कंकालिनी मन्दिरमा बलि प्रथा : महानवमीमा कति चढाइयो राँगा ?

राजविराज, १० कार्तिक । कोभिड–१९ महामारीको असर हरेक क्षेत्रमा छ । यसले विश्व समुदायकै जीवनशैलीमा परिवर्तन ल्याएको छ भने सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रलाई तहसनहस नै पारेको छ ।

महामारीमै नेपालीहरुको महान पर्व बडादशैं पनि सुरु भयो । बडादशैंमा व्यापार–व्यवसाय, रोजगारी, अध्ययनका सिलसिलामा टाढा पुगेकाहरुसमेत दशैं मनाउन गाउँ–घर फर्कने चलन पनि केही हदसम्म कोरोनाले प्रभावित नै रह्यो ।

बडादशैंको महानवमी तिथिमा सप्तरीस्थित कंकालिनी भगवति मन्दिरमा दिइने राँगा बलि प्रथा पनि यस वर्ष प्रभावित भएको छ । चाडपर्वको बेला हुने भिडभाडले कोभिड–१९ को संक्रमण थप फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले असोज ३० गते सूचना जारी गर्दै मंसिर ७ गतेसम्मकालागि मन्दिर र शक्तिपीठ क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि राँगा बलि प्रथा प्रभावित भएको हो ।

दुई वर्ष यता ६ सयबढी राँगा बलि प्रदान हुँदै आएको मन्दिरमा यस वर्ष २८४ वटा राँगा बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ । समितिको तथ्यांकअनुसार गत वर्ष मन्दिरमा ६०४ वटा राँगाको बलि चढाइएको थियो ।

यसैगरी २०७५ सालमा ६३२, २०७४ सालमा ४९८, २०७३ सालमा ५५३, २०७२ सालमा ३९२, २०७१ सालमा ४४६, २०७० सालमा ३९१, २०६९ सालमा ३३७ वटा राँगाको बलि प्रदान भएको समितिको तथ्यांक छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी भगवती मन्दिरमा निःसन्तानहरुले सन्तान प्राप्तिका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले सफलताकालागि भाकल गर्ने परम्परा छ ।
भाकल पुरा भएपछि बडादशैंको महानवमी तिथिमा राँगा, खशी, बोका बलि चढाउने गर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस