स्वास्थ्यको सुरक्षामा ध्यान दिँदै मनाऔं दशैं

बडादशैं अन्तर्गत आज टीकाको दिन अर्थात असत्यमाथि सत्यको विजयोत्सवका रुपमा मनाईने दशैंमा अग्रजबाट आशिर्बाद लिने अवसर पनि हो । बडादशैंमा मीठोमीठो खाने, राम्रो लगाउने, लामो समय बाहिर रहेका आफन्तजन तथा ईष्टमित्रसित भेट गर्ने अवसर त जुट्छ नै ।

यसका साथसाथै विजयादसमीको टीकाको आफ्नै अलग महत्व पनि बोकेको छ दशैंले । खास गरी आफ्ना अग्रजबाट टीका जमरा लगाई आशिर्बाद लिने प्रचलनले हाम्रो सांस्कृतिक पक्षलाई पनि उजागर गरेको छ ।

कतिपय संस्कृतिविद्हरुले दशैंलाई यो कुनै धर्म वा जातिविशेषको चाड नभई विशिष्ट समन्वयकारी संस्कृतिका रुपमा रहेको तथा यसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ भनेका छन् । आज विजयादसमीका दिन लगाईने टीका कोजाग्रत पूर्णिमामा बिसर्जन गरिने प्रचलन रहेका कारण यस बीचमा पनि टाढाबाट आएकाहरुले टीका लगाउने परम्परा रही आएको छ ।

यस अर्थमा अझै पाँच दिन सम्म टीका लगाउन सकिने छ । आफन्तजनसित भेटघाटका साथसाथै मान्यजनबाट टीकाका साथै लिईने आशिषले हाम्रो सांस्कृतिक बैशिष्ठ्यालाई झल्काउने गरेको छ ।

आयु द्रोणसुते, श्रेयं दशरथे, शत्रुक्षयं राघबे
ऐश्वर्यं नहुषे, गतिश्च पवने मानञ्च दुर्योधने
शौर्यं शान्तनवे, बलं हलधरे,सत्यन्च कुन्तीसुते
विज्ञानं विदुरे, भवन्तु भवतां, कीर्तिश्च नारायणे ।।

दोणका छोरा अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो श्रेय होस्, रामचन्द्र जस्तै शत्रु नाश गर्न सकियोस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो मान सम्मान होस्, सूर्यका छोरा कर्णको जस्तो दानी स्वभाव होस्,बलरामको जस्तो बल होस्, कुन्तीपुत्र जस्तो सत्य बोल्ने स्वभाव होस्, विदुरको जस्तो ज्ञान होस् अनि नारायणको जस्तो कीर्ति होस् भनि दिईने आशिषले मानिसमा हौसला र उत्साह थप्ने गर्दछ ।

समग्रमा दशैं नेपालीहरुको सामाजिक,सांस्कृतिक तथा धार्मिक पक्षसमेतलाई समेटेको धरोहर हो । यसको सन्देशलाई व्यवहारमा उतार्न सकिए व्यक्तिमा उत्साहको जागरण मात्र नभई सत्मार्गको अबलम्बनमा समेत सत्प्रेरणा प्राप्त हुनेमा विश्वस्त हुने बलिया आधारहरु पनि रहेका छन् ।

कोरोना संक्रमणका कारणले यसपालिको दशैं फुक्का भएर मनाउने स्थिति रहेन । संक्रमणबाट जोगिनकालागि सामाजिक दूरी कायम गर्नु आवश्यक छ । स्वास्थ्यकर्मीहरुले पनि संक्रमणबाट जोगिनकालागि धेरै मानिससित घुलमिल नगर्न,स्वास्थ्य सम्बन्धि सचेतनामा ध्यान दिन आग्रह गरेका छन् ।

सरकारले पनि यसपालिको दशैं बाहिर नगई आफ्नै परिवारमा सिमित भई मनाउनकालागि आग्रह गर्दै आएको छ । चाडबाडको आनन्द त लिईन्छ, तर होस नपुर्याउँदा अथवा लापरवाही गर्दा चाहिँ संक्रमणको जोखिम बढ्ने भएका कारण सजगता अपनाएर चाडबाड मनाउन जरुरी छ ।

स्वास्थ्य सम्बन्धि सचेतना तथा सामाजिक दूरी कायम गरी चाडबाड मनाऔं । स्वास्थ्यका बारेमा लापरवाही भन्दा पनि सजगता अपनाएर दशैं मनाऔं । विजयादसमीको फेरि पनि सबैमा मंगलमय शुभकामना ।

Author:



क्याटोगरी छान्‍नुहोस