निता थापा
आजकाल जति नयाँ पार्टीहरू खुलेका छन्, ती सबैको घोषणापत्र वा भाषण सुन्दा एकै प्रकारको दृश्य देखिन्छ – पुराना नेताहरूको आलोचना। “यो खायो, उ भष्टाचार गर्यो, काम छैन, निकम्मा हो” – यस्ता शब्दहरू अहिलेका धेरै नयाँ नेताहरूले सामाजिक संजालमा प्रायः प्रयोग गर्छन्।
यो नयाँ पार्टीको घोषणाको वास्तविक स्वरुप प्रायः यति सीमित रहन्छ। सामाजिक संजालमा भाइरल हुनका लागि पुराना नेताहरूको आलोचना गर्ने र गाली गर्ने प्रवृत्ति बढेको छ। लाखौँ फ्यान र फलोअर्स भएको प्लेटफर्ममा यस्ता पोस्टले चाँडै ध्यान तान्छन्, तर यसले वास्तविक देश र जनताको हितमा कति योगदान गर्छ भन्ने कुरा विचार गरिँदैन।
यदि कुनै नेता साँच्चिकै भष्टाचार गरेको छ वा कुनै गलत कामको प्रमाण छ भने, भाषण वा मिडियामा कुरा गरेर मात्र होइन, प्रमाण सहित कानुनी प्रक्रियामा मुद्दा दर्ता गरेर न्यायको माग गर्नु नै ठोस कदम हो। यसो गर्दा मात्र सचेत नागरिक र नेता दुवै सिक्छन् कि शक्ति दुरुपयोगको मूल्य छ।
सामाजिक संजालमा मात्र आलोचना गरेर वा ठूलो-बडा रकमको कुरा गरेर प्रदर्शन गर्नु अस्थायी लोकप्रियता दिन सक्छ, तर यसले देशको विकास र शासन प्रणालीमा स्थायी सुधार ल्याउँदैन। सत्य र प्रमाण आधारित कदम चाल्दा मात्र देशको नेतृत्वमा जिम्मेवारिता र विश्वास बढ्छ।
हाम्रो समाजमा आवश्यकता छ – भ्रामक प्रचार र भाषणभन्दा बढी न्याय र तथ्यको सम्मान। नयाँ पार्टीका नेताहरूले पुराना नेताहरूलाई गाली गर्नेभन्दा प्रमाणसहित न्यायको माग गरेर लोकतन्त्र र देशको भविष्य बलियो बनाउने हो।