छ वर्षको मौन यात्रा: ‘हामी’ बाट ‘म’ र ‘तपाईं’ सम्मको दूरी

निता थापा

​बिहे भएको ६ वर्ष भयो। भन्नलाई त यो समय एउटा सानो युग जस्तै हो, जहाँ दुई अपरिचित मान्छे एउटै आत्मा बन्नुपर्ने थियो। तर आज ऐना अगाडि उभिँदा म आफैँलाई सोध्छु— के हामी साँच्चै एक भयौँ त? वा ६ वर्षअघि जुन दुईजना व्यक्ति मण्डपमा बसेका थिए, आज पनि तिनीहरू उत्तिकै अपरिचित छन्?

हाम्रो सम्बन्धको एउटा ठूलो हिस्सा त ‘कार्यव्यस्तता’ ले नै खाइदियो। दुईतिरको बसाई, आफ्नो करियर र भविष्य बनाउने दौडधुप। ५–७ महिनाको लामो अन्तरालपछि जब हामी भेट्छौँ, तब मलाई लाग्छ कि हाम्रो भेट दुई प्रेमीहरूको मिलन होइन, बरु दुईवटा कर्मचारीहरूको ‘मिठिङ’ जस्तो भइरहेको छ। न त भेट्दा त्यो मुटुको ढुकढुकी बढ्छ, न त बिछोडिँदा त्यो आँखामा आँसु रहन्छ।

​हामी किन खुल्न सकेनौँ?

​यो ६ वर्षमा हामीले घर बनाउने कुरा गर्यौँ, भविष्यका योजना बुन्यौँ, तर कहिल्यै ‘तिमीलाई कस्तो छ?’ भनेर मनको गहिराइमा पुग्ने कोसिस गरेनौँ। सायद हामीमा ‘कम्युनिकेसन’ (संवाद) को भन्दा पनि ‘कनेक्सन’ (महसुस) को कमी भयो। हामीले एकअर्काको शरीरलाई त पायौँ होला, तर एकअर्काको कमजोरी, डर र चाहनालाई स्वीकार्ने हिम्मत जुटाउन सकेनौँ। खुल्नका लागि विश्वास चाहिन्छ, र त्यो विश्वास सायद हाम्रो कार्यव्यस्तताको पर्खालभित्र कतै हरायो।

​बेड एउटै, संसार अलग

​अचम्म लाग्छ, एउटै बेडमा सुत्दा पनि हामी बीचको दूरी माइलौँ लामो हुन्छ। बुढाबुढीको यौन चाहना र भावनाको अभावलाई हामीले ‘उमेर’ वा ‘थकाई’ को नाम दियौँ। तर सत्य त यो हो कि— जब मन नै जोडिँदैन, तब शरीरले एकअर्काको स्पर्शमा कुनै जादू भेट्दैन। सेक्स केवल एक यान्त्रिक क्रिया जस्तो भयो, जसमा न कुनै प्राण छ, न कुनै अनुराग। हामीले एकअर्काको शरीरलाई त चिन्यौँ, तर त्यो शरीरभित्र लुकेको भोको आत्मालाई कहिल्यै बुझ्न चाहेनौँ।

​इज्जतको नाममा बाँधिएको ‘दाम्पत्य’

​सबैभन्दा तितो यथार्थ त यो हो कि— आज हाम्रो सम्बन्ध ‘माया’ ले भन्दा बढी ‘सामाजिक प्रतिष्ठा’ ले टिकेको छ। ६ वर्षको यो साथलाई तोड्न खोज्दा समाजले सोध्ने ‘किन?’ भन्ने प्रश्नको उत्तर हामीसँग छैन। कसैले कुटेको छैन, कसैले गाली गरेको छैन, बाहिरबाट हेर्दा सबै ठीक छ। तर भित्रभित्रै निस्सासिएको यो मनको आवाज कसले सुन्ने? पारिवारिक इज्जत र ‘लोग्ने-स्वास्नी’ को ट्याग जोगाउन हामीले आफ्ना भावनाहरूलाई जिउँदै गाडिरहेका छौँ।

​के कमी भयो त हामीमा?

हामीमा सायद ‘स्विकारोक्ति’ को कमी भयो। हामीले एकअर्कालाई जस्तो छ, त्यस्तै रूपमा स्विकार्न र आफ्ना कमजोरीहरू निर्धक्क राख्न सकेनौँ। हामीले ‘राम्रो जोडी’ देखिनका लागि धेरै मेहनत गर्यौँ, तर ‘खुसी जोडी’ बन्नका लागि थोरै पनि लगानी गरेनौँ। फेसबुक र टिकटकका लाइकहरूले हाम्रो सम्बन्धको खोक्रोपनलाई झन् उदाङ्गो पारिदियो।

​यो ६ वर्षको भोगाइले मलाई एउटै कुरा सिकाएको छ— सम्बन्ध केवल सँगै बस्नु वा एउटै घरको ठेगाना बाँड्नु मात्र होइन रहेछ। यो त एकअर्काको मौनतालाई पढ्नु र कुनै डर बिना एकअर्काको सामु नाङ्गो मन लिएर उभिन सक्नु रहेछ। जुन कुरामा हामी पूर्णतः असफल भयौँ।

Author:



क्याटोगरी छान्‍नुहोस