संविधानमा सर्वस्वीकार्यता

आज संविधान दिवस । जनताबाट निर्वाचित प्रतिनिधिका रुपमा रहेका संविधानसभाका सदस्यहरुले बहुमतबाट संविधान निर्माण गरी जारी भएको दिनका रुपमा यो दिवस मनाइँदै आएको छ । संविधानले मुलुकमा गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिक जस्ता विषयको ग्यारेण्टी गरेको भनिएपनि यस प्रतिका सबै असन्तुष्टीको अहिले पनि सम्बोधन नभएको भन्दै यसलाई संशोधन गरेर ती असन्तुष्टीहरुको सम्बोधन गरिनु पर्ने माग उठ्दै आएको छ ।

निर्माणको चरणदेखि नै अहिलेसम्म संबिधानका कतिपय विषयमा असहमति जाहेर गर्दै विशेषतः मधेशमा संबिधान जारी भएका दिन ‘ब्ल्याक आउट’ गरिएको थियो । यस अर्थमा कतै दीपावली त कतै ‘ब्ल्याक आउट’को अवस्थामा संविधान जारी भएको विदितै छ ।

अहिले पनि हरेक वर्ष असोज ३ का दिन संविधान दिवस त मनाईन्छ । तर, विशेष गरी कोर मधेशका रुपमा चिनिने प्रदेश २ का आठ जिल्लामा ‘ब्ल्याक आउट’ गर्ने गरिएको छ । विशेषतः संविधान संशोधनको मुद्दालाई बढी जोडतोडका साथ उठाउँदै आएको जनता समाजवादी पार्टीले यस पटक पनि संबिधान दिवसमा शान्तिपूर्ण बिरोधका कार्यक्रम आयोजनाकालागि आह्वान गरेको छ ।

विभिन्न आन्दोलनका चरणमा सरकारसित भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका विषय र जनताको अभिमतको समेत उपेक्षा गरी जनतामाथि दमन गरी जारी गरिएको संविधानले मधेशी, आदिवासी जनजाती, शिल्पी समूदाय, खस, मुस्लिम, थारु तथा सिमान्तकृत समूदायका मुद्दाहरुको सम्वोधन संविधानमा नभएको उसको जिकिर छ ।

संविधानमा विभेदकारी प्रावधान अहिले पनि रहेको भन्दै संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्राबधान पनि अधुरो रहेको भन्दै यसलाई संशोधन गरी सच्याउनकालागि विभिन्न विरोधका कार्यक्रम आयोजना गर्ने उक्त पार्टीले जनाएको छ ।

वर्तमान संबिधान जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, थरुहट आन्दोलन, आदिवासी आन्दोलन पछि आएको दस्तावेज हो । यस अर्थमा यसले सबैको भावनालाई समेटेर अघि बढ्न सक्यो भने मात्र यो सर्वस्वीकार्य बन्न सक्दछ ।

यसमा रहेका उपलब्धिको रक्षा गर्दै सच्याउनु पर्ने पक्षमा सुधार गरियो भने मात्र यसले सबैलाई समेट्न सक्छ भन्ने असन्तुष्ट पक्षको धारणा छ । संविधानमा सबैको अपनत्व ग्रहणकालागि फेरि पनि जिम्मेवार राजनीतिक दलहरुले असन्तुष्ट पक्षका भावनाको पनि कदर गरी यसमा नमिलेका विषयलाई सच्याउनेतिर अग्रसरता देखाउन सके मात्र संबिधान दिवसको दिन कतै खुशियाली त कतै बिरोध गर्ने अवस्थाको समाप्ति हुनेछ ।

सबै जनताको भावनालाई संविधानमा गाँसेर आपसी एकता दरिलो बनाउन सक्दा नै त्यसले राष्ट्रिय एकतालाई मजबुत बनाउने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस