एकता र सामाजिक सद्भावको पर्व छठ

श्यामसुन्दर यादव

नेपालको तराई–मधेशका जिल्लाहरुमा विशेष महत्वका साथ छठ पर्व मनाईन्छ । एक दशक अघिसम्म तराई क्षेत्रका हिन्दु धर्मावलम्वीहरुले मुख्य रुपमा मनाउँदै आएपनि केही वर्षदेखि मुस्लिम धर्मावलम्वीका साथै पहाडी समुदायले समेत मनाउन थालेका छन् । यो पर्व यतिबेला राष्ट्रिय तथा साझा पर्वको रुपमा मनाउन थालिएको छ ।

यो पर्वले समाजिक सद्भाव एवम् भाइचाराको सम्वन्धलाई प्रगाढ बनाउन यो पर्वले महत्वपूर्ण भूमिका खेल्दैआएको छ । पोखरीको वा जलासयको एउटै घाटमा बसेर बिना भेदभाव श्रद्धा भक्ति एवम् हर्षोल्लासका साथ मनाउनु यो पर्वको मुख्य विशेषता हो । तराईको मिथिला क्षेत्रबाट बिस्तार हुदै यो पर्व राष्ट्रिय पर्वको रुपमा विकसित हुदै गएको छ ।

अपार श्रद्धा भक्तिका साथ मनाईने छठ पर्व धार्मिक परम्परा अनुसार नहाइ– खाइ (नुहाएर चोखो खाने)बाट शुभारम्भ हुने गर्दछ । कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाईने यो पर्व चार दिनसम्म मनाईन्छ । कार्तिकको चौथी तिथिदेखि ब्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई स्थानीय भाषामा अरबा–अरबाइन वा नहाइ–खाइ भनिन्छ । यो दिनमा ब्रतालुहरुले नदी पोखरी तलाव लगायत जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गरिन्छ । ब्रतीले भोजनमा माछामासु लसुन प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्छिन् ।

पञ्चमी तिथिको दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने गर्छन् र साँझपख नुहाएर चोखो भई पूजा कोठामा माटाको नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र सख्खरबाट बनाईएको खीरलाई लिईन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर ब्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर चढाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । यो दिन पछि ब्रतालुले पूर्ण ब्रत लिईनुपर्ने परम्परा रहँदैआएको छ ।

षष्ठीका दिन अर्थात तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट विभिन्न गुलियो खाद्य साम्रगी बनाईन्छ । छठ पूजाका सामग्री तयार पर्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउनु पर्ने हुन्छ । छठका लागि तयार पारिएको पूजा सामग्री जुठो भएमा चर्मरोग हुने जनविश्वास रहेको छ ।

केरवा जे फरल घउरसे वोहि पर सुगा मडराय, मारबौ रे सुगवा धनुषसे सुगा गिरे मुरझाय…, छठ मातालाई चढाउने केरा सुगा वा अन्य कुनै पशुपंक्षीले नखाऊन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल ठकुआ भुसवा खजुरी, पेरुकिया तथा मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा सहितका सामग्रीहरु बाँसबाट बनाईएको नाङ्गलो, कोनिया, ढक्कीमा राखेर छठी मातालाई अर्घ दिनका लागि तयार गरिन्छ । साथै माटाको हाथीको समेत अनिवार्यता रह्ने गर्दछ । पूजा सामग्रीहरु ढक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्यहरुका साथ विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गरिन्छ ।

हमरोपर होइऔ सहाय, हे छठि मैया, हमरोपर होइऔ सहाय…, अर्थात हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गईरहेका छौं छठी माता हामीमाथि विशेष कृपा बनाई राख्नुहोला । निर्धारित जलाशयमा पुगेर विभिन्न परिकारहरु जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई ब्रतीले पाँचपटक साष्टाङ्क दण्डवत् गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै सरसफाईका साथै घाट बनाउने गर्छन् ।

षष्ठी तिथिका दिन साँझ ब्रतालुले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । सोही क्रममा ब्रतीले दुवै हत्केलामा पिठार (चामललाई पीँधेर बनाईएको) र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउन लागेको सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो अर्थात अन्तिम दिनलाई पारन भनिन्छ । यो दिन बिहान उषाकालमा ब्रत गर्नेहरु पुनः जलासयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।

यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको उखु तथा केराको बोट गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । महाभारत ग्रन्थमा द्रोपदी सहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको कुरा धर्मग्रन्थमा उल्लेख छ । उक्त समयमा पाण्डवहरु मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेकोले सोही समयदेखि छठ मनाउने परम्पराको शुरुवात भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ ब्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुवात भएको कुरा उल्लेख गरिएको छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित रहेकोले उनको शक्तिविना रुख बिरुवा वनस्पति प्राणी जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यको किरणबाट कैयौं असाध्य तथा क्षय रोगको आश्चर्यजनक उपचारसमेत हुने गरेकोले छठ पर्वमा सूर्य पूजन गरिदै आएको छ । त्यसरी नै छठ व्रत बस्नाले र्स्ूयदेव प्रसन्न भई जीवन सहज सफल बन्दछ भन्ने जनधारणा रहेको पाइन्छ ।

त्यस्तै साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वसाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरुप रोग मुक्त भएको उल्लेख गरिएको छ । निःसन्तान महिलालाई सन्तान प्राप्ति भएपछि तथा परिवारमा सुख समृद्धिका लागि यो विशेष रुपमा मनाईन्छ ।

छर्ठपर्वको नामकरण पनि षष्ठीबाटै अपभ्रंस हुँदै भएको भन्ने विद्धानहरुको भनाई रहेको छ । छठ पर्वमा मूलतः सूर्य भगवानको पूजा आराधना गरिन्छ । यस दृष्टिले छठ पूजालाई मानव मात्रको प्राचिनतम् पर्व मान्न सकिन्छ । विभिन्न धर्म तथा देवीदेवताको काल्पनिक उत्पत्ति हुनुअगाडि संसारको र्सवशक्तिमान शक्ति भनेकै सूर्य हो । आधुनिक विज्ञानले पनि ब्रहमाण्डको र्सवाधिक उर्जामय पिण्ड वा आदिशक्तिको रुपमा स्ूर्यलाई नै स्वीकारेको छ ।

केही दशक अघिसम्म महिलाहरुले मात्र यो पर्व मनाउदै आएपनि भाकल पूरा भएपछि पुरुषहरु समेत ब्रतालु भई मनाउने गर्दछन् । ब्रत बस्न नसक्नेले अरुबाट समेत ब्रत गराउने गर्छन् । आर्थिक अभाव रहेमा वा भाकल पुरा भएकाहरुले भिक्षा मागेर पनि यो पर्व मनाउने गर्छन् । भाकल पूरा भएकाहरुले ढोल–पीपही सहितका बाजा–गाजाका साथ छठ पर्व मनाउने गर्छन् ।

यो पर्वलाई समावेशिकता, सद्भाव एवम् भाइचाराको पर्व समेत भन्न सकिन्छ । किनभने छठ पर्वका लागि कुमालेहरुद्वारा बनाईएको माटाको हाथी, दीयो, डोम समुदायद्वारा बनाईएको बाँसको ढक्की, कोनिया आदी, माली समुदायको फूलको प्रयोग अनिवार्य रुपमा गरिन्छ । त्यसैले यो पर्वले जातिय छुवाछुत विरुद्ध समाजिक एकता तथा सद्भावको सन्देश समेत दिदै आएको छ ।
(लेखक यादव, नेपाल पत्रकार महासंघ र मैथिली साहित्य परिषद् सप्तरीका उपाध्यक्ष हुन् ।)

                                                                                                    [email protected]

Author:



क्याटोगरी छान्‍नुहोस