कोरोना संक्रमणबाट पूर्व सांसद मानपुर चौधरीको मृत्यु

राजविराज, ११ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ४ जगतपुर निवासी दोस्रो संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मङ्गलवार अपराह्न मृत्यु भएको छ ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचाप सम्वन्धी रोगबाट पीडित रहँदैआएका उनको करिब ५५ वर्षको उमेरमा निधन भएको हो । एक साता अघि जहाज चढेर काठमाण्डौबाट बिराटनगर आएका थिए । तत्पश्चात घर फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास फेर्न समस्या भएपछि घरमा नै स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाएर उपचार थालिएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि असोज २ गते राति थप उपचारकालागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनको स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ आएपछि कोभिड अस्पतालको आइसोलेसन वाडमा भर्ना गरिएकोमा उपचारकै क्रममा स्वासप्रस्वासमा समस्या भई निधन भएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल अमरले जानकारी दिएका छन् ।
उनका अनुसार नेता चौधरीका एक पत्नी, ५ छोरी र एक छोरा रहेका छन् । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादीबाट सप्तरी क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

एसएलसीसम्म अध्ययन गरेका चौधरी हाल नेकपाको प्रदेश २ का सदस्यको जिम्मेवारीमा थिए । एकीकृत नेकपा माओवादीको मिथिला राज्य समितिको सचिवालय सदस्य समेत रहिसकेका उनी २०२६ सालमा नेकपा पुष्पलाल समूहबाट राजनीतिमा प्रवेश गरेका थिए । नेकपा एमालेमा रहेर जिल्ला सचिव समेत भएका थिए । २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । उनी तत्कालिन जगतपुर गाउँ विकास समितिको वडा अध्यक्ष, गाविस अध्यक्ष, जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित भएर जिम्मेवारी सम्हालेका थिए ।

२०३६ साल, २०४६ साल, तत्कालिन राजा ज्ञानेन्द्रको शाही शासन विरुद्ध, २०६२(२०६३ को जनआन्दोलनमा समेत स्व. नेता चौधरीले महत्वपूर्ण भूमिका निभाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस