बजार अनुगमनमा ध्यान पुगोस्

कोरोनाका कारण देशमा लामो समय लकडाउन भयो । त्यसपछि पनि विभिन्न जिल्लामा निषेधाज्ञा पनि लागु भयो । यी सबै कारणले बजार, व्यवसाय पनि बन्द हुन पुगे ।

पसलमा राखिएका खाद्य तथा अन्य उपभोग्य वस्तुको बिक्री भएन र पुरानो स्टकका सामान थन्किन पुगे । विस्कुट, चाउचाउ, पेय पदार्थ, पिठो लगायतका अन्य विभिन्न खाद्यपदार्थ लगायत अन्य सामानमा समेत उल्लेख गरिएको उत्पादन तथा उपभोगको मितिको समय समाप्त भएर पनि ती सामान स्टकमा रहेका कारण तिनलाई अहिले बिक्री गर्न थालिएको छ ।

दशैंलगायतका ठूला चाडबाड नजिकिन थालेको तथा यसै क्रममा बजारमा किनमेलकालागि ग्राहकको चहलपहल बढेका समयमा त्यस्ता डेट एक्सपायर वस्तु बिक्री गरिन थालेको उपभोक्ताहरुबाटै व्यापक गुनासो उठ्न थालेको छ ।

चाडबाडको समयमा विशेष गरी गाउँ देहातमा यस्ता वस्तु लगेर बेच्ने सम्भावना बढी रहने हुन्छ । राजधानी काठमाण्डौंमा पनि म्याद सकिएका यस्ता करोडौं मूल्यका सामानमा नयाँ उत्पादन मिति अंकित स्टिकर टाँसेर बेच्ने एक गिरोहलाई प्रहरीले फेला पारेको छ ।

ठूला शहरहरुमा पनि यस्तो धन्दा मौलाउन थालेको अवस्थामा ग्रामीण बस्तीका बजारमा त झन बिगबिगी नै बढेको हुन सक्छ । कतिपय पसलमा उत्पादन मिति उल्लेख नभएका, भएकामा पनि केरमेट गरी नबुझिने पारेर बेच्ने गरिएका उदाहरण पनि नरहेका होईनन् ।

सप्तरी लगायत तराई मधेशका अन्य विभिन्न जिल्लामा पनि कोरोना नियन्त्रणकालागि लकडाउन पछि लामो निषेधाज्ञा जारी भएको र यस क्रममा निकै समय पसलहरु बन्द रहेका कारण त्यहाँ पनि म्याद समाप्त भएका सामान बिक्रीको सम्भावना प्रचुर रहेका कारण स्थानीय प्रशासनले बजार अनुगमनमा जोड दिनु जरुरी छ ।

म्याद गुज्रेका यस्ता वस्तु स्वास्थ्यका दृष्टिकोणबाट अति घातक मानिन्छन् । यही कारणले म्याद सकिएका वस्तु विक्री गर्न नपाईने भनि कानून नै बनाएर निषेध गरिएको छ ।

बजारमा बिक्री गर्न राखिएका वस्तुको गुणस्तर, नापतौलका क्रममा प्रयोग हुने ढकतराजु, अखाद्य रंगको प्रयोग गरे नगरेको विषयमा पनि अनुगमनमा हेर्न जरुरी हुन्छ ।

चाडबाडका समयमा हुन सक्ने कालोबजारी तथा मिसावटका बारेमा पनि प्रशासनले निरीक्षण अनुगमन गरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामान किनमेलको बातावरण मिलाउनु पर्ने आवश्यकता छ ।

राजविराज लगायत जिल्लाका अन्य बजारमा समेत व्यवस्थित बधशालाको अभाव छ । मासु बिक्री गर्दा तोकिएको मापदण्ड पूरा गरेर मात्र बेच्नु पर्ने नियम त छ । तर, यसको पालना नभईरहेको तथा सडककै छेउमा मासु बिक्री गर्ने परम्परा सदरमुकाम राजविराजमा नै कायम रहेका कारण व्यवस्थित बधशालामा मासु बिक्रीको व्यवस्था मिलाउने तर्फ नगरपालिका तथा सम्वद्ध अन्य निकायको ध्यान जानु पनि उत्तिकै जरुरी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस