
नन्दलाल आचार्य
ए, तिमी फेरि यहीँ ?” नेताको औपचारिक प्रश्नमा थियो मजदुरको लागि । एकाबिहानै भीडभाड भएको चोकमा मजदुरले आफ्नै नेतालाई देखेको थियो । नेताको मुहारमा राजसी आत्मविश्वासको चमक थियो, तर मजदुरको आँखामा गहिरो थकान र शरीरभरि सुख्खा माटोको धब्बा थियोे ।
नेताको प्रश्न सुनेर मजदुरले गह्रौँ सास फेर्यो, “पत्नीको दाहसंस्कार सकियो, हजुर। आज ज्याला नपाए मेरा छोराछोरी भोकै सुत्छन् ।” उसको आवाजमा कुनै गुनासो थिएन, केवल जीवनको कठोर सत्यता थियो । नेता केहीबेर मौन रहे, शब्दहरू हराएजस्तो गरे । छेउकै मञ्चबाट ‘लोकतन्त्र अमर रहोस्’ को चर्को नारा कानै खाने गरी गुञ्जिरहेको थियो ।
नेताले असहजतालाई पन्छाउने प्रयास गरे, “तर, आज कारखाना किन गएनौ त ?”मजदुरको निर्दोष वाणी आयो, “कारखाना त बन्द छ, हजुर । तपाईँहरूले आफ्नै मागका लागि गरेको आन्दोलनले बाटो थुन्यो । काममा जान पाइएन ।”यो सुनेर नेताको निधारमा पसिना आयो । उनले हतारमा आफ्नो पछिल्लो भाषण सम्झिए र बोल्ने साहस गरे, “गणतन्त्र तिमीहरूजस्तै जनताकै लागि हो, मजदुर भाइ !”मजदुर हाँस्यो । त्यो हाँसोमा तीस वर्षको धोका र आक्रोशको तीतोपन मिसिएको थियो । उसले नेताको आँखामा सीधा हेर्यो, जहाँ अहिले कुनै डर थिएन, केवल कठोर निश्चय थियो ।
“हजुर, पेट भरिएपछि मात्रै शब्द बुझिन्छ ।” मजदुरले थप्यो, “जबसम्म हाम्रो पेटमा भोक जिउँदो रहन्छ, तबसम्म तपाईंको सुन्दर गणतन्त्रको नारा कसरी जिउँछ, नेताज्यू ?”
Image : AI Generated