पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेकी वरिष्ठ नेता चयन

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकअघि बसेको सचिवालय बैठकले भण्डारीसहित विभिन्न व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रस्ताव पारित गरेको हो । पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा लामो समयदेखि आन्तरिक छलफल हुँदै आएको थियो ।

छलफलपछि भण्डारीलाई केवल पार्टी सदस्यका रूपमा नराखी वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिएको हो । एमाले सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने जानकारी दिँदै उनको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आगामी कार्यभार प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकपछि प्रतिक्रिया दिँदै एमाले सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई विशुद्ध पार्टी सदस्य बनाएर मात्र राख्नु उपयुक्त नहुने बताइन् । उनको अनुभव र योगदानलाई ध्यानमा राख्दै वरिष्ठ नेताको जिम्मेवारी दिइएको अर्यालले स्पष्ट पारिन् ।

भण्डारीले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि सक्रिय राजनीतिमा फर्किने विषयमा एमालेभित्र लामो समयदेखि बहस हुँदै आएको थियो । पछिल्लो निर्णयसँगै एमालेमा उनको औपचारिक राजनीतिक भूमिका पुनः स्थापित भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस