बिपीका सपनाका उत्तराधिकारी : सम्झनामा गिरिजाबाबु

—जयप्रकाश आनन्द
धेरै कुरा सम्झिन गाह्रो भइसकेको छ। विशेष गरी मलाई पुराना तिथि–मितिहरू त्यति याद रहँदैनन्। घटना पनि धेरै पुरानो भइसक्यो। कतिपय पुराना प्रसंगहरू सम्झिन घटनाहरू र सन्दर्भहरूलाई एकआपसमा जोड्दै जानुपर्छ। त्यसरी सम्झँदा यो घटना वि.सं. २०४८ पछिको हुनुपर्छ।

त्यतिबेला नेपाली काँग्रेसको सरकारले पहिलो पटक देशभरका प्रत्येक गाउँ विकास समितिलाई रु. १५ हजारका दरले अनुदान उपलब्ध गराएको थियो। उद्देश्य थियो—जरूरतमन्द, विशेषतः विपन्न नागरिकहरूको वडामा सामूहिक रूपमा उपयोग हुने गरी एक–दुईवटा हाते चापाकल (ट्युबवेल) जडान गर्नु। गाउँ पञ्चायत रूपान्तरण भएर गाउँ विकास समिति बनेको समय थियो। सम्भवतः केन्द्र सरकारबाट गाउँ विकास समितिहरूलाई विषयगत कार्यक्रमका लागि उपलब्ध गराइएको यो पहिलो अनुदान थियो।

सरकारको चाहना थियो—यस रकमको कार्यान्वयन गाउँ विकास समितिका तत्कालीन सचिव (सरकारी कर्मचारी) मार्फत होस्। तर, भर्खरै संगठित हुँदै गएको एमालेले सर्वदलीय समिति गठनको प्रस्ताव अघि सार्यो। सम्भवतः सर्वदलीय समिति बनेमा सबै गाउँ विकास समितिमा आफ्नो संगठन विस्तार गर्न सहज हुने उसको राजनीतिक सोच थियो।

वि.सं. २०३८ सालतिर, नेपाली काँग्रेसका प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुन बिपी कोइरालाको देशदौडाहाका क्रममा उहाँले विभिन्न स्थानमा विकास योजनाका विषयमा धाराप्रवाह विचार राख्नुहुन्थ्यो। पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सी.के. प्रसाईको आयोजनामा सम्पन्न भएको थियो। त्यसपछि देशदौडाहाका क्रममा भएका साना–साना प्रशिक्षण तथा प्रवचन कार्यक्रममा उहाँले समाजवादी अर्थतन्त्रका गम्भीर अवधारणाहरूलाई अत्यन्त सरल भाषामा प्रस्तुत गर्नुहुन्थ्यो।

सायद ती प्रवचनहरू कतै पुस्तिकाका रूपमा प्रकाशित पनि भए होलान्। तर आजको पुस्ताले त्यस्ता सामग्री खोजेर पढ्ने बानी कमै राखेको देखिन्छ। त्यतिबेला नेपाली काँग्रेसभित्र समाजवादका धेरै व्याख्याता थिए। प्रदीप गिरी र रामचन्द्र पौडेलजस्ता नेताहरू यस विषयमा विशेष दख्खल राख्ने मानिन्थे। सी.के. प्रसाईको व्याख्या भने असाध्यै सरल र सहज हुन्थ्यो। अन्य धेरै वक्ताहरू लास्की, रोजा लक्जेमबर्ग, शुमाकरजस्ता विदेशी चिन्तकका उद्धरण दिन थाक्दैनथे।

यस्तै एउटा कार्यक्रममा सर्लाहीतिरका एक जोशिला युवाले बिपीलाई प्रश्न गरे—“सान्दाजु, तपाईंको विचारमा समाजवाद भनेको के हो ? यसले सीमित सम्पन्न वर्गको सम्पन्नतालाई बहुसंख्यक निर्धन जनतामा कसरी वितरण गर्छ ?”
बिपी मुस्कुराउँदै भन्नुभयो—

“कसैको सम्पत्ति बाँडिदिनु समाजवाद होइन। मानौँ, कुनै गाउँमा एक जना धनी किसान छन्। उनीसँग पाँच–सातवटा दुहुना गाई छन्। बढीमा ४५–५० लिटर दूध उत्पादन हुन्छ। तर त्यही टोलका पचासौँ गरिब परिवारसँग आफ्ना बच्चालाई खुवाउन एक थोपा दूध पनि छैन। अब त्यो धनीको पचास लिटर दूध सबैमा दामासाही बाँडिदियो भने कसैलाई पनि आवश्यक मात्रामा पुग्दैन। फेरि उसको दूध खोसेर अरूलाई दिँदा उसले गाई किन पाल्ने ?

यसर्थ, समाजवाद भनेको त्यो गाउँमा दूधको उत्पादन बढाउनु हो। जनताबाट बढी उत्पादन होस्, त्यसका लागि सरकारले सहयोग गर्ने नीति अपनाउनु हो। हामीले सोचेको समाजवाद त्यही हो।”
यसरी बिपी अत्यन्त सामान्य, जीवनसँग जोडिएको भाषामा समाजवादको व्याख्या गर्नुहुन्थ्यो।
यसै क्रममा, एक स्थानमा बिपीले भन्नुभएको अर्को कुरा आज पनि उत्तिकै स्पष्टसँग सम्झन्छु।
“दक्षिण एसिया, विशेष गरी नेपालमा देखिने रोगमध्ये करिब ८० प्रतिशत रोग दूषित खानेपानीका कारण हुन्छन्।”

उहाँले मुम्बईका एक प्रख्यात चिकित्सकको राय उद्धृत गर्दै यो कुरा भन्नुहुन्थ्यो। उहाँको जोड थियो—यदि सरकारले आम जनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका अधिकांश मानिस, विशेषतः दूषित पानीका कारण लाग्ने पेटका रोगबाट मुक्त हुन सक्छन्।

त्यतिबेला गिरिजा प्रसाद कोइराला पनि सँगै हुनुहुन्थ्यो। मलगायत हामी केही कार्यकर्ता पनि उहाँहरूसँगै हुन्थ्यौँ।
त्यो समयको स्वास्थ्य संरचना अत्यन्त सीमित थियो। पञ्चायती शासनले अञ्चल अस्पताल र कतैकतै जिल्ला अस्पताल स्थापना गरेको थियो। विराटनगर र राजविराजमा अञ्चल अस्पताल थिए। तर एउटा अञ्चल उत्तरतर्फ सोलु र ताप्लेजुङसम्म फैलिएको हुँदा ती अस्पतालको वास्तविक पहुँच भने बढीमा मोरङ र सप्तरीका मानिससम्म मात्र सीमित रहने अवस्था थियो।
बिपीको मुखबाट मैले पहिलो पटक पाँच शय्याको पीएचसी (प्राइमरी हेल्थ सेन्टर) को अवधारणा यिनै भेटघाट र प्रशिक्षण कार्यक्रममा सुनेको थिएँ। केही गाउँमा स्वास्थ्य चौकी खुल्न थालेका थिए, जहाँ एक–दुई जना अनमी तहका कर्मचारी मात्र हुन्थे।
बिपीको विचार थियो—एउटा जिल्लाभित्र पाँचदेखि सात गाउँलाई समेटेर एउटा–एउटा पीएचसी स्थापना गरिनुपर्छ। त्यहाँ एमबीबीएसभन्दा तल अध्ययन गरेका स्वास्थ्य प्राविधिक रहून्। कम्तीमा सामान्य औषधि, रगत, खकार, दिसा–पिसाब परीक्षण गर्ने सुविधा तथा सामान्य घाउखटिराको सानो शल्यक्रिया गर्न सकिने व्यवस्था हुनुपर्छ।
उहाँको सोच यस्तै थियो—देख्नमा सामान्य लाग्ने तर जनजीवन परिवर्तन गर्ने स–साना विषयमा गहिरो ध्यान दिने।
** **
हामी चितवन पुग्यौँ। अहिलेको नारायणी पुल रहेको स्थानभन्दा करिब तीन–चार सय मिटर उत्तरतर्फ ठूला डुङ्गाबाट मिनीबस र साना चारपाङ्ग्रे मोटरजीपहरू वारपार गरिन्थे। त्यो समय हाम्रो देशदौडाहाले जताततै उम्लिएका पञ्चहरूको विरोधको सामना गर्नुपर्थ्यो।
त्यसबेला एउटा हल्ला निकै फैलिएको थियो—बिपी चढ्ने डुङ्गालाई जीपसहित नारायणी नदीमै डुबाइदिने योजना बनाइएको छ रे!
तर चितवनका साथीहरू दृढतापूर्वक उभिए। कृष्णलाल सापकोटा, टेकबहादुर गुरुङ, सम्भवतः एक जना धनाढ्य व्यक्तित्व (सुभाष प्रधानका पिताजी), मुक्तिलाल चुके, मैयादेवी दिदी, एकनाथ भाट, जगन्नाथ पौडेल तथा अहिले सम्झनामा नआएका धेरै–धेरै साथीहरूले बिपीको सुरक्षाको जिम्मेवारी आफ्नै काँधमा लिएर उहाँलाई सुरक्षित रूपमा नारायणी पार गराए।
आज सम्झँदा लाग्छ, यिनैमध्ये धेरैलाई अहिलेको नेपाली काँग्रेसले कारबाही गरेर गैरकाँग्रेसी बनाएको हुनुपर्छ।
त्यो रात हामी नवलपुरमा सूर्यभक्त अधिकारीको घरमा बस्यौँ। घर भन्नु एउटा काठको सानो मचानजस्तो संरचना र वरिपरि केही कटेराहरू मात्र थिए।
म र वीरेन्द्र दाहाल गिरिजाबाबु बस्नुभएको कटेरोमै थियौँ।
रात निकै ढल्किसकेको थियो। गिरिजाबाबुलाई निद्रा लागेको थिएन। केहीबेर मौन बसिरहनुभयो। त्यसपछि मलाई बोलाउनुभयो—
“जेपी, यस भ्रमणका बेला सान्दाजुले विभिन्न विषयमा व्यक्त गर्नुभएका विचारहरू टिपोट गर। सान्दाजु बिरामी हुनुहुन्छ। सायद उहाँले अब बाँकी जीवनमा प्रजातन्त्र देख्न पाउनुहुन्न। तर प्रजातन्त्र त अवश्य आउँछ। त्यसपछि हामीले उहाँले देखाउनुभएका विचारहरूलाई अगाडि बढाउनुपर्छ।”
त्यो क्षण मेरो जीवनको एउटा विशेष मोड थियो। मलाई लाग्यो—मैले एउटा जिम्मेवारी पाएको छु; एउटा विचारलाई समयका लागि सुरक्षित राख्ने जिम्मेवारी।
बिपीका धेरै भनाइमध्ये एउटा कुरा आज पनि झलझली सम्झन्छु।
कार्यकर्ताहरूसँगको छलफलमा उहाँले भन्नुभएको थिय—
“म विराटनगरमा पाँच–दस बिघा खेती भएको, परे आफ्नै उपचार खर्च जुटाउन सक्ने मानिस हुँ। तर म मुम्बईमा क्यान्सरको उपचार गराउन जाँदा पनि खर्च धान्न सकिनँ। जेपी, जयप्रकाश नारायणले केही रकम दिए। केही रामनाथ गोयनकाको सहयोगबाट अस्पतालको बिल तिर्न सकियो। आम नेपालीले कसरी सक्छन्?
त्यसैले हामी प्रिभेन्टिभ हेल्थ सिस्टममा जानुपर्छ। एक–दुईवटा ठूला अस्पताल भए पुग्छ।”
त्यो भनाइ केवल व्यक्तिगत पीडाको अभिव्यक्ति थिएन; त्यो नेपालको स्वास्थ्य नीतिप्रतिको उहाँको दूरदृष्टिको सार थियो।
सायद, यस देशदौडाहाको एक–दुई वर्षभित्रै बिपीको देहावसान भयो।
कालान्तरमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो।
उहाँको दिमाग कुनै पूर्वनिर्धारित साँघुरो सोचले भरिएको थिएन। बरु देशको विकास, जनकल्याण र बिपीसँग देशदौडाहाका क्रममा सुनेका विचारहरूका गहिरा सम्झनाले भरिएको थियो।
प्रधानमन्त्री बनेपछि उहाँले धेरैले महत्व नदिएका स–साना तर दूरगामी महत्वका विषयलाई प्राथमिकतामा राख्नुभयो।
विश्व बैंकका प्रतिनिधिसँग भेट हुँदा देशभर पहिलो चरणमै २० वटा पीएचसीको माग गर्नुभयो।
बेलायतका राजदूतसँग बेलीब्रिजको माग गर्नुभयो। पछि यिनै बेलीब्रिजहरूले त्यसबेलाका विनाशकारी बाढीका समयमा मुलुकको यातायातलाई निरन्तर सञ्चालनमा राख्न ठूलो योगदान दिए।
ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सभन्दा पहिले निजी क्षेत्रलाई हेलिकोप्टर सेवा सञ्चालन गर्न अनुमति दिनुभयो। उहाँले यसलाई उद्धार सेवासँग जोडेर हेर्नुभएको थियो।
र अर्को सानो देखिने तर अत्यन्त ठूलो महत्वको निर्णय—देशका प्रत्येक गाउँ विकास समितिलाई खानेपानीका लागि ट्युबवेल जडान गर्न रु. १५ हजार अनुदान दिने व्यवस्था।
देशदौडाहाका क्रममा बिपीले बारम्बार उठाउनुभएको दूषित खानेपानी र त्यसबाट हुने पेटका रोगको विषय उहाँले बिर्सनुभएन।
पीएचसीको अवधारणा पनि उहाँको स्मृतिबाट हराएन।
तर उहाँले विशाल वैदेशिक लगानी ल्याएर विदेशी महिलाका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढ्न खोज्नुभएन।
गिरिजाबाबुको प्राथमिकता फरक थियो—जनताको आधारभूत स्वास्थ्य, खानेपानी र ग्रामीण पूर्वाधार।
** **
तर, गिरिजाबाबु एक्लै हुनुहुन्थेन। उहाँसँग एउटा सक्षम, दूरदर्शी र विचारशील टिम पनि थियो।
नेपालको पर्यटन क्षेत्रको कायापलट गर्ने सोच बोकेका तत्कालीन प्रधानमन्त्रीका सल्लाहकार निरञ्जन कोइराला आज यस संसारमा रहनुभएन। राष्ट्रिय योजना आयोगको नेतृत्व सम्हाल्नुभएका डा. रामशरण महत—जसले पृथ्वीराज लिगलजस्ता संस्थागत सोच भएका व्यक्तिहरूसँग मिलेर काम गर्नुभयो—उहाँ अहिले गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ। चर्चित अर्थशास्त्री तथा तत्कालीन अर्थमन्त्री महेश आचार्य पनि असमयमै नेपाली काँग्रेसको मूल प्रवाहबाट पन्छाइनुभयो।
यस्ता अनेक व्यक्तिहरू, जो नयाँ विचारलाई संस्थागत गर्ने अभियानका महत्वपूर्ण सदस्य थिए, आज काँग्रेसभित्र रहन पाएनन्।
बिपीले देखेको समाजवादी शैलीको विकासको सपना बोक्ने पनि कोही बाँकी रहेन।
स–साना जलविद्युत् आयोजनाहरूको सञ्जाल निर्माण गरेर आवश्यक विद्युत् उत्पादन गर्ने सोच राख्ने शैलजा आचार्य पनि रहिनन्।
बिपीको राजनीतिक उत्तराधिकार क्रमशः मेटिँदै गयो।
राष्ट्रिय योजना आयोगको बैठक कक्ष र प्रधानमन्त्री कार्यालयको भित्तामा झुन्डिएको ‘हलो जोतिरहेका किसान’ को तस्वीर हटेर त्यस स्थानमा चुच्चे नक्साको तस्वीरले ठाउँ लिइसकेको नेपाल आज हाम्रो सामु छ।
कोइराला निवास, चाक्सीबारी, बोडेगाउँ—सबै जलाइए।
कुनै बेला बिपीपछिका पारिवारिक उत्तराधिकारी मानिने नेताहरूले कार्यकर्तालाई भन्ने गर्थे—“गणेशमान, किसुन जी र गिरिजा बाबु जहाँ रहन्छ, काँग्रेस त्यहीँ हो।”
तर परशुनारायण चौधरी काँग्रेस छोडेर जाँदा यसो भन्ने ती उत्तराधिकारीहरू स्वयं एउटा गुटभित्र समेत एकै ठाउँमा टिक्न सकेनन्।
यही सबै सम्झँदा आज गिरिजाबाबुको जन्मदिनमा मन अनायासै विगततिर फर्किन्छ।
उहाँ सम्झनामा आउनुहुन्छ—सत्ता वा पदका कारण होइन, जनजीवनका साना तर निर्णायक आवश्यकतालाई राज्यको प्राथमिकतामा राख्न सक्ने राजनीतिक चेतनाका कारण।
त्यसैले आज गिरिजाबाबुलाई सम्झँदा मनमा एउटा गहिरो अनुभूति जाग्छ—
न त दिल्ली दरबार नै रह्यो,
न त अन्तिम बादशाह बहादुर शाह जफर नै।
समय बगेर गयो। मानिसहरू बदलिए। संस्था बदलिए। राजनीति पनि बदलियो।
तर केही स्मृतिहरू यस्ता हुन्छन्, जसले समयसँग हार मान्दैनन्। ती इतिहासका पानामा मात्र होइन, साक्षी बनेर बाँचिरहेका मानिसहरूको मनमा पनि अमिट भएर बसिरहन्छन्।

लेखक जयप्रकाश आनन्द वरिष्ठ राजनीतिज्ञ हुन् । वौद्धिक नेताका रुपमा परिचित उनी राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउँछन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस