्रदेश–स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज÷भैरहवामा गर्ने भव्यताका साथ सम्पन्न गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस