मनोहर पोखरेलको ‘समाचार’ कथाको शल्यक्रिया

नन्दलाल आचार्य

१. सारसंक्षेप

कथा भन्ने र सुन्ने चलन धेरै पुरानो हो । यसले निश्चित नियममा बद्ध भएर स्वतन्त्र विधाको रूप चाहिँ निकै पछि लिएको हो । खासमा कथा शब्द ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर बन्दछ । यो आख्यान विधा अन्तर्गतको उपविधा हो । वैदिक, ब्राह्मण, उपनिषद्, पौराणिक कालखण्ड हुँदै र कथा, आख्यान, आख्यायिका हुँदै इसापूर्वदेखि कथा अस्तित्वमा आएकोे हो ।

पूर्वीय साहित्यकानुसार महाभारतमा आवेग र उत्तेजनामा नलागीकन आफ्नो स्वतन्त्र अध्ययनद्वारा वचनमय तपस्या सिद्ध गर्न सकिने तथा सत्य, शिव र सुन्दर हुने आख्यानलाई कथा भनिन्छ भनेर उल्लेख गरिएको छ । पाश्चात्य साहित्यमा भने कुनै एक चरित्रको जीवनको कुनै एक मार्मिक प्रसङ्गको सङ्क्षिप्त र नाटकीय रूपमा गरिएको प्रस्तुतिकरणलाई जे. डब्लू लीनले कथा मानेका छन् ।

कथालाई स्वतन्त्र विधाका रूपमा उभ्याउँदै मोहनराज शर्मा परिवेश, उपाख्यान र प्रतिक्रियाको अन्तर्निहित योजनामा बाँधिएर प्रतिफलित हुने लघुविस्तार भएका गद्य सङ्कथनलाई साहित्यमा कथा हो भन्दछन् । (शर्मा, २०५१ : १८) त्यसै गरी गोपीन्द्र पौडेलले आरम्भ र अन्त्य, विस्थापन र स्थापन अनि ध्वंश र निर्माता घटना शृड्खलाको समष्टि नै मानवनिर्मित मानव इतिहासको कथा हो भनेका छन् । (पौडेल, २०६५ : ग)

पूर्वमा ‘रामायण’ र ‘महाभारत’ लगायत गद्याख्यानको परम्परा र पश्चिममा ग्रिसेली पूराकथा र प्राचीन महाकाव्यहरूआख्यान–उपाख्यानका स्रोत हुन् ।हामीले भन्ने–सुन्ने कथा दन्त्यकथा, पूराकथा, लोककथामा पाइन्छ । कथा वेद, उपनिषद्, ब्राह्मणग्रन्थ, पुराण आदिमा आख्यान–उपाख्यानको रूपमा समेत परिचित छ ।

अहिलेको समसामयिक कथा लेखनको तौरतरिकालाई मध्यनजर लगाउँदा आयतनका हिसावले सानो हुने, परिवेश समेत सीमित रहने, पात्रहरू थोरै राखिने, समाजसापेक्ष प्रभावपूर्ण भाव वा घटना भएको लघु संरचनामा कथिने गद्यात्मक लेखोटलाई कथा भनिन्छ भन्दा उपयुक्त हुन्छ । कथामा संरचक घटकका रूपमा कथावस्तु, पात्र, परिवेश, उद्देश्य, संवाद, भाषाशैली, दृष्टिविन्दु जस्ता आधारभूत तत्वहरु समाविष्ट हुन्छन् ।

पहिले उपदेशात्मक, नीतिपरक, तिलस्मी, ऐयारी प्रकृतिका कथा अनुवाद, भावानुवाद र लेखन हुन्थे । वि.सं. १९९० पछि मात्रै आदर्शोन्मुख यथार्थवादी एवम् मनोवैज्ञानिक प्रवृत्तिका साथ नेपाली कथा लेख्न थालियो र कथा विधाले आधुनिककालमा प्रवेश पायो । यसको श्रेय गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाहरूलाई जान्छ । अचेल भने प्रगतिवादी, विसंगतिवादी, अस्तित्ववादी, आयामेली, प्रयोगवादी, नवचेतनवादी, डायस्पोरिक तथा समसामयिक प्रवृत्ति÷विषयका कथाहरू देखापरेका छन् ।

राजविराज नगरपालिका ६, सप्तरी निवासी निर्वाण कुमार पोखरेल र मेनकादेवी बस्नेत पोखरेलका कान्छा सुपुत्र मनोहर कुमार पोखरेल (२०२७) साहित्य, पत्रकारिता, मानवअधिकार र समाजसेवाका क्षेत्रमा रातोदिन सक्रिय छन् । २०५० सालदेखि उनकोे कलम कविता, कथा,निबन्ध,लेख,समीक्षा आदिमा सक्रियताका साथ चलेको पाइन्छ ।

कानुनमा स्नातक पोखरेलको साहित्य सिर्जना एक प्रकारको रहर र लहड हो । देखेका कुरा लुकाउन र आफूमा मात्रै सीमित राख्न नसक्ता उनी साहित्यकार बनेका हुन् । उनी मूलतः अधिकारकर्मी, पत्रकार र सामाजिक कार्यकर्ता भनेर आफूलाई चिनाउन रुचाउँछन् । हाल उनी सगरमाथा साहित्य परिषद्का अध्यक्षका रूपमा सप्तरीको साहित्य रथ हाँकिरहेका छन् ।उनी प्रगतिशील लेखक संघ, सप्तरी शाखासँग समेत आबद्ध छन् । सगरमाथा आवाज साप्ताहिकका प्रधान सम्पादक समेत रहेका उनी राजविराजबाट प्रकाशित हुने आजको वातावरण दैनिकका कार्यकारी सम्पादक समेत हुन् ।

सप्तरी उद्योग बाणिज्य संघद्वारा २०७० मा प्रकाशित स्मारिकाको सम्पादक, जनमत प्रकाशन बनेपा–७ काभ्रेद्वारा असोज २०७६ मा प्रकाशित जनमत साहित्यिक मासिक अङ्क २६४ को अतिथि सम्पादक, सप्तरी जिल्ला अदालतको सामाजिक कार्यकर्ताका साथै अन्नपूर्ण पोस्ट र इन्सेकको सप्तरी जिल्ला प्रतिनिधि भएर काम गरिरहेका छन् ।उनी ब्लड डोनर्स एशोसिएसन, राजविराज जेसीज (सन् २०१३), लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल, सप्तरी जस्ता संघसंस्थाहरूको अध्यक्ष भएर काम गरेका र कतिपयमा अझै गरिरहेका छन् ।

अर्कातिर मेलमिलाप समन्वय समिति, सप्तरी (एकद्वार संकट व्यवस्थापन केन्द्र, सप्तरी) समुदाय प्रहरी साझेदारी समन्वय जिल्ला समिति, सप्तरीजस्ता सामाजिक संस्थाहरूका सदस्य समेत हुन् ।उनी सामुदायिक सेवा केन्द्र, सप्तरीका सल्लाहकार समेत रहेका छन् ।

उनका तराई मधेस भावभूमिका प्रतिनिधि कथा छान्दा ‘सजीव पिलर’, ‘भरोसा’, ‘समाचार’ शीर्षकका कथाहरू उत्कृष्ट छन् । उनको २०७६ असोजमा प्रकाशित जनमत सप्तरी साहित्य विशेषमा सर्वप्रथम प्रकाशित ‘समाचार’ शीर्षकको कथामा तराई मधेसको दुःखान्त परिवेशलाई सजीवताका साथ चित्रण गरेको पाइन्छ ।

घरबारीमा खोलाबाढी पसेर बालुवा थुपारेपछि मुटुभन्दा प्यारा तीन सन्तान र श्रीमती रानीलाई हनुमाननगर स्थित पुर्खेउली झुपडीमा छाडेर सूर्यनारायण मण्डल साउदी अरब भासिएका थिए । यता जेठी छोरी प्रतिमा र छोरो प्रदिप बोर्डिङ स्कूल पढ्दै गरेको र कान्छी दुधेछोरी प्रमिला आमाको काखमा लुटपुटिइरहेको कुरा सुनेर उनी आनन्दित भएका थिए । बाकसभरि हुने गरी पैसा कमाएर आइएमीइबाट पठाएका थिए । अब त रिन तिर्न, एउटा सानो पक्की घर बनाउन र सन्तानलाई शिक्षादीक्षा दिन पुग्ने ठह¥याइ उनी घर फर्केका थिए । घरको ढोका उघार्दा केवल रित्तो मात्र पाएर तीन छक्क परे ।

पत्नी र छोराछोरीको खोजी गर्दा रानी मलेकपुरको शिवशंकर मालीसँग विवाह गरेर काठमाडौँ हिँडिसकेकी, जेठी छोरी र छोरा मावलीको रेखदेखमा रहेका र कान्छी छोरीको अवस्था अज्ञात रहेको थाहा पाए । प्रहरीको सहयोगले रानी र शिवशंकर पक्राउ परे । केरकार गर्दा डेढ वर्षे छोरी प्रमिलालाई प्रेमीको उक्साहटमा आमा स्वयम्ले मारी भलुवाई नदीमा लास दवाएको रहस्य खुलेको छ । त्यसपछि उनीहरू दुबै प्रेमीप्रेमिका जेल परे ।

यता सूर्यनारायणले अमेरिका नाम गरेकी युवतीसँग विवाह गरी छोरी पनि जन्माएका छन् । र, रोजगारीका लागि विदेश जाँदै आउँदै गर्छन् । जति चोटी जान्छन्, आउँछन् मुहार उदास, उदास बनाउँछन् । पत्रकारिता पेशामा आबद्ध ‘म’ पात्रले उनको बारेमा समाचार लेखिरहन्छन् । पछिल्लो पटक उनलाई देख्दा पनि ‘म’ पात्र उनमै समाचार खोज्न थाल्छन् ।

२. शब्दकुञ्जिका : समाचार, उद्यम, लेखोट, अड्डाअदालती, सम्झौता, जाँगर, दलाल, मूर्तरूप ।

३. विषय प्रवेश :

समाजका जल्दाबल्दा परिस्थिति र घटनालाई कथानक बनाई कथा लेख्ने कथाकार मनोहर कुमार पोखरेलको समाचार शैलीमा लेखिएको ‘समाचार’ कथामा वर्तमान परिस्थितिमा आम युवाहरूको भोगाइलाई हुबहु लेखोट गरिएको छ ।

मनमा आँधी चलाउने खालको नियतिले ठगिएको परिस्थिति समेट्ने ध्येयले सिर्जित ‘समाचार’ कथाले साहित्यको क्षेत्रमा नवीनता भित्र्याएको छ । हातमुख जोर्ने क्रममा विदेसिँदाको पीडा कथामा वर्णित छ । सोचेजस्तो नहुने, नियतिले पढाएजस्तो मात्रै हुने र समग्रमा सम्झौतामा जीवन बाँच्नुपर्ने अवस्थालाई सफलताका साथ चित्रण गर्ने क्रममा कथाले आकार लिएको देखिन्छ ।

४. ‘समाचार’ कथाको अध्ययन :

मनोहर कुमार पोखरेलको तीन पृष्ठ ढाकेको ‘समाचार’ शीर्षकको कथा मझौला किसिमको कथा हो । यसले तराई मधेसको प्रतिनिधि घटनालाई आफ्नो कथ्य बनाएको छ । यसमा लामालामा १९ अनुच्छेद छन् । छोटा अनुच्छेद छैनन् ।कथामै तिथिमिति र न्यायकर्मीहरूको नामसहित यथार्थपरक विवरणहरू समेत उल्लेख छन् । अड्डाअदालती कुराहरू मनग्यै आएका छन् ।

पहिलो अनुच्छेदमा विदेश जाँदा मौन भएर जाने र स्वदेश फर्कंदा भने कसैले आँसु कसैले हाँसो लिएर फर्केको देख्दा पत्रकारिता पेशामा आवद्ध ‘म’ पात्रले त्यस परिस्थितिलाई समाचार बनाउँथेँ भन्ने स्विकारोक्ति ओकलिएको छ । जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थेंँ । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ । (पोखरेल, २०७६ : २२)

दोस्रो अनुच्छेदमा भने राजविराज बसपार्कको परिवेश उल्लेख छ । विदेश जाने र आउनेहरूको बाटो बसपार्क नै भएको उल्लेख छ । त्यही बाटो भएर विदेश कमाउन गएकाहरू कतिपय कहिल्यै फर्किएनन्, कतिपय त्यही बाटो भएर आउनेहरू पुनः फर्केर गएनन्, कतिपय दलालको चँगुलमा परेर विदेशमै अड्किए भनेर यथार्थपरक तवरले चर्चा गरिएको छ । अझ बाकसभरि पैसा ल्याउने सपना बोकेर उडेका तर आफैं बन्द बाकसमा उतारिएका पनि भेटिन्छन् भनेर समाचारको भाकामा उल्लेख गरिएको छ ।

यस्तैमध्येका हनुमाननगरका सूर्यनारायण मण्डलको अनुहार हमेशा सम्झने कुरा तेस्रो अनुच्छेदमा आएको छ ।सूर्यनारायणलाई अरूबेला हँसिलो मुहारमा भेटिएको तर यस पटक जाँगर मरेको अवस्थामा भेट्नुपर्दा ‘म’ पात्रको मनमा खुल्दुली लागेको प्रसङ्ग छ ।

चौथोदेखि बाह्रौँ अनुच्छेदसम्ममा भने सूर्यनारायण पाँच वर्ष अघि २५ वर्षीया श्रीमती र कलिला छोराछोरीलाई छाडेर साउदी अरब गएको≤सप्तकोशी नदी, त्रियुगा, खाँडो र महुली खोलामा वर्षेनी आउने बाढीले खेत बालुवाले पुर्दै गएपछि विदेशिन बाध्य बनेको≤तीन सन्तानको जीवनस्तर उकास्ने वाध्यता अनुभूत भएको≤उनको सानो पक्की घर बनाउने धोको समेत रहेको≤ पछि साउदी अरबबाट झोला भरिने गरी पैसा पठाएर घर आउँदा घरै रित्तिसकेको कुराहरू आएका छन् ।

तेह्रदेखि अन्तिम अनुच्छेदसम्ममा भने पत्नी रानी र काखे छोरीको खोजतलासका लागि २०७३ साउन ३० गते प्रहरीमा हुलिया जाहेरी दिएको,२०७३ असोज १२ गते शिवशंकर मालीसँग रानी काठमाडौं भागेको ज्ञात भई पक्राउ परेका, फेसबुकमार्फत्नै रानी र मालीको सम्बन्ध जोडिएकोर उनीहरूबीच अन्तरंग कुराकानी हुने गरेकोे, सूर्यनारायणले रगत, पसिना बगाएर कमाएको पैसा मात्रै नभई दूधे छोरी पनि गुमाएको खुल्न आएको, प्रहरीको केरकार पछि पक्राउ परेको दुई दिनमै उनीहरूले प्रमिलाको हत्या गरेको स्वीकारेका, जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले २०७३ कात्तिक ८ गते पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका, छोरीको हत्या गरी खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएपछि सप्तरी जिल्ला अदालतले २०७५ फागुन १५ गते दुबै आरोपितलाई जन्मकैद सजायको अन्तिम फैसला सुनाएको, बालिकाको हत्यापछि शव दबाउने अभिप्रायले खोलामा बगाएकाले उनीहरूलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले थप ६ महिना कैद थपेका, त्यसपछि सूर्यनारायणले गाउँकै अमेरिकादेवीसँग विवाह गरेको, दोस्रो विवाहपछि उनी यस्तै सपना बोकेर पुनः साउदी अरब हानिएका, साढे एक वर्ष पछि साउदी अरबबाट फर्किंदा उनको अनुहारमा उमंगको साटो सन्त्रासका रेखाहरू भेटिएको, रानीलेझैँ अमेरिकाले पनि धोका दिन्छे की भन्ने आशंका ज्युँदै रहेको खुलासा जस्ता प्रसङ्ग आएका छन् ।

४.१. ‘समाचार’ कथाको कथानक :

कथानक आदि, मध्य र अन्त्यको रैखिक ढाँचा तथा वर्तमानबाट अतीततिर फर्किएको वृत्ताकारीय ढाँचामा तयार पारिन्छ । कथानक भनेको कथाको आकार हो । विस्तारपूर्ण कथा योजना हो । यसलाई कथाको अस्थिपञ्जर मान्ने गरिन्छ ।

कथालाई कथावस्तुले आकार दिन्छ । विनाशरीर मानवको कल्पना असम्भव भएजस्तै कथावस्तुबिना सार्थक कथा बन्दैन । बने पनि अरू नै विधा बन्दछ । तथापि केही प्रयोगधर्मी कथाकारहरूले कथानकहीन कथा लेख्ने, अकथा सिर्जना गर्ने गरेको पनि पाइन्छ ।

कथामा घटनावलीको योजना अथवा अभिरेखा अथवा ढाँचा नै कथानक हो (शर्मा, २०५० : २१) भनेबाट पनि कथानकको महŒव स्पष्ट हुन्छ । पूर्णता भनेको आदि, मध्य र अन्त्य भाग रहनु हो । त्यस्तै एकान्विति भनेको कथानकबाट एउटै घटना झिक्ता पनि संरचना भताभुङ्ग हुने स्थिति हो । (शर्मा, २०५० : २१) उनी कथानकलाई कथाको आत्मा नठानिए तापनि कथारूपि भवनको भित्ता मान्दछन् । (शर्मा, २०५० : २९) कथावस्तु भन्नु नै स्वयम् कथाकारको विचार, धारणा वा अनुभूतिको मूर्त अभिव्यक्ति वा प्रस्तुति हो । (श्रेष्ठ, २०५७ : ०९)

‘समाचार’ कथामा वैदेशिक रोजगारी जाँदा यता नेपालमा भएको विकृतिलाई उदाङ्गो पार्ने कथा हो । सूर्यनारायणले विदेश गएर जति धन कमाए पनि परिवारजन गुमाउनु परेको कारुणिक घटना उल्लेख छ । रानी र शिवशंकरले नयाँ घरजम गर्दा उनको पारिवारिक जीवन बिथोलिएको छ । परिवारको रथ चलाउन उनले अमेरिकासँग लगनगाँठो कसेका छन् ।

नाबालक कान्छी छोरी मारेको आरोपमा रानी–शिवशंकर नव दम्पती जेल चलान भएका छन् ।यसरी सामाजिक संजालको दुरुपयोग गरी परपुरुषसँग अन्तरंग व्यवहार गरी परिवारको धरोहर भताभुङ्ग पारेको कहालिलाग्दो अवस्थाको चर्चा कथामा छ । यता नियतिलाई सहर्ष स्विकार गरेर सूर्यनारायणले जीवनवादी दृष्टिकोण अपनाएका छन् ।

जीवनयापनका लागि उनले खाडी मुलुक नपसी हुन्न । जाँदा पनि परिवारबाट बिछोड हुनुपर्दाको पीडा उनको अनुहारमा देखिन्छ । धन कमाएर फर्कँदा पनि नवपत्नी अमेरिकाले पूर्व पत्नी रानीले झैँ आफूलाई डुबाइ त रहेकी छैन भनेर आशंका गर्न वाध्य हुन्छन् ।

यसरी धन आर्जन गर्न गएकाहरूको पसिनाको खेती स्वदेशमै आफ्नै परिवारजनबाट धरापमा पर्दै गएको देखाएर होसियार बन्न सतर्क गराएको छ । त्यस्तै नेपाली समालोचक मोहनराज शर्माले कथानकका अङ्गका रूपमा (क) आदि (ख) मध्य र (ग) अन्त्यलाई स्वीकार्दै यस अङ्गका पनि (अ) चिनारी (आ) सङ्घर्ष र विकास (इ) चरम (ई) सङ्घर्षह्रास (उ) उपसंहार आदि अवस्थाहरूको चर्चा गरेका छन् । (शर्मा, २०५० : २४) दयाराम श्रेष्ठले पनि कथावस्तुमा प्रारम्भ, मध्य र अन्त्यको शृङ्खलाबद्ध अनुशासन रहनुपर्ने स्वीकारेका छन् (श्रेष्ठ, २०५७ : १०) । कथानककै आधारमा चरित्र, घटना, परिवेश आदिको चयन एवं विस्तार गरी कथा तयार गरिन्छ । यस मानेमा भने ‘समाचार’ कथामा फितलोपन भेटिन्छ ।

४.२. ‘समाचार’ कथाको पात्र :

कथा बन्न मानवीय वा मानवेतरमध्ये कुनै पात्र हुनुपर्छ । पात्रको कार्यव्यापारले कथानकको निर्माण हुन्छ । मोहनराज शर्मा पनि कथामा पाइने व्यक्तिलाई चरित्र वा पात्र भन्दछन् । (शर्मा, २०५० : २९) कथाका व्यक्तिहरूलाई देखाउने ढङ्ग चरित्रचित्रण हो । पात्रले जन्माउने कथानकबाट चरित्रचित्रण छर्लङ्ग हुन्छ । चरित्र प्राण मानिन्छ भने कथानकलाई कथाको शरीर ठानिन्छ । प्राणका अभावमा शरीर सारहीन भएझैँ शरीरका अभावमा प्राण पनि निराधार र अमूर्त हुन्छ ।

यर्सैका आधारमा ‘समाचार’ कथामा सूर्यनारायण, रानी, शिवशंकर, अमेरिका जस्ता पात्रको विशेष भूमिका छ । यसका आलवा प्रतिमा, प्रदिप, प्रमिला, प्रहरी, वकिल, न्यायाधीसहरूको चर्चा र क्रियाशीलता छ ।

‘समाचार’ कथामा ‘म’ पात्र, सूर्यनारायण मण्डल र अमेरिका सुपात्र हुन् । शिवशंकर माली र रानी कुपात्र हुन् । प्रतिमा, प्रदिप र प्रमिला निरीह, गौण, सुपात्र र नेपथ्य पात्र हुन् । अरू प्रहरी, वकिल, न्यायाधीसहरू सुपात्रका रूपमा रहेका छन् । पात्रविधानमा कथाकारले सामान्यपन अपनाएका छन् ।

खल पात्रलाई कठोर कुकार्य गर्न उक्साए पनि सुपात्रलाई आफू अन्यायमा परेको आवाज बुलन्द गराउन भुलेका छन् । कथामा प्रगतिशील चेत छ तर झ्याङ्गिन सकेको छैन । अन्यायको आभाष छ, न्यायका लागि जुधेको अवस्था छ । अरू पात्रको भन्दा म पात्रकै विचारले बाहुल्यता भेटेको छ । संवाद प्रयोगमा कन्जुस्याइँ गरिएको छ ।

४.३. ‘समाचार’ कथाको दृष्टिबिन्दु :

वास्तवमा आख्यानकारले चरित्र, त्यसले गर्ने कार्यव्यापार, आख्यानको परिवेश आदि अभिव्यक्त गर्ने तौरतरिकालाई दृष्टिबिन्दु भनिन्छ । कसको कथालाई कसले भनेको हो भन्ने प्रश्नको जवाफले दृष्टिबिन्दु ठम्याउँछ ।दयाराम श्रेष्ठ कथाकार र पाठक बीचको सम्बन्धसूत्रलाई दृष्टिबिन्दु ठान्दछन् । (श्रेष्ठ, २०५७ : ११)

दृष्टिबिन्दुले कुनै कथा कहाँ उभिएर कुन लेखकीय धरातलबाट भनिएको छ र त्यस कथालाई कहाँबाट उभिएर कुन धरातलबाट हेर्ने भन्ने जनाउँछ । (शर्मा, २०५० : ४९)आफ्ना कथामा पोखरेल दृष्टिविन्दुको प्रयोगमा पनि विविधता देखाउँछन् । उनका कथाहरू कार्यकारण–शृङ्खला खजमजिएको अनुभूत हुन्छ । उनी कथातत्वमा राम्रो कला देखाउन प्रयत्नरत् कथाकारका रूपमा चिनिएका छन् । उनका अरू कथाहरू अझ परिष्कृत छन् ।

‘समाचार’ कथामा भने समाचार संकलन गर्ने क्रममा ‘म’ पात्र राजविराजको गजेन्द्र चौकस्थित चिया पसलमा अलमलिँदा विदेश र आउनेको लर्को देखेर सोही दृष्यलाई कथामा उतारेका छन् । उनले आफ्नो दृष्टिले देखेका, सुनेका अनि बुझेका कहिरनहरूलाई नै वर्णन गरेका हुनाले प्रथम दृष्टिबिन्दुको प्रयोग गरेको पाइन्छ ।

तलको कथांशबाट समेत प्रथम दृष्टिबिन्दुको बोध गर्न सकिन्छ– हनुमाननगरका सूर्यनारायण मण्डलको अनुहार हमेशा सम्झिन्छु । उनको मुखबाट सोंचेझै काम र दाम पाएको सुन्दछु । हँसिलो अनुहारका साथ फर्किने उनी यसपटक भने सशंकित देखिए । तीन वर्ष अघि भिसा नवीकरण गर्न फर्कदा उत्साहित थिए । यसपटक भने जाँगर मरेको अवस्थामा भेटिए । मेरो मनमा अझ खुल्दुली जागिरह्यो । (पोखरेल, २०७६ : २२)

यहाँ ‘म’ प्रथम पुरुषले उनी अर्थात् सूर्यनारायण मण्डलको कथा भनिरहेकाले र आफ्नो बुझाइ अभिव्यक्त गरिरहेकाले प्रथम दृष्टिबिन्दुको प्रयोग भएको ठान्नुपर्छ ।

४.४. ‘समाचार’ कथाको रूचिक्षेत्र :

आफ्नो समाज र संस्कृति छाडेर पराइ भूमिमा पसिना बेच्न विवस नेपालीहरूको पीडालाई सम्बोधन गर्ने मनसायले समाचार कथा सिर्जना भएको हो । यसमा विशेषतः सप्तरी जिल्लाका प्राकृतिक विपत्तिले सिरिसुरी भएका सूर्यनारायण र रानीको संसारमा शिवशंकरको खलनायकी प्रवेशले विष घोलिदिएको देखाइएको छ ।

अर्काको लहैलहैमा लागेर आफ्नो धर्मनिर्वाह गर्न चुकेकी रानीको चरित्रबाट समाजले पाठ सिक्न आवश्यक छ । अर्कातिर २५ वर्षिय लक्का जवान पत्नी र नाबालक सन्तानलाई एक्लैदोक्लै छाडेर परदेशिनु र अन्धोभक्त भई पत्नीलाई विश्वास गर्ने सूर्यनारायणको चरित्रबाट आजका तमाम युवाले शिक्षा लिनुपर्छ भन्ने चाह कथामा छ ।

४.५. ‘समाचार’ कथाको रूपविन्यास :

दयाराम श्रेष्ठले कथावस्तुलाई एउटा निश्चित आकार प्रदान गरिसकेपछि कथाकारले त्यसलाई सुन्दर बनाउन प्रयोग गरिने युक्ति नै रूपविन्यास हो भनेका छन् । यसभित्र पदविन्यास, विम्बविधान, व्यङ्ग्य, प्रतीकविधान, तुलना/प्राक्सन्दर्भ/उपमा, शीर्षक आदि पर्ने कुरा पनि उल्लेख गरेका छन् । अर्कातिर उनले कथाबाट अर्थ (अभिधामूलक वा अन्योक्तिमूलक जुनसुकै होस्), सारवस्तु, कथावस्तु आदिलाई पृथक गरेर हेर्दा त्यसमा बाँकी जे देखिन्छ त्यही नै रूपविन्यास हो भनेका छन् । (श्रेष्ठ, २०५७ : १२–१३)

यस हिसावले ‘समाचार’ कथा सामान्य कोटीको कथा हो । यसको बनोट र बुनोटमा समेत सामान्यपन भेटिन्छ । पदविन्यासका दृष्टिले समाचारमूलक शैली पाइन्छ । पदको रखाइमा समाचारको गन्ध भेटिन्छ । केहीलाई थाँती राखी भन्ने हो भने अधिकांश लामा वाक्यको प्रयोग भएको छ ।प्रतीक र बिम्बको समुचित प्रयोगमाकमजोरी भेटिन्छ । ठूलो सपना एक्कै पटक घुमिल भएको देखाएर महत्वाकांक्षी विचार राख्नुहुन्न भनिएको छ । मूलतः मानवको बेहोसीपनप्रति व्यङ्ग्य गरिएको छ ।

पत्रकारिता पेशामा लागेका व्यक्तिको ध्यान समाचारतिर नै हुन्छ । उनीहरू हरेक गम्भीर कुरालाई समाचारको रूपमा हेर्ने गर्दछन् । शैलीको नमुना–

माया र ममताकी खानी आमाबाट यस्तो हुने सक्ने उनले कल्पनै गरेका थिएनन् । प्रेमीको शर्त र दवावमा रानीले अपराधमाथि अपराध गर्दै गइन् । दुधे बालिकालाई अवरोध ठान्दै पन्छाइन् । पक्राउ परेका उनीहरू जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परे । बालिकाको हत्या गरी राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएपछि सप्तरी जिल्ला अदालतले ०७५ फागुन १५ गते दुबै आरोपितलाई जन्मकैद सजायको अन्तिम फैसला सुनायो । बालिकाको हत्यापछि शव दबाउने अभिप्रायले खोलामा बगाएकाले उनीहरूलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले थप ६ महिना कैद थपे । (पोखरेल, २०७६ : २४)

कथामा सूर्यनारायण आर्थिक पीडाले रन्थनिँदै विदेश गएको अवस्थामा एउटा समाचार बनेको छ । पैसा कमाएर फर्कंदा हाँसो च्यापेको थियो । घर पुग्दा नपुग्दै आँसुमा परिणत भएको कहिरन अर्को समाचार बनेको छ ।यसरी मानवका गम्भीरताहरू समाचार हुन् र हुन सक्ने भाव आएकोले शीर्षक सार्थकता अनुभूत हुन्छ ।

नायक पात्रको सोझो पन र खलनायकको बाङ्गोपनको अप्रत्यक्ष चित्रण कथामा छ । नाटकीयपन कमजोर छ । वर्णनात्मक शैलीको प्रयोग छ । ‘म’ पात्र सर्वज्ञ भएर कथामा आएको छ । ‘समाचार’ कथाको भाषा समाचारको जस्तै यथार्थपरक तिथिमिति र ठाउँगाउँसहितको यथार्थपरक छ । समग्रमा कथा पठनीय छ ।

४.६. ‘समाचार’ कथाको सारवस्तु :

जुन कथाकृति पढेपछि समग्रमा हामीजुन भावार्थ अथवा अभिप्राय पाउँछौँ, त्यही नै सारवस्तु हो । (श्रेष्ठ, २०५७ : १२)
यसै आधारमा खुट्याउँदा ‘समाचार’ कथामा विशेषतः तराई मधेसको आर्थिक दुरावस्थाको सजीव चित्रण गरेको पाइन्छ । विपत्तिले गाँजेपछि विदेशिन वाध्य भएको मधेसी ठिटाको टिठलाग्दो कथानक छ । रानीजस्ता विश्वासघाती स्त्रीले नेपालयीय मैथिल नारी स्वभाव त्यागेर सूर्यनारायणलाई मात्रै नाङ्गेझार पारेकी छैन, शिवशंकरको जीवनलाई पनि नर्कमा हुलेकी छे । काखे नानीको बाँच्ने हक छिनेर निर्दयी आमा कहलाएकी छे । अर्कातिर आफ्नो संसार बनाउने नाममा अर्काको संसार नर्कतुल्य पार्ने र सोझी नारीलाई नानाभाँतीका प्रलोभन र आश्वासनले अन्धी बनाएर अपराधमाथि अपराध गर्न उक्साउने शिवशंकरजस्ता नरपशुलाई समेत पात्र बनाइएको छ ।

५. ‘समाचार’ कथाको निष्कर्ष :

कथा केही प्राप्तिका लागि लेखिन्छ । समाजलाई सकारात्मक दिशानिर्देश गर्नु कथाको उद्देश्य हुन्छ । कथाकार मनोहर कुमार पोखरेलका कथाहरू पनि उद्देश्यपरक छन् । प्रस्तुत ‘समाचार’ कथाले पनि कसैप्रति आँखा चिम्लेर विश्वास र भरोसा राख्नुहुन्न, राख्नै परे पनि आँखा खोलेर राख्नुपर्छ भन्ने विचार परोक्षरूपमा प्रवाह गरेका छन् ।

उनका धेरैजसो कथा सामाजिक, मनोवैज्ञानिक, स्वैरकल्पनात्मक र समसामयिक विषयमा आधारित भएर लेखिएका छन् । उनका कथामा स्थानीयता र आञ्चलिकताको सुभाष पाइन्छ । उनी चौबिसै घण्टा मैथिली र थारू भाषी वक्ताहरू, शिक्षित र अशिक्षित नरनारीहरू अनि बुझ र अबुझ नानीबाबूहरूकै वरपर रहेर आफ्नो पेशेवर कार्यव्यापार गरिरहेका हुन्छन् । त्यसैले पनि तिनै निमुखा वर्गलाई कथामा अँटाउने काम गर्ने गर्छन् ।बिनाउद्देश्य साहित्यिक रचना सिङ्गारिएको लास जस्तै अर्थहीन हुने मान्यता समाजवादी यथार्थवादी साहित्यकारहरूको हुन्छ । यस बुझाइमा भने कथाकार पोखरेल स्पष्ट छन् ।
समाचारको खोजीमा रातोदिन जुट्ने र विपत्तिमा फँसेकाहरूको उद्दारमा खट्ने कलमपारखी पोखरेलले समाचार शैलीको ‘समाचार’ कथामा पारिवारिक झमेलालाई मूर्तरूप दिएका छन् । सबैप्रति मायालु व्यवहार गर्नू तर अन्धो भएर कसैप्रति विश्वास नगर्नू भन्ने सन्देश प्रवाह गर्न सफल देखिन्छन् ।

सन्दर्भ–सामग्री
१. पोखरेल, मनोहर कुमार (२०७६), ‘समाचार’, जनमत,साहित्यिक अङ्क २६४, वर्ष ३५, अङ्क ०९, पृष्ठ २२–२४, काभ्रे : जनमत प्रकाशन ।
२. पौडेल, गौपीन्द्र, (२०६५), कथाको सौन्दर्यशास्त्र, काठमाडौँ : उर्मिला पौडेल ।
३. शर्मा, मोहनराज (२०५०), कथाको विकास प्रक्रिया, काठमाडौँ : साझा प्रकाशन ।
४. श्रेष्ठ, दयाराम (२०५७), नेपाली कथा भाग ४, काठमाडौँ : साझा प्रकाशन ।
५. सुवेदी राजेन्द्र (२०६४), नेपाली उपन्यास परम्परा र प्रवृत्ति (दो.सं.), काठमाडौँ : साझा प्रकाशन ।
०००००००००००००००

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780