निता थापा
मलाई लाग्थ्यो—नयाँ बाटोमा हिँड्दा कम्तीमा पुराना गल्तीहरू दोहोरिँदैनन्।
मलाई विश्वास थियो—नयाँ भनिएकाहरूले पुरानालाई औँला उठाउने मौका त दिँदैनन्।
तर आज देख्दैछु, त्यो विश्वास पनि सायद एउटा भावनात्मक भ्रम मात्रै रहेछ।
समानुपातिक सूची सार्वजनिक भएको दिनसँगै एउटा गहिरो प्रश्न जन्मिएको छ—
के नयाँ र पुराना साँच्चै फरक रहेछन् त?
समानुपातिक भनेको के हो?
यो कुनै ‘आफन्त व्यवस्थापन योजना’ होइन।
यो कुनै ‘आसेपासे पुरस्कार वितरण’ कार्यक्रम होइन।
यो त राज्यको पहुँच नपुगेका, आवाज नपाएका, सधैँ पछाडि पारिएका
निमुखा वर्ग, अल्पसंख्यक जाती, पिछडिएका क्षेत्र र समुदाय का लागि बनाइएको संवैधानिक व्यवस्था हो।
तर आज त्यही कोटामा
– मिस नेपाल अटाउँछन्,
– देश बेचुवा ठेकेदारका छोरा अटाउँछन्,
– ससुराबा, छिमेकी, बाल्यकालका स्कुल साथी अटाउँछन्,
– नेता पछाडि कुदिरहने आसेपासे अटाउँछन्।
अनि सोध्न मन लाग्छ—
के यो समानुपातिक हो कि सत्ताको नजिक भएकाहरूको ‘विशेष सुविधा’?
आज सांसद र मन्त्री बन्ने अवसर
त्यस किसानको छोराछोरीले पाएका छैनन्
जसको नाम कागजमा कहिल्यै नछापियो।
आज अवसर
त्यस दलित युवतीले पाएकी छैन
जसले जिन्दगीभर ‘कोटा’ शब्दलाई आशाको रूपमा हेरेकी थिई।
तर अवसर पाएका छन्—
पहिल्यै शक्ति, पैसा र पहुँच भएकाहरूले।
त्यसो भए प्रश्न अझै गहिरो हुन्छ—
Nepokids विरुद्ध आवाज उठाउने ७३ जना Gen-Z भाइबहिनीहरूले
राज्यलाई दिएको आहुति, बलिदान र सपना
आज यही दृश्य देख्नका लागि थियो?
नयाँ राजनीतिले पुरानालाई गाली गर्नु मात्रै पर्याप्त हुँदैन।
नयाँले त पुरानाभन्दा नैतिक रूपमा माथि उभिनुपर्छ।
तर जब व्यवहार उस्तै देखिन्छ,
जब सूचीमा अनुहार फेरिए पनि सोच उस्तै देखिन्छ,
तब जनताले सोध्ने अधिकार राख्छन्—
पूराना र नयाँमा फरक के रह्यो?
यो लेख कसैप्रति व्यक्तिगत आक्रमण होइन।
यो जनआकांक्षाको प्रश्न हो।
यो त्यही ८०% नेपालीको मनको आवाज हो
जसले चुनाव जित्ने मात्रै होइन,
इतिहास बदल्ने राजनीति खोजेका थिए।
यदि नयाँ भनिने शक्तिले पनि
पुरानाकै बाटो समायो भने,
त्यसलाई नयाँ भन्नु
जनतालाई फेरि एकपटक झुक्याउनु बाहेक केही हुँदैन।
अब अझै समय छ—
सच्याउने, स्वीकार गर्ने, र प्रमाणित गर्ने
कि नयाँ राजनीति नाम मात्रै होइन,
आचरण पनि नयाँ हो।
नत्र इतिहासले सोध्नेछ—
समानुपातिकको नाममा सपनाको हत्या कसले गर्यो?