चन्द्रशम्शेरले बनाएको ऐतिहासिक चन्द्रनहरः यस्तो छ इतिहास

श्यामसुन्दर यादव

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्वर १ (साबिक गाउँ विकास समिति फत्तेपुर)मा रहेको छ देशकै सबभन्दा पुरानो नहर । ऐतिहासिक एवम् पर्यटकीय सम्भावना बोकेको चन्द्रनहर प्रणाली वि.सं. १९८० सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण कार्य सुरू गराएका थिए । वि.सं. १९८४ सालमा निर्माण कार्य सम्पन्न भएको चन्द्रनहरले सप्तरी जिल्लाको पूर्वी तथा मध्य भागमा सिंचाइ गर्ने उद्देश्यका साथ त्रियुगा नदीमा डाइभर्सन गरी नहर निकालिएको थियो । उक्त सिंचाई प्रणाली सुर्खी चुना, ईट र फलामको प्रयोग गरी निर्माण गरिएको हो ।

चन्द्रशम्शेरद्वारा बनाइएकोले यस नहर प्रणालीलाई चन्द्रनहर प्रणाली भनिएको हो । चार ओटा शाखा नहर र मूल नहरको ३३ ओटा आउटलेटबाट सप्तरीको तात्कालिन २९ ओटा गाउँ विकास समितिको करिब १० हजार ५ सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको थियो । यद्यपि उक्त नहर हाल जीर्ण हुुनुका साथै मूल तथा शाखा नहरहरूमा बालुवाले पुरिनुका साथै ठाउँ–ठाउँमा टुटफुट हुन गई हाल करिब पाँच हजार हेक्टर जमीनमा मात्र सहज रूपमा पानी पुग्ने गर्दछ । यस अतिरिक्त चन्द्रनहरको डिल तथा मुहानको जग्गा व्यापक अतिक्रमण भएको छ ।

ऐतिहासिक सम्पदाको सूचीमा समेत सूचिकृत रहेको यस नहरमा ५० क्युसेक पानी सदुपयोग गर्नका लागि चन्द्रनहरलाई ५.३७ किलोमिटरसम्म विस्तार गरिएको छ । यो नहरको पानीलाई सदुपयोग गर्दै किसानहरुले धान, गहुँ, चैते धान, दलहन तथा तेलहन बाली उब्जाउने गर्छन् ।

चन्द्रनहर हेडवान क्षेत्रमा दिनहुजसो पर्यटकहरू घुम्न तथा वनभोज गर्नका लागि आउने गर्दछन् । यहाँ खासगरी अङ्ग्रेजी सम्वत अर्थात फस्ट जनवरी र नयाँ वर्षको अवसरमा सप्तरी, सुनसरी, मोरङ, सिरहासहित भारतको विहार राज्यको विभिन्न क्षेत्रहरूबाट आगन्तुक तथा पर्यटकहरू आउने गर्दछन् । चन्द्रनहर हेडवानमा वनभोज स्थल निर्माण गरिएको छ ।

यहाँको मनोरम दृश्य एवम् ऐतिहासिक संरचनाहरू हेरेर जो कोही पनि लोभिने गर्दछन् । यद्यपी यो क्षेत्रमा पर्यटकलाई लक्षित गरी भौतिक संरचनाहरु निर्माण हुनु आवश्यक छ । यो क्षेत्रलाई व्यवस्थित गरिए पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा सावित हुन सक्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस