मधेशको आर्थिक उन्नतिको आधार कृषि

 

जासर यादव

मधेश समृद्ध होस् भनेर करिब दुई दशक राजनीतिमा सक्रिय थिएँ । म आफ्नो डा.सीके राउतको स्वतन्त्र मधेश गठबन्धनमा लाग्नु पूर्व पनि अन्य राजनीतिक दलमा सक्रिय थिएँ । मधेशमा जब फोरम, तमलोपा लगायतका राजनीतिक दलहरु उदाए उनीहरुले पनि मधेशलाई समृद्ध बनाउने लगायतका नाराहरु नै दिएका थिए । तर वास्तवमा उनीहरुले मधेशको समृद्धिभन्दा पनि व्यक्तिगत स्वार्थ पूर्तिका लागि पसल खोलेको अनुभूति गरें । त्यसैले म राजनीतिमा नलागेर मधेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर एउटा योजना बनाएँ । मधेश कसरी समृद्ध हुन्छ भनेर त्यतातिर लागें । मधेशले अहिलेसम्म धोका मात्रै पाएको छ ।

आज मधेशका उर्बर भूमि बन्जरमा परिणत भइरहेको छ, यसको मुख्य दोषी को त ? अहिले हामीले मधेशको नाममा राजनीति गर्ने र मत लिनेहरुलाई नै म दोष दिन्छु । अहिले उनीहरुले प्रदेशमा सरकार बनाएका छन्, स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका छन्, खै त मधेशलाई समृद्ध बनाएको ?

मैले दैनिक रुपमा ४०–५० जनाको हराहारीमा काम दिएको छु । उहाँहरुलाई दैनिक खानामा, दाल, भात, दुई ओटा तरकारी अचारसहितको भोजनको व्यवस्था गरेको छु । यो निमुखा जनताहरु हाम्रै मधेशका दलितहरु हुन् । उहाँहरु मध्ये धेरै जना सुकुम्बासीहरु छन् । उहाँहरुलाई मैले जेष्ठ १५ गतेबाट रोजगारी दिएको छु । आज उहाँहरुको सुखदुःख को साथि मैले नै बनेको छु ।

वाचा गर्ने नेताहरु त एक चोटि उहाँहरुको घरमा यस्तो कोरोनाको बेलामा पनि अलि अलि राहत त दिए हुन्थ्यो नि । राजनीतिको नाममा जति पनि दलहरु छन् त्यो दल हो कि दलाल हो कुरो बुझ्न नि गाह्रो । आज म एक जना व्यक्तिले दुई सय जनालाई रोजगारी दिने सोचमा छु । म जस्तो १० प्रतिशत युवाले मधेशमा नै रोजगारीको सर्जना गरियो भने के मधेश समृद्ध हुदैन र ? कि राजनीति मात्रै एउटा विकल्प छन् ? राजनीति एउटा गरिखाने भाडो मात्रै हुन् । हामी जस्तो कति युवा विदेशमा छन् त्यो रहरले हैन, बाध्यताले हो । हामी युवाहरु अब आफ्नै माटोमा समृद्धिको फुल फुलाउनु पर्छ ।

मैले तीन वर्षको लक्ष्य लिएको छु । अहिले म रौतहटमा कृषि कर्म गरिरहेको छु र महोत्तरीमा पनि सुरु गर्ने तयारीमा छु । रौतहटमा मैले दुई हजार लोकल हाँस, कुखुरा, माखा पालन, ५० वटा गाई, ५० वटा भैंसी, पाँच बिघामा मेवा, पाँच बिघामा अम्बा, पाँच बिघामा केरा, पाँच बिघामा सुन कागती लगायतको खेती छिट्टै नै सञ्चालन गर्न गइरहेको छु । मसँग अहिले ५० जनाको टिम छ ।

रौतहटमा सफल भइसकेपछि मैले आफ्नो टिमबाट मधेशका हरेक जिल्लामा पाँच–पाँच जना पठाएर मधेशभरि नै कृषि क्रान्ति ल्याउँछु । अहिले महोत्तरी र रौतहटमा तरकारी खेती, धान लगायत उब्जनी गरिरहेको छ, अब दोस्रो चरणमा फेरि पाँच वटा जिल्लामा सुरु गर्ने योजनामा छु । त्यसपछि तेस्रो चरणमा मधेशका सबै जिल्लामा यस्तै प्रकारका खाद्यान्न उब्जनीका लागि योजनाबद्धरुपले सञ्चालन गर्नेछु ।

किनभने त्यहाँबाट मेरो आम्दानीको स्रोत पनि बढ्छ र बैंकरहरुले पनि पत्याउने आधार हुन्छ । मधेशमा खेती गर्नका लागि सिंचाइको समस्या छैन । आफ्नो लगानीमा गरियो भने बोरिङ्ग, डीप बोरिङ्ग लगाएर गर्न सकिन्छ । मधेशमा जति पनि पानी छन् ।  (यादव एभरेष्ट कृषि फर्म प्रालिका अध्यक्ष हुन् ।)) मधेश दर्पण फिचर सेवा

Author:



क्याटोगरी छान्‍नुहोस