प्रदेश १ मा १९ दिनपछि आज प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीको पद रहला ?

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको विवादका कारण १९ दिनपछि प्रदेश १ मा प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको पहिलो बैठक गत माघ ७ गतेपछि आज दोश्रो बैठक बस्न लागेको हो ।

यसअघि नै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठक अघि बढ्ने नबढ्ने कुरा चौतर्फी चासोको विषय बनेको छ । आजको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव टेवुल हुने निश्चित प्रायः छ ।

बैठक स्थगित नभए प्रस्ताव टेवल हुने बताइएको छ । दाहाल–नेपाल समूह जसरी पनि अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडानमा छ भने ओली समूह कुनै पनि अवस्थामा टेबल हुन नदिने रणनीतिमा छ । त्यसका लागि निलम्बित १६ प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ ।

उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन गर्न नदिने तथा सभामुखले बैठक डाकेपछि सशंकित बनेको ओली समूहले कुनै हालमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा छ । नेकपाको विवादमा निर्णायक बनेको कांग्रेस भने अहिलेसम्म आफैँ अनिर्णित छ ।

कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन । प्रदेशसभाको बैठक जसरी अघि बढ्छ, सोहीअनुसार निर्णय लिने कांग्रेसले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस