सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाए

विराटनगर, १६ मंसिर । प्रदेश १ का मोरङ, झापा र ईलाममा सोमवार भएको सवारी दुर्घटना ५ जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–१ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टरका सह–चालक बुढिगंगा गाउपालिका–१ का ४० बर्षीय गुरुचन ऋषिदेवको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी विराटनगर महानगरपालिका–९ मा मोटरसाईकल दुर्घटनामा परेको छ ।

को १२ प ३६५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी विराटनगर–१५ की ६० बर्षीया मनकामना झाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

उता, झापाको दमक नगरपालिका–४ तारावारीमा मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिएको छ । ठक्करबाट घाईते भएका बालकलाई उपचारको लागि अरनिको अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ईलामकै फाकफोकथुम गाउँपालिका–५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भएर थुम्का भिरबाट खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा माई नगरपालिका–९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका–११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस