आइ लभ मिथिलाद्वारा झिझिया नृत्य प्रतियोगिताः मोरङ्गदेखि दाङ्गसम्मका सहभागी

राजविराज, ८ कार्तिक । विजयादशमी पर्वलाई लक्षित गरी आइ लभ मिथिला डट्कम्ले अनलाइन झिझिया नृत्य प्रतियोगिता सञ्चालन गरेका छन् ।

‘अपन संस्कृति अपने अपने जोगाउ’ अभियान अन्तर्गत उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । भिडियो पठाउने समयावधी कार्तिक ४ गतेदेखि कार्तिक १० गतेसम्म रहेको प्रतियोगिता संयोजनकर्ता विद्यानन्द वेदर्दीले जानकारी दिएका छन् । ‘अपन संस्कृति अपने अपने जोगाउ, भिडियो बनाउ, हमरासभके पठाउ’ अभियानी नाराका साथ सञ्चालित प्रतियोगितामा सहभागीहरुकालागि उमेर हद १० देखि २८ वर्ष तोकिएको छ ।

संयोजक वेदर्दीका अनुसार पहिरणमा सारी अनिवार्य गरिएको छ भने अन्य आफ्नो सुविधा अनुसार, भिडियो नृत्यको समयावधी २ देखि ३ मिनेट, मैथिली झिझिया गीत रेकर्ड भएको वा नभएको गाउँसमाजको हुनुपर्ने जनाईएको छ । उनका अनुसार भिडियो पठाउँदा नाम, ठेगाना र उमेर अनिवार्य रुपमा लेख्नुपर्नेछ । सामूहिक प्रस्तुति तथा गाउँसमाजको झिझिया गीतलाई विशेष मूल्याङ्कन गरिनेछ ।

हेल्प मधेशी नेपाल र छिन्नमस्ता एजुकेशनल एकेडेमी राजविराजको सहयोगमा सञ्चालित उक्त प्रतियोगिताको प्रथम पुरस्कार तीन हजार, द्वितीय पुरस्कार दुई हजार र तृतीय पुरस्कार एक हजार रुपैयाँ रहेको प्रतियोगिताका अर्का संयोजक गजेन्द्र गजुरले जानकारी दिएका छन् । उनका अनुसार प्राप्त भिडियोहरु आइ लव मिथिला पेजमा अपलोड गरिनेछन् ।

संयोजक गजुरका अनुसार हालसम्म सात जनाले झिझिया नृत्यमा सहभागिता जनाईसकेका छन् । जसमा अंकिता कर्ण (वीरगञ्ज, पर्सा ), रीया कर्ण (विराटनगर, मोरङ्ग), पूजा कर्ण (जनकपुरधाम, धनुषा), लक्की झा (राजविराज, सप्तरी), समिता गुप्ता (घोराही, दाङ्ग), तृप्ती कर्ण (वीरगञ्ज, पर्सा) तथा वर्षा महतो र कंचन महतो (सर्लाही, मलङ्गवा) रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस