तीन गुणाभन्दा बढी मुल्यमा केराको कारोबार, कृषकलाई बाढी र बन्दावन्दीको मार

राजविराज, ६ मंसिर । छठ पर्वमा अति आवश्यक मानिएको केराको यस वर्ष सप्तरीमा तीन गुणाभन्दा बढी मुल्यमा कारोबार भएको छ । हनुमाननगर कंकालिनी नगरपाािलका–१ भारहदस्थित कोशी टप्पु क्षेत्रमा कुल १ हजार ४ सय विघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । तर, मलखाद्य, सिंचाई र किटनाशक औषधको अभावकासाथै बन्दाबन्दी (लकडाउन) र बाढीका कारण उत्पादनमा कमी आएपछि यस वर्ष छठ पर्वमा तीन गुणाभन्दा बढी मुल्यमा केराको कारोबार भएको हो ।

‘गत वर्ष १५० रुपैयाँसम्ममा पाउने केराको घरी यस वर्ष ५ सय रुपैयाँ पर्यो’ राजविराज नगरपालिका–१५ का नरेन्द्र पण्डितले भने–‘छठ पर्वको प्रसादमा नभई नहुने फल केरा हो, त्यसैले किन्नैपर्छ र पैसा पनि कमै रहेकाले न्यून दरमा केरा खरिद गर्न राजविराज बजारभरि भोतारिए, तर कत्तै पाइन् ।’

पूर्वतर्फ सस्तोमा पाउँछ भनेर हनुमाननगर पुगेर खरिद गर्दा पनि ५ सय रुपैयाँ परेको उनले बताए । ‘धेरै ठाउँमा मोलमोलाई गरे, तर सवै ठाउँमा उस्ताउस्तै पाए’ उनले भने–‘सोही क्रममा किसान र व्यापारी पनि समस्यामै रहेको कुराकानीबाट थाहा पाए ।’

अर्का सर्वसाधारण बोदे बरसाईन नगरपािलका–३ का सकलदेव रामले पनि गत वर्षभन्दा ३–४ गुणाबढी मुल्यमा केरा किनेको बताए । ‘हामी वर्षेनी छठमा बोदे बरसाईन बजारबाटै केरा खरिद गर्दै आइरहेका छौं, गत वर्षको तुलनामा धेरै महँगो नै पर्यो’ उनले भने–‘खरिद गर्नै पर्ने बाध्यता पनि छ, त्यसैले झण्डै ३ गुणाबढी मुल्य तिरेर ८ सयमा केराको घरी ल्याए ।’

कृषकलाई बाढी र बन्दावन्दीको मार

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी टप्पु क्षेत्रमा कुल १ हजार ४ सय विघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । तर, मलखाद्य र सिंचाई अभाव, बाढि तथा बन्दावन्दीले कृषक मारमा परेका छन् । ‘समस्या अनेक छन्, मलखाद्य र सिंचाई अभावको समस्या त पुरानै कुरा हो’ केरा कृषक श्यामसुन्दर ईसरले भने–‘यस पटक बाढीले निकै बोटहरु नष्ट गरे र उत्पादन भएका केरा पनि लकडाउनका कारण निर्यात गर्न सकिएन ।’

स्थानीय बजारमा ५० प्रतिशत र काठमाण्डौ, पोखरा, नारायणघाट, वीरगन्ज, जनकपुर, विराटनगरका शहरको २५ प्रतिशत माग भारदहकै केरा बगानले पूर्ति गर्दै आएको उनले बताए । ‘लकडाउनको बेला निकै उत्पादन भएपनि सवारी साधन नचल्दा कहीँ पठाउन सकिएन’ उनले भने–‘सो अवधिमा बोटमै केरा कुहियो, र पछि आएको बाढीले बोट पनि नष्ट भएर घाटा नै घाटा खेप्नुपर्यो ।’

छठमा थोरै केरा फलेकोले मुल्यमा केही फरक पर्न गएको उनले बताए । ‘लेवर खर्चदेखि सवै कुरा त्यसैबाट जुटाउनुपर्छ र उत्पादन पनि कम छ, मुल्यमा केही फरक पर्नु त स्वभाविक हो नि,’ उनले भने ।

अर्का कृषक दिनेशकुमार मण्डलले गत वर्ष छठको बेला ३–४ हजार गाडी केरा निर्यात भएको बताए । ‘यस पटक भने उत्पादनमा धेरै कमी आएको छ, जसका कारणले छठमा ५० गाडी पनि केरा पुगेन’ उनले भने–‘आम्दानी नभएपछि यस वर्ष आफुहरुलाई जिविको चलाउन पनि कठिन हुने निश्चित छ ।’

उनका अनुसार प्रति विघामा २ हजार बोट लगाइएको छ । जसमा मासिक १ हजार घरीसम्म उत्पादन हुने गरेकोमा यस पटक सय घरी पनि उत्पादन नभएको उनले दुखेसो गरे । भारदह, पोर्ताहा, २ नम्वर योगिनियाँ लगायतका तीन दर्जनभन्दा बढी कृषकहरुले केरा खेतीलाई नै आय आर्जनको मुख्य स्रोतका रुपमा अंगाले पनि सरकारले केरा खेतीतर्फ ध्यान नदिएको उनको गुनासो छ ।

‘सरकारले कम्तिमा समयमै मलखाद्य, सिचाई र किटनाशकको व्यवस्था गरिदिए हुन्थ्यो’ उनले भने–‘तर केरा कृषकलाई स्थानीय, प्रदेश र संघ सरकारले वास्ता नै गर्दैनन् ।’ व्यवसायीहरुकाअनुसार सप्तरीमा वर्षेनी छठ पर्वको बेला २ करोडभन्दा बढी रुपैयाँको केराको कारोबार हुने गर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस