यो एक विशेष समय हो, कविमहिमा गानको । आदिमहाकवि उद्यानन्द अर्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गर्न लागिएको बेला आदिमहाकवि, आदिकवि, महाकवि, कवि शिरोमणि, आशुकवि, युगकवि, कविकोकिल हाम्रा समस्त काव्यजगतले हाम्रो भाषा, संस्कृति र साहित्यको संरक्षण र संवद्र्धनमा के कुन के कति के कसरी योगदान गरे त्यस कुराको गवेषणा गर्ने अवसर धेरै धेरै समय व्यतीत भएर जुरेको हो ।
साहित्य काव्यको पर्याय हो यद्यपि आज साहित्य मूल र काव्य पर्याय प्रतीत हुन्छ । साहित्य शब्द प्रचलनमा आउनु अघि पूर्वीय र पाश्चात्य दुबै जगतमा काव्य नै प्रचलित थियो । संस्कृतको कवृ धातुबाट काव्य शब्दको व्युत्पत्ति भएको छ, जसको अर्थ विवरण, वर्णन, व्याख्या, विश्लेषण गर्नु हो । त्यसैले आदिकालका महाकाव्य, काव्य र खण्डकाव्यको जगजगी रहेको देखिन्छ ।
हामीले हाम्रा अनेकानेक कविहरूको शृंखलामा पंडित उद्यानन्द अर्याललाई आदिमकवि अर्थात् आदिमहाकविको उपमा र उपाधि दिएका छौं । पंडित उद्यानन्द अर्याल (वि.सं. १८१२– १८९४) ले नेपाली भाषाको पहिलो महाकाव्य लेखेर आदिमहाकवि कहलाएका हुन् । उनले पृथ्वीन्द्रोदय महाकाव्य तथा बेताल पच्चिसी खण्डकाव्यको रचना त्यति बेला गरे, जति बेला नेपाली साहित्यको युग नै प्रारम्भ भइसकेको थिएन । पंडित उदयानन्द अर्यालले नै खस साहित्यको श्रीगणेश गरे र नेपालका आदिमहाकवि कहलाए । आदिमहाकवि उदयानन्द अर्याल आदिकवि भानुभक्त आचार्यभन्दा निकै अघिका साहित्यिक तारा हुन् ।
आदिकवि भानुभक्त आचार्य (वि.सं. १८७१–१९२५) ले संस्कृतमा रचिएको वाल्मीकि रामायणको खस भाषामा अनुवाद गरेका हुन् । महर्षि वाल्मीकि संस्कृतका आदिकवि थिए । उनले नै पहिलो पटक रामायण लेखेका थिए । वाल्मीकि रामायण संस्कृत महाकाव्य हो । यस महाकाव्यको मुख्य पात्र श्रीरामको चरित्र मानव जीवनको केन्द्रमा रहेको छ । तुलसीकृत रामायण (रामचरितमानस) अवधि भााषामा रचिएको छ ।
आदिमहाकवि अर्यालको जन्म त्यतिबेला भएको थियो, जतिबेला गोरखाका राजा पृथ्वी नारायण शाहले आफ्नो राज्य विस्तार गर्न तनहुँ र लमजुङसँगै संघर्षरत थिए । नुवाकोटमाथिको चढाइँ विफल भइरहेको थियो र कीर्तिपुरमाथि पहिलो चढाइँ पनि भइसकेको थिएन । अर्थात् पंडित उयानन्द अर्याल नेपाल राज्यको प्रादुर्भावको साक्षी मात्र होइनन्, उनी नेपाली साहित्यका जनक पनि हुन् । उनले महाकाव्य र खण्ड काव्यको रचना गर्नुका साथै फुटकर कविताहरूको रचना गरेर नेपाली साहित्य स्रष्टाको उन्नयन गरेका हुन् ।
तथापि नेपाली साहित्यको इतिहास खंगाल्दा पहिलो नेपाली इतिहासकारको रूपमा उनको होइन, सुवानन्ददासको नाम लिने गरिएको पाइन्छ । जबकि सुवानन्ददासको बारेमा ठोश जानकारीको अभाव रहेको छ । सुवानन्द दास कुन तरहका दास हुन् ? नेवार, मधेशी वा भक्ति सम्प्रदायमा ग्रहण गरिने दास ? जे होस् उनले ‘पृथ्वी नारायण’ शीर्षक राखेर कविता लेखेको बताइन्छ ।
पंडित अर्यालको जीवन र योगदानको बारेमा पर्याप्त प्रचार नभएकाले अथवा काठमाडौंले ममधेशको उपेक्षा गर्ने गरेको कारणले अर्यालले स्थान, महत्व र गरिमा जति पाउनु पर्ने हो, त्यति पाउन नसकेको देखिन्छ । यस कुराको दाबी उनका सन्ततीले अथवा मधेशले पनि लिन सकेको छैन । तथापि उदयानन्द अर्याल स्मृति प्रतिष्ठानको जन्म र त्यस प्रतिष्ठानद्वारा आदिमहाकवि उदयानन्द स्मृति पुरस्कारबाट १७ जना साहित्यकार पुरस्कृत हुनुले हामीलाई धेरै आश्वस्त गर्दछ ।
बैरवाको अर्याल अथवा अज्र्याल परिवार निकै प्रख्यात र प्रतिष्ठित परिवार हो । उदयानन्द अर्याल समाजसेवी, राजनीतिज्ञ र कुशल प्रशासकको रूपमा पनि चिनिएका थिए । उनले नै सर्वप्रथम कंकालनी मंदिर (भारदह) को संस्थापना गरेका थिए । भगवतीको कृपाले आज उनको कृति चम्किन थालेको छ । अर्यालका सन्ततीद्वारा उनको नाममा स्मृति प्रतिष्ठानको निर्माण हुनु ऐतिहासिक महत्वको कार्य हो ।
आगामी कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको सहभागिता हुनु उल्लेखनीय मात्र होइन, यसबाट उदयानन्द अर्याल स्मृति प्रतिष्ठानलाई पनि कार्य गर्दा बल प्राप्त हुनेछ । यस संस्थाले अनुसन्धानात्मक विधिले खस साहित्यको अनावरण गर्नुपर्नेछ । खस साहित्य आफ्नै नामले गौरवान्वित हुनुपर्दछ । खस साहित्यलाई नेपाली साहित्यको संज्ञा दिनु ‘समग्र नेपाली साहित्य’ को विकासको मार्गलाई अवरुद्ध गर्ने मात्र होइन, अपितु खस साहित्य पनि अलप हुन सक्नेछ ।