छिन्नमस्ता भगवती शक्तिपीठ : आस्था, इतिहास र शक्तिको अद्भुत सङ्गम (फोटो फिचर)

सप्तरीको मुख्यालय राजविराजदेखि करिब १० किलोमिटर दक्षिण छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ मा अवस्थित छ छिन्नमस्ता भगवती शक्तिस्थल । भारतीय सीमा नजिकै रहेको स्थल ५१ शक्तिपीठहरूमध्ये एक मानिन्छ ।

ऐतिहासिक पोखरीको उत्तरी डिलमा अवस्थित प्यागोडा शैलीको आकर्षक मन्दिर स्थापित छ । धार्मिक मात्र नभई पर्यटकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिएको छ । छिन्नमस्ता भगवतीलाई सखडा भगवती, सखडेश्वरी र सखडा माता नामले पनि पूजाआजा गरिन्छ । शिरविहीन देवी भएकाले ‘छिन्नमस्ता’ नाम प्रचलनमा आएको हो ।

ऐतिहासिक कथनअनुसार राजा शक्रसिंहले देवीको स्वप्नादेशपछि यस स्थानमा मूर्ति फेला पारेका थिए । तत्पश्चात सोही स्थानमा शक्रसिंहले पूजन आरम्भ गरेका थिए । समयक्रममा गयासुद्दिन तुगलकको आक्रमणमा मूर्ती तोडफोड गरी जलाशयमा फालिएको थियो । स्थानीय, श्रद्धालु, राज्य र दाताहरूको सहयोगमा मन्दिर पटक–पटक पुनर्निर्माण हुँदै आएको छ । २०४४ सालमा राजा वीरेन्द्रको सहयोगबाट हालको भव्य मन्दिर निर्माण भएको हो । त्यसअघि भारतका तात्कालिन रेलमन्त्री स्व. ललितनारायण मिश्रको सहयोगमा मन्दिर निर्माण कार्य अगाडि बढेको थियो ।

हाल संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा मन्दिर क्षेत्र व्यस्थित एवम् आकर्षक बन्दैगएको छ । पछिल्लो समय परिसरमा निर्माण गरिएका भौतिक संरचनाका साथै महाआरती श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

छिन्नमस्ता भगवतीसँग अनेक अद्भुत मान्यता जोडिएका छन् । बलिको रगतमा झिँगा नबस्नु, पोखरीको पानी रातो नहुनु, रगत लुगामा परे पनि दाग नलाग्नु, अपवित्र सामग्री चढाउन नहुनेजस्ता विश्वास आज पनि भक्तजनले दृढताका साथ मान्दै आएका छन् । यी मान्यताले देवीको अलौकिक शक्तिप्रति जनविश्वासलाई थप प्रभावकारी बनाएको छ ।

खासगरी दशैँको समयमा नेपालका शक्तिपीठहरूमा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ । यस शक्तिपीठमा महाअष्टमीमा तान्त्रिक पद्धतीबाट पूजाआजा हुने भएकाले पनि शक्तिशाली र चमत्कारी देवीका रूपमा पूजित छन् । वर्षभरि नै श्रद्धालुहरूको आवागमन रहने यस मन्दिरमा दसैँका बेला आस्था, बलि र पूजापाठको रौनकता रहने गर्दछ ।

यो भगवती स्थल विवाह, नयाँ सवारीसाधनको पूजन, मुण्डन, उपनयन, कुमारी भोजन, कबुला तथा फूलाइसका लागि समेत प्रसिद्ध मानिन्छ ।

शब्दः श्यामसुन्दर यादव
तस्विरः अमरेन्द्र कुमार यादव

Author:



क्याटोगरी छान्‍नुहोस