चुनावी मनोहरपोथी :अन्तिम घडीको सौदा र दिशाहीन जनादेश

चन्द्रकिशोर

चुनावका बखत देखिने “चलायमान मनःस्थिति” कुनै संयोग होइन, संरचनागत रोग हो। दलहरू विचारभन्दा अंकगणितमा भरोसा गर्छन्, उम्मेदवार नीतिभन्दा जित्ने प्लेटफर्म खोज्छन्। आज एउटा दलको खुट्टा टेक्नु, अर्कोको हांगो समात्नु र तेस्रोतिर नजर लगाउनु—यो अवसरवाद मात्र होइन, अस्थिर राजनीतिक संस्कृतिको परिणाम हो जहाँ दलको पहिचान कमजोर र व्यक्तिको महत्व अत्यधिक हुन्छ। टिकट वितरणदेखि गठबन्धनसम्म सबैतिर अन्तिम क्षणको सौदा हाबी हुँदा कार्यकर्ता र उम्मेदवार दुवै ‘कुन डुंगामा चढ्ने’ दुविधामा फस्छन्।

यसको प्रभाव कार्यकर्ताको मनोविज्ञानमा झन् गहिरो देखिन्छ। ऊ निष्ठाभन्दा सम्भावनाको गणना गर्न थाल्छ, झण्डाभन्दा जित्ने अनुहार पछ्याउँछ। आज जसको घर–घरमा प्रचार गर्‍यो, भोलि उसैको विपक्षमा उभिनु परे पनि अपराधबोध हुँदैन, किनकि राजनीति नै अस्थिर सौदाको अभ्यास बनाइएको छ। मतदाताको मन पनि यस्तै द्विविधामा अल्झिन्छ—मत कसलाई खसाल्ने भन्ने स्पष्ट नहुँदा ऊ भावनात्मक आवेग, डर, जातीय–क्षेत्रीय संकेत वा अन्तिम घडीको हल्लामा निर्भर हुन थाल्छ। यस्तो अस्थिरताले लोकतन्त्रलाई गम्भीर चोट पुर्‍याउँछ। विचारधाराको स्थान ‘जित्ने गणित’ले लिन्छ, दीर्घकालीन नीति होइन, क्षणिक फाइदा निर्णायक बन्छ। जनविश्वास कमजोर पर्छ, चुनाव प्रतिनिधित्वको साधनभन्दा ‘म्यानेजमेन्ट’को खेल जस्तो देखिन थाल्छ।

अन्ततः जित्नेले पनि स्थिर जनादेश पाउँदैन, हार्नेले पनि आत्मसमीक्षा गर्दैन। परिणाम—लोकतन्त्र चलिरहन्छ, तर दिशाहीन ।

Newssourse:Socialmedia

Author:



क्याटोगरी छान्‍नुहोस