समय, स्मृति र वियोगबीच अटल रोशन दाइ

श्यामसुन्दर यादव ‘पथिक’

श्यामसुन्दर यादव ‘पथिक’

मृत्यु सास्वत सत्य हो । आजसम्म मृत्युलाई कसैले जित्न सकेको छैन । यसलाई कसैले टारेर पनि टार्न सक्दैन । आखिर एक न एकदिन यो संसारलाई छाडेर जानु नै पर्ने हो । जब शरीरलाई प्राणले साथ छाडिदिन्छ तब त्यो सुन्दर कायाको औचित्य पनि अन्त्य हुन्छ । तर उनीसँग विताएका पल तथा असङ्ख्य यादहरु मात्र जीवन्त रहन्छ ।

जीवनभरी साथ दिने बाचाका साथ जीवनयात्रामा आएकी सहयात्रीले आफ्नै आँखा अगाडि अन्तिम सास लिँदाको दुखान्त पीडा शब्दमा वर्णन गर्न साध्य छैन । यस्तै जीवन सङ्गीनी वियोगको असहय पीडा वरण गर्न बाध्य हुनुभएको छ वरिष्ठ साहित्यकार एवम् बामपन्थी पथगामी रोशन जनकपुरी । निष्ठा, विचार र आदर्शवान व्यक्तित्व जनकपुरीले जीवनमा थुप्रै कठोर सङ्घर्षलाई चिर्दै आउनुभएको छ । प्रतिकुलतामा पनि जीवन जिउनमा अभ्यस्त उहाँ अन्धधार्मिकता, कर्मकाण्डी व्यवहार, आडम्बर तथा कुप्रथा एवम् कुसंस्कार कट्टर विरोधी हुनुहुन्छ । केवल व्यक्तित्वका कारण मात्र होइन, सादगीपूर्ण जीवन, कार्यशैली, सोच एवम् समाजपरिवर्तनका लागि चाल्नुभएका कदमले नै उहाँको पृथक पहिचान स्थापित छ ।

माओवादी जनयुद्धकालमा भूमिगत जीवन समेत विताउनुभएका उहाँकी पत्नी विमलादेवी कर्णको गत मङ्सिर ७ गते ६७ वर्षको उमेरमा निधनको खबरले म स्तब्ध भएँ । अत्यन्तै सरल एवम् सादगीपूर्ण व्यक्तित्व रोशन दाइको विचारका साथै सुख–दुःखमा सधै उहाँ साथ रहनुहुन्थ्यो । जीवनको कठिन मोडहरुमा पनि उहाँले सहयात्रीको भूमिका निर्वहन गर्दैआउनुभएको थियो । भूमिगत अवस्थामा घर परिवार चलाउनुका साथै बच्चाहरुको पढाइलेखाइ सबै भाउजुकै काँधमा अभिभारा थियो ।

सदैव अध्ययन, अनुसन्धान एवम् लेखनमा मग्न रहनुहुने रोशन दाइसम्म अधिकांश समस्याहरु आउन नदिई आफै भाउजुले समाधान गर्ने गरेको आफन्तबाट थाहा पाएँ । एक हिसाबले भाउजु घरको स्तम्भ नै हुनुहुन्थ्यो । अनि, रोशन दाइकालागि सबथोक नै हुनुहुन्थ्यो ।

क्यान्सर रोगबाट जुझ्दै गरेको अवस्थामा सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरमा बिमला भाउजुले अन्तिम साँस लिएको कुरा उहाँकै फेसबुक स्टाटसबाट थाहा पाएँ । सोही दिन साँझ पशुपति आर्यघाटमा इलेक्ट्रिक माध्यमबाट उहाँको पार्थिव शरीरको दाह संस्कार गरिएको रहेछ ।

अस्पतालमा जाँचमा गरिएको बेवास्ताप्रति शंका व्यक्त गर्दै उहाँले लेख्नभएको थियो यदि अस्पतालले समयमा जाँच गरी रिपोर्ट दिएको भए सोही अनुसार उपचार भई अन्तिम अवस्थामा निमोनियाग्रस्त भई मैडमको स्वास अवरुद्ध हुने थिएन कि ! अझैं बाँच्नुहुन्थ्यो कि ! भनी रोशन दाइले चिन्ता व्यक्त गर्नुभएको थियो ।

यो सत्य हो कि मेरी मैडमजी भौतिक रुपमा अब हुनुहन्न । म आत्मामाथि विश्वास गर्दिनँ । त्यसैले उहाँको अलौकिक उपस्थितिको कुनै प्रश्न पनि छैन । हो, उहाँ स्मृतिमा हमेशा रहनुहुनेछ । ४७ वर्ष ९ महिनाको उहाँसँगको साथ थियो । ०३५ साल फागुन ३ गते विवाह गरेर उहाँ मसँग आउनु भएको थियो । भौतिक साथ त छूट्यो, तर स्मृतिमा उहाँ बाँचुञ्जेल सँगै रहनुहुनेछ ।

उहाँले मेरो अस्तव्यस्त जीवन, दुई सन्तान र कौटुम्बिक सम्बन्धहरु सबै उहाँले नै सम्हाल्दै आउनुभएको थियो । मेरो वैचारिक सङ्घर्षमय जीवनको आधा उहाँले पनि भोग्नुभयो । मसँगे बस्नुको परिणाम थियो कि उहाँको भौतिक सुख सपना नै रह्यो । एक अविचलित, बिना अपेक्षा, निष्पृह, सदैव मुस्कुराएर मलाई साथ दिने जीवनसङ्गीनी हुनुहुन्थ्यो, मेरो सम्बल र विश्वास हुनुहुन्थ्यो । उहाँ माओवादी जनयुद्धमा सहयोगी पनि हुनुहुन्थ्यो ।

उहाँ बिना बाँकी जीवन बिताउनु ठूलो चुनौती छ । बस उहाँकै स्मृतिको सहारामा जीवन बिताउनु पर्छ अब । यो सत्य छ कि भौतिक रुपमा अब उहाँ मसँग हुनुहुन्न । घरको सबै ठाउँ, सबै सामानमा उहाँकै स्पर्श स्मृतिमा उस्तै छ, खाली उहाँ हुनुहुन्न । रोशन दाइको उक्त स्टाटस पढेपछि म भावुक र चिन्तित भएँ । पीडादायी क्षणमा उहाँसँग छिट्टै भेट्न म आतुर भएँ । तर, सप्तरी स्थित गाउँमा घरायसी कामले तत्काल चाहेर पनि जनकपुरधाम जान सकिन । विवाहपञ्चमी सकिएलगत्तै म जनकपुरधाम गएँ । मेरा आदर्श रोशन दाइसँग भेट्न जाँदै गर्दा छोरी खुश्बु पनि साथ लागिन् । देबी चोक स्थित गल्लीमा रहेको रोशन दाइको घर पुगेँ । त्यही पुरानो टिनको छानोवाला घर । रोशन दाइ आँगनमा शुभेच्छुहरुसँग भाउजुका विषयमा कुराकानी गरिराख्नुभएको थियो ।

सेता तथा कालो कपाल अनि झुस्स दाह्री भएका व्यक्ति अर्थात रोशन दाइलाई मैले प्रणाम गर्ने वितिक्कै उहाँलाई छोरी खुश्बुले ढोगिन् । उहाँको शोकयुक्त अनुहार एकछिन मैले नियालिरहेँ । त्यसपछि मैले भाउजुको देहावसानबारे जान्ने प्रयास गरेँ । अनि उहाँले इतिवृतान्त सुनाउँदै जानुभयो । भाउजुसँग बिताउनुभएका पीडायुक्त अतितका कतिपय सम्झनाहरु सुनाउँदै जाँदा म मौन भएर सुनिरहेँ । मलाई थप कोट्याउने हिम्मत भएन ।

अस्पतालमा जाँचमा भएको ढिलाइका कारण निमोनियाले ग्रसित स्वास अवरुद्ध भई अन्तिम स्वास लिएको कुरा उहाँ पटक–पटक दोहोर्याउनुभयो । ‘श्याम भाइ, कतिसम्म लापर्वाही छ, जाँचका लागि तीन दिनसम्म कुराएर राख्यो, जब चेस्ट एक्स–रे रिपोर्ट आयो तबसम्म त निमोनियाले घेरिसकेको थियो । दिसामा रगतै आउँथ्यो । अक्सिजन लागे पनि स्वास लिन सकिरहनु भएको थिएन । बोल्न सकिरहनुभएको थिएन, आँखा र हातको ईशारा अब छुट्टिन लागेको भन्दै सदाकालागि विदा हुनुभयो मैडम ।’

एकछिन मौन हुनभयो रोशन दाइ । त्यसै बिच मधेशी आयोगका निवर्तमान अध्यक्ष विजय दत्त आउनुभयो । उहाँले अन्त्येष्टिबारे सोध्नुभयो । त्यसपछि रोशन दाइले मेरा परिवारजन तथा केही परिजन काठमाण्डौमै रहेकोले पशुपतिमा इलेक्ट्रिक प्रविधिमा अन्तिम संस्कार गरेको जानकारी दिनुभयो । छोराछोरी लगायत घरपरिवारका सदस्यहरुकै सहमतिमा उतै अन्त्येष्टि गरेको सुनाउनुभयो ।

घरमा मैले किरिया बसेको कसैलाई नदेखेपछि मनमा जिज्ञासा भयो र सोधिहालेँ । अनि, उहाँले कर्मकाण्ड त उहिले छाडिसकेको बताउनुभयो । हिन्दू संस्कारमा त किरिया बस्नुपर्ने अनिवार्यता छ ?
२०४८ सालमा बुवाको निधन हुँदा मैले मृत्युभोजको कुरा हुँदा मैले अस्वीकार गरेँ । भर्खरै आमाको युरेटसको अप्रेशन भएको थियो । आमासँग ईच्छा सोधेँ । थोरै भएपनि बुवाको भोज गरिदिनु बरु मेरा नगर्नु होला । आमाकै ईच्छा अनुसार गर्यौँ ।

२०५२ सालमै अर्द्ध  भूमिगत रही जनयुद्धको हिस्सा बने । २०५८ सालतिर बुवाको निधन भयो । त्यतिबेला म माओवादी जनयुद्धमा भूमिगत रहेकाले विकट पहाडि जिल्लाबाट गाडि चढ्न तीन दिन हिँड्नुपरेको थियो । त्यसपछि गाडि चढेर घर आएँ । आमाको पार्थिव अन्त्येष्टि गर्ने क्रममा कसैले मेरो गलामा उतरी (सेतो वस्त्र) लगाई दिनुभयो । भोलीपल्ट आमालाई अन्त्येष्टि गरेकै स्थानमा उतरी गलाबाट निकालेर फालिदिएँ । फर्किँदै गर्दा कर्मकाण्डका लागि एक बाहुन आउँदै गर्दा किरियाकर्म गराउने तपाइँको पेशा हो, ‘ल २० रुपैयाँ लिनु अनि जानु’ भने । बिचरा, अक्क न बक्क हुँदै फर्किनु भने म आफ्नो घरतर्फ लागेँ । परिवारजनको सहमतिमै मृत्यूभोज बन्द गर्न सफल भयौँ ।

रोशन दाइ धाराप्रवाह बोलिरहनु भएको थियो भने म चुपचाप सुनिरहेको थिएँ । श्याम भाइ, म आफ्नो निर्णय कसैमाथि थोपेको होइन । तार्किकता र विवेकशिलताको प्रयोग गरेको हुँ । दिवङ्गत व्यक्तिलाई प्रेतमुक्ति गराउने वा स्वर्गमा बास हुने आदि ईत्यादिको नाममा हुने कर्मकाण्ड, दान–दक्षिणा र मृत्युभोज गर्ने गराउने कार्य गलत हो । यसमा कुनै सत्यता र प्रमाणिकता छैन ।

कसैकसैले सभाभोज गरेर शान र प्रतिष्ठाको रुपमा लिने गर्छन् । बरु ती खर्च बचाएर गरिब, दलित एवम् विपन्नको हित तथा जनहितमा सदुपयोग गर्नु वुद्धिमानी हो । आफ्नै जीवन धान्न गाह्रो भइरहेको अवस्थामा ऋण लिएर वा जमिन बेचेर भोज गर्नु राम्रो होइन । यही कारणले नयाँ गरिबीको यात्रा शुरु हुन्छ । सन्तानले पनि परम्परागत रुपमा चलिआएको मृत्युभोज ऋण काढेर पनि गर्न चाहन्छन् । यो अन्धविश्वास हो । गलत कार्य हो । समाजमा राम्रो काममा सहयोग गर्नेहरु हतपत भेटिदैन तर भोज गर्नका लागि कर्जा दिनेहरु थुप्रै भेट्टिन्छन् ।

शोकाकुल रोशन दाइको कुरा म एकटकले सुनिरहेको थिएँ । मानौ उहाँ गुरु र म शिष्य जस्तै । भन्छन् आत्मा मर्दैन रे । यदि मर्दैन भने ऊ मलाई छोडेर किन जान्छ ? भनिन्छ आत्मा रुन्छ, यसको मतलब आत्मामा चेतना छ । यदि छ भने रहोस् । किन रुन्छ ? रहोस् । सत्ता र बाम्हणवाद मिलेको छ । पहिला पहिला बाहुनले पाउने दानमा सरकारले पनि ट्याक्स लिन्थ्यो ।

समाजशास्त्री दृष्टिकोणबाट हेर्यो भने कर्मकाण्ड र मृत्यूभोज लादिएको छ । यो कुप्रथा टुट्नुपर्छ । आम मान्छेको गरिबी अज्ञानतालाई फाइदा उठाएर धुत्र्याइँमा दुबै बाँच्छन् । मनु स्मृतिमा देव कर्म या पितृ कर्ममा पात्र र पुरोहित दुवै शुद्ध हुनुपर्छ भनिएको छ । दुवै अशुद्ध छ भने दुष्ट आत्मा लिएर जान्छ ।
शरिरबाट प्राण निस्केपछि शरिरको औचित्य समाप्त हुन्छ । उहाँ मेरी जिवनसङ्गीनी हुनुहुन्थ्यो । उहाँसँगका थुप्रै स्मृतिहरु मसँग छन् । जतिसुकै कर्मकाण्ड आदि इत्यादि जे गरे पनि मेरो स्मृतिबाट निस्किन सक्दैन । यदि आत्मा मर्दैन भने उहाँ मसँगै, मेरै परिवेशमा रहोस् ।

लास र शोक व्यवस्थापन गर्नका लागि यी सबैकुरा बनाइएको हो । मानव घुमन्ते जिवनशैलीमा हुँदा लाशको व्यवस्थापन गरिदैनथ्यो । त्यसै छाडेर अर्को ठाउँ बसाई सरिन्थ्यो । एकैठाउँमा बस्न थालेपछि मात्र शवको व्यवस्थापन गर्न थालियो । बाल्मीकी र तुलसी रामायण महाकाव्य हो । उपनिषद्बाट लिएका कुराहरु नै रामायण महाकाब्यमा लेखिएको छ । रामायणकालीन समाज धेरै पुरानो होइन । त्यसमा उल्लेख भए अनुसार घरमा बस्न थालिएको छ, महलको विकास भइसकेको छ ।

उपनिषद्मा विवाहको विकास भएको थिएन । खेतीपाती, विवाह सम्बन्धको विकास भएको हो । सत्यवति मलाहिन डुङ्गाबाट नदी पार गराउने क्रममा ऋषि परासर उनको रुपमा मोहित भए । ती मलाहिनसँग शारिरीक सम्बन्धको प्रस्ताव राखेपछि सत्यवती खुल्ला रुपमा कसरी हुन्छ ? भनेपछि नदी किनारमै लाज ढाक्ने गरी बनाइएको छेकोमा दुवैजना तृप्त भएका थिए । त्यसपछि सत्यवतीबाट ब्यास जन्मिएको कुरा रोशन दाइले चर्चा गर्दै जानुभयो ।

करिब तीन सय वर्ष पहिलेसम्म श्राद्ध कर्म हुदैनथ्यो । त्यसपछि मात्रै किरिया कर्म गर्न थालिएको हो । छाता, जुत्ता, तोसक, तकिया, झुल, खाट इत्यादि दिवङ्गत व्यक्तिको मोक्ष प्राप्तिका लागि दिईन्छ । के ती सबै सामानहरु संसार छाडिसकेका व्यक्तिसम्म पुग्छन् त ? गम्भीर प्रश्न छ ।

यदि कर्म गराउने बाहुनलाई दिइने सामानहरु त्यहाँसम्म पुग्ने हो ? लाभ मिल्ने हो भने डायबिटिजको विरामी छ भने औषधी खाइदिनु पर्यो । क्यान्सरको रोगी थियो भने केमो पनि लिनु पर्यो नि ! विश्वमा थुप्रै अविष्कार तथा विज्ञान प्रविधिमा फड्को मारिरहेको अवस्थामा पनि हामी अझैं कहाँ अल्झेका छौं ? गम्भीरताका साथ सोच्नु आवश्यक छ ।

कल्पना गरौं त, एक समय सती प्रथा पनि थियो हाम्रो देशमा । आखिर हट्यो नि ! कसै न कसैले त आवाज उठाउनैपर्छ । अगाडि बढ्नैपर्छ । दुनियाँले भन्छ ? भन्ने कुराको पछाडि लाग्नुभन्दा तथ्य र प्रमाणिकतामा जोड दिँदै सामाजिक रुपान्तरणका लागि बढ्नैपर्दछ । यसका लागि युवा पुस्ताको भूमिका अत्यन्तै आवश्यक छ । यस्ता कुराहरु बोल्यो वा गर्यो भने विरोध हुनु वा कुरा काट्नु सामान्य हो । यस्ता कुप्रथाका जञ्जीरहरु पहिलो पटक तोडनेलाई कुलङ्गगार, नास्तिक भनिन्थ्यो । कसैले न कसैले त गर्नैपर्छ ।

उहाँका कुरा सुन्दै गइरहेको थिएँ । मृत्युभोजको परम्परा त झन तोड्नु जरुरी छ । जिवितमा आफ्ना मातापिता वा आफन्तलाई हेला गरिन्छ अनि निधन पश्चात गरिने भोज वा सभाभोजको औचित्य छैन । भोजमा खर्च हुने ठूलो रकम शैक्षिक, सामाजिक कार्य वा गरिब दलितको कल्याणमा लगाओस् । भोजको कुनै ओचित्य छैन । सबै अन्धविश्वासमा टिकेको छ । बरु यसरी एकठाउँमा आफन्त, परिजन तथा समाजसँग खुशीका अवसरहरुमा आत्मिय रुपमा उपयोग गर्दा ठिक हुन्छ । तर, मृत्युभोज होइन ।
साँझ पर्नै लागेको थियो । दाइले चिया खान आग्रह गर्नुभयो । मैले ‘दाइ, तपाइ खानुहुन्छ भने म पनि खाइदिन्छु’  भने । त्यसपछि उहाँकी छोरी ज्योत्सना क्रान्तिले पकाएको चिया खाँदै विदा भएँ ।

अझैं पनि हाम्रो देशमा रोशन दाइजस्ता उच्च कदका व्यक्तित्वहरु हुनुहुन्छ । जो विचार र निष्ठाप्रति कटिवद्ध हुनुहुन्छ । हावाको वेगसँग होइन, प्रतिकुलतामा चट्टान झैं अटल हुनुहुन्छ । दुनियाँले जेसुकै भनोस् भौतिक सुखसयल भन्दा कोसौं दूर रहेर उहाँ सर्वहारा वर्गको मुक्ति अभियानको दियो बालिरहनुभएको छ । न कसैप्रति गुनासो, न कुनै रागद्वेस, न व्यक्तिगत लालसा । शोषण, दमन, अन्याय, विभेद, असमानता, कुशासन, कुप्रथा विरुद्धका सशक्त योद्धा आदरणीय रोशन दाइलाई सलाम । भाउजुको रिक्ततामा पनि यहाँको विचार एवम् अभियान अविछिन्न रुपमा अगाडि बढिरहोस् ।

Author:



क्याटोगरी छान्‍नुहोस