नवजात शिशु मृत्यु प्रकरणमा नर्सिङ्ग स्टाफलाई कार्वाही

 

राजविराज, १८ कार्तिक । गत कार्तिक २ गते मृत्यु भएका नवजात शिशुको उपचारमा लापर्वाही भएको ठहर गर्दै राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कार्यरत एक नर्सिङ्ग स्टाफलाई कार्वाही गरेको छ ।

अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफ सङ्गीता रजकलाई कार्वाही स्वरुप १५ दिनसम्म निलम्वन गरिएको हो । राजविराज नगरपालिका वडा नम्वर ५ निवासी मृतक शिशुका पिता पंकज सरकारले चिकित्सक तथा नर्सिङ्ग स्टाफको लापर्वाहीका कारण मृत्यु भएको भन्दै कार्वाहीको माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनको विषयलाई गम्भीरतापूर्वक लिँदै कार्तिक १६ गते अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाको अध्यक्षतामा बसेको बैठकले निज नर्सले बच्चाको टेम्प्रेचर आफै मापन नगरी थर्मामिटर दिएर पठाएको र ड्युटी स्टेशनमा नरहेको ठहर गरेको थियो ।

भविष्यमा यस किसिमको कमीकमजोरी दोहोरिएमा करार सेवा रद्द गर्ने प्रेषित पत्रमा उल्लेख छ । गाइने विभागले प्रत्येक शल्यक्रिया गर्ने केसमा पेडियाट्रिसियन डाक्टरको ओपिनियन लिने र उपस्थिति आवश्यक भए अनिवार्य उपस्थितिकोलागि आग्रह गर्ने, बच्चा जन्मिएपछि डिस्चार्ज गर्नु अगाडि कम्तिमा एक पटक पेडियाट्रिसियन चिकित्सकसँग कन्सल्टेसन गरी डिस्चार्ज गर्ने जनाईएको छ । डियुटीको समयमा कुरुवालाई झर्केर जवाफ नदिने, भाइटल्स आफै लिने, चिकित्सकलाई समयमा जानकारी गराई राउण्ड लिनकोलागि आग्रह गर्ने, आफ्नो डियुटी स्टेशनमा बस्ने तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण अनिवार्य रुपमा पालना गर्नुपर्ने अस्पतालद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

यस्तो थियो पीडितको निवेदन
आफ्नी २९ वर्षिय पत्नी मौसमी सरकार गर्भवती भई मिति २०७७ असोज ३० गते शुक्रबारका दिन डा.उषा देवको परामर्श अनुसार शल्यकृयाद्वारा प्रसुतिकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गराईएको पंकजको निवेदनमा उल्लेख छ । सोही दिन १ बजेर ३६ मिनेटमा ३२०० ग्राम तौल भएको जिवित पुरुष एकल शल्यकृयाबाट जन्मिएको थियो ।

डा.उषा देव र डा.दिलिप साह एवम् सहयोगी स्टाफ नर्सहरुको प्रयासले बच्चा राम्ररी नै जन्मिएको तर अपरेशनको समयमा अपरेशन कक्षमा बच्चा विभागको डाक्टर हुनुपर्नेमा डाक्टर उपस्थित नभएको पंकजको निवेदनमा उल्लेख छ । अपरेशन पश्चात एक छिनमै आमाको ठाउँमा बच्चालाई ल्याईएको त्यसपश्चात पनि एक पटक बच्चा बिभागको डाक्टर बच्चालाई हेर्न चेकजाच गर्न आएनन्,बच्चा बिभागको बारेमा नर्सहरुलाई सोध्न जाँदा वा बोलाई दिनु भन्दा डाक्टर आउनुहुन्छ भनी आश्वासन मात्र दिएको गुनासो थियो ।
आमालाई दूध नआएको विषयमा जानकारी गराउँदा बच्चालाई ल्याक्टोजिन खुवाउने सल्लाह दिएपछि त्यही खुवाएको थियो । बच्चा छिनछिनमै रुने तर्सिने गरेको पटक पटक जानकारी गराउँदा भोकले बच्चा रुँदै छ भन्दै ल्याक्टोजिन खुवाउन नर्सहरुले सल्लाह दिने गरेको र बच्चा जन्मिएदेखि नै एक पटक पनि बच्चा विशेषज्ञ डाक्टर न आएको उल्लेख गर्दै अगाडि भनिएको छ – मिति २०७७÷०७÷०१ गते शनिबारका दिन राति १०ः३० बजे बच्चा रुन थाल्यो, बच्चाको जिउँ तातो हुदै थियो, डियूटीमा रहेको नर्सलाई भन्न जाँदा झर्केर जवाफ दिनु, भिजिटर अर्थात म निवेदकलाई उल्टै थर्मामिटर दिएर पठाईयो तर आफु हेर्न आएनन् ।

कार्तिक २ गते आईतबार बिहान ३ बजे बच्चामा अस्वाभाविक देखिएपछि बच्चा रुन थालेको थियो । त्यसपछि निवेदक पंकजले बच्चालाई लिएर नर्सहरु बस्ने कक्षमा लिएर जाँदा नर्सहरु कोही पनि थिएनन् । छेउमै रहेको एन.आई.सि.यु.कक्षमा पस्दा त्यहाँ नर्सहरु सुतेको अवस्थामा देखेँ । आफुले त्यहाँ कति गुहार गरे मेरो बच्चा हेर्नु ,रोएँ बिन्ती गरे, एन.आई.सि.यु.कक्षमा डाक्टर पनि उपलब्ध नरहेकोले डाक्टरलार्ई बोलाई दिन धेरै पटक भनेपछि डियूटि आवरको नर्स तल गई त्यहाँबाट एक छिनपछि माथि आएर डाक्टर सरोज यादवलाई फोन गरेको तर उनी आउन मानेन । अर्को डाक्टरलाई डाक्टर ललन रौनियारलाई फोन गर्दा बच्चा सिरियस भएमा बाहिर लान तयार हुनुहुन्छ ? भनी शर्त राखेपछि आफुले बाहिर लाने कुरा गर्दा डा. रौनियार आएर रेफर गरिदिएको पीडा उक्त निवेदनमा उल्लेख छ ।

बच्चालाई वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि डाक्टरहरुले चेकजाँच गर्दा बच्चा ३० मिनेट अगाडी नै बाटोमै मृत्यु भएको भनी जवाफ दिएको मृतक शिशुका पिता पंकजले बताए । चिकित्सकको जवाफ सुन्दा आफुहरुमाथि बज्रपात नै भएको उल्लेख गर्दै अन्त्यमा बच्चाको मृत्यु प्रमाणपत्र लिएर त्यहाँबाट फर्किएको जनाईएको छ । गजेन्द्र ना.सिंह अस्पतालमा कुन स्थानमा मेरो बच्चासँग उपचारमा गल्ती वा लापर्वाही भएको हो ? आफु र बच्चालाई न्याय गरिदिन आग्रह गर्दै अगाडि भनिएको छ– यस्तो लापर्वाही अरु कसैको बच्चासँग न दोहोरियोस् सबैको क्षमता बाहिर लाने पनि हुदैनन् आई.सि.यु. हुँदाहुदै उपचार हुन सकेनन्, रेफर गर्ने मानसिकता देखियो । त्यसैले छानविन गरी दोषीलाई कारवाहि होस, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,२०७५ उलंघन भएको समेत देखिन्छ ।

पोस्टअप, इमर्जेन्सी अव्स्टेट्रिक केयरमा सरसफाईको कमीको साथै शौचालय अपरेशन भएका महिलाहरुकोलागि उपयुक्त नभएको, धारा पनि रहेको, हात धुने बेसिन बन्द र फोहर रहेको, लामखुटेको अतिक्रमण जस्ता समस्याहरु दिनहुँ विरामी तथा सेवाग्राहीहरुले भोग्नुपर्ने बाध्यता रहेकोले सो समस्या समाधान गर्न समेत मृतक शिशुका पिता पंकजले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

पीडित परिवारको तर्फबाट न्यायको माग गर्दै अस्पतालका निमित मेसु रणजित कुमार झालाई माग सहितको निवेदन बुझाईएको हो । उक्त ध्यानाकर्षणपत्र बुझ्दै डा. झाले नवजात शिशुको मृत्यु भएको खबरले आफुलाई मर्माहत तुल्याएको भन्दै उपचारमा लापर्वाही गर्ने चिकित्सक एवम् स्वास्थ्यर्मीलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780